“मिडिया”द्वारा महिला बलात्कृत ? लेख्ने पत्रकार असुरक्षित ?

“मिडिया”द्वारा महिला बलात्कृत ? लेख्ने पत्रकार असुरक्षित ?

कर्णाली सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपसहित समाचार लेख्ने दुई पत्रकार नागेन्द्र उपाध्याय र विष्णु न्यौपानेले आफूहरुहरुमाथि सुरक्षा थ्रेट बढेको भन्दै पत्रकार महासंघ गुहारेका छन् । समाचार लेखेकै कारण मन्त्रीको सचिवालयका केही मान्छेबाट धम्की आइरहेको भन्दै उनीहरुले गुहार मागेका हुन् ।

उपाध्याय र न्यौपानेले आफूहरु असुरक्षित भएको भनेपछि उनीहरुको अवस्था बुझ्न महासंघ केन्द्रीय समितिले गठन गरेको मिडिया मिसनले घटनाको अध्ययन शुरु गरेको छ । वरिष्ठ उपाध्यक्ष रमेश बिष्टको नेतृत्वमा गठित मिडिया मिसनले असुरक्षित र पीडित भनिएका पत्रकारद्वय उपाध्याय र न्यौपानेसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुर्खेतका अन्य पत्रकार तथा अधिकारकर्मीवीच सुझाव लिएर अध्ययन शुरु गरेको हो ।

पीडित पत्रकारद्वय उपाध्याय र न्यौपानेले समाचार लेखिसकेपछि घरमा बस्ने अवस्था नभएकोले बाहिर बस्नु परेको,बजारतिर आउँदा नचिनेका व्यक्तिहरुले पिछा गर्ने गरेको,फोन तथा सामाजिक सञ्जालबाट ज्यान मार्ने धम्की दिइएकोले आफूहरु असुरक्षित भएको बताएका छन् ।

अधिवक्ता दुर्गाप्रसाद सापकोटा, सम्वाद समूहका संयोजक देवेन्द्र सेजुवाल,पत्रकार महासंघ सुर्खेतका पूर्वअध्यक्ष श्रीधर पौड्यालले समाचार प्रकाशित गरेको आधारमा पत्रकारहरुमाथि भौतिक असुरक्षा बढ्नुले दण्डहीनता भएको बताए । पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाले पत्रकारहरुको सुरक्षाका लागि महासंघले पहल गरिरहेको बताए ।

टोलीका संयोजक एवं महासंघका वरिष्ठ उपाध्यक्ष बिष्टले तथ्यमा आधारित भएर लेखेको समाचार सार्वजनिक भएमा पत्रकारहरु असुरक्षित हुनु नपर्ने प्रष्ट पारेका छन् । घटनाको थप फलोअप गर्न सुझाव दिदैं प्रदेश सरकारले यस घटनाको वारेमा सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा उनको जोड छ ।

जनआस्थासँगको कुराकानीमा उपाध्यक्ष बिष्टले सम्बन्धित सबै पक्षलाई भेटेर कुराकानी गरिसकेको बताउँदै छिट्टै अवस्था सहज हुने विश्वास व्यक्त गरे। उनले घटनाकावारे अध्ययन गर्न दुई-चार दिन समय लाग्ने पनि जानकारी दिए ।

यता,पीडित भनिएकी महिलाले भने मन्त्री शाहीले आफूमाथि दुर्व्यवहार नगरेको प्रष्ट पारेकी छन् । आज श्रीमानसमेत राखेर वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेकी उनले मन्त्रीले नभई आफूलाई मिडियाले नै बलात्कृत बनाइ रहेको भन्दै आफ्नो इज्जतमाथि राजनीति गरिएको दाबी गरेकी छन् ।

टिप्पणीहरू