भट्टी बन्द गर भन्यो भारतले

राजनीतिक नेतृत्व ठीक भयो भने समय र परिवेश बदलिन बेर लाग्दो रहेनछ । केही वर्षअघिसम्म नेपालको दक्षिणी सीमाका बासिन्दा पारिबाट हुने अपराध, चोरी र डकैतीका कारण आक्रान्त थिए । उताका मान्छेको जीवनस्तर सीमा क्षेत्रका यताका नेपालीको भन्दा धेरै गुणा कमजोर र दयनीय थियो । सामाजिक परिवेश र रहनसहन झनै पुरातनवादी र असंस्कृत । 

त्यसबेला नेपालका कर्मचारीहरु भारतीय सीमावर्ती अधिकारीहरुसमक्ष दुखेसो पोख्थे, ‘त्यताबाट चोर–डाँका छिरे, पारिका पुलिसले समेत नेपाली लुटे ।’ अहिले ठीक उल्टो भएको छ, बोर्डरपारिका हाकिमहरु नेपालका प्रशासकसँग गुनासो गर्छन्, ‘नेपालको लोकल ठर्रा र गुणस्तरहीन रक्सीले हामीलाई समस्या पा¥यो ।’ पहिले उनीहरुको कुरा अर्कै हुन्थ्यो । भन्ने गर्थे, ‘नेपाली भूमि हुँदै नक्कली भारु. भित्रियो, आतंकवादीहरु छिरे । सीमा क्षेत्रमा मस्जिद र मदरसा बढे । त्यहाँ के हुँदैछ सूक्ष्मरुपमा बुझ्नुप¥यो ।’ तर नेपालमा हालै सम्पन्न र भारतमा तीन महिनाअघि भएको चुनावको सन्दर्भमा दुई देशका सीमा अधिकारीहरु भेट हुँदा उताका डिस्ट्रिक्ट मेजिस्ट्रेट र डीआईजीहरुले एउटै गुनासो पोख्ने गरेका छन्, ‘नेपालमा दिनभर लोकल रक्सी खान्छन् र साँझ यतैबाट बोकेर उता छिर्छन् । मातेर होहल्ला र झगडा गर्छन् । यसले गर्दा सामाजिक समस्या सिर्जना भयो । हाम्रा मान्छेको स्वास्थ्य र पैसा बर्बाद भयो । आपराधिक गतिविधि बढ्यो । सीमा क्षेत्रमा रक्सीको उत्पादन र कारोबार बन्द हुनुप¥यो ।’

मादक पदार्थको खुला बेचविखनमा प्रतिबन्ध लगाउँदै आएका भारतीय अधिकारीहरुको बारम्बारको आग्रहपछि अबचाहिँ दशगजाभन्दा आधा किलोमिटर माथि मात्र रक्सी बेच्न पाइने, त्योभन्दा नजिकका घरमा मादक पदार्थ लैजान नदिने नियम बनाइएको छ ।

टिप्पणीहरू