लुम्बिनीमा घर्तीको समाजवादी, पन्थीको एमाले

लुम्बिनीमा घर्तीको समाजवादी, पन्थीको एमाले

-ऋषि भट्टराई

लुम्बिनी प्रदेशसभामा पाल्पाबाट समानुपातिक सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोज्नुभएको छ । नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले प्रदेश निर्वाचन कार्यालय, दाङ पुगेर समाजवादी पार्टी रोज्नुभएको हो । घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको औपचारिक जानकारी समेत गराउनुभएको छ ।

आयोगका प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईको रोहवरमा घर्तीको हस्ताक्षर सनाखत भएको हो । पहिले एमालेको आन्तरिक अन्तरसंघर्षमा नेपाल समूहमा रहनुभएका कपिलवस्तुबाट निर्वाचित प्रदेश सांसद विष्णु पन्थीले परिस्थिति नयाँ सिर्जना भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘आवश्यक परे एमालेभित्रै संघर्ष गर्ने तर एमाले छाडिँदैन ।’

घर्तीले समाजवादी रोजेसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संख्या अब ६ पुगेको छ । त्यसैगरी ८० सदस्यीय प्रदेशसभामा एमालेका ३७ सांसद रहेकामा घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ कायम भएको छ ।

समाजवादी रोजेसँगै अब रमा मन्त्री बन्दै छिन् भनेर चर्चा समेत चलाइएको छ ।

टिप्पणीहरू