मणिपाल कसरी बेचियो ? खोज्न थालियो कारण

मणिपाल कसरी बेचियो ? खोज्न थालियो कारण

पोखराको मणिपाल मेडिकल कलेज सरकारको पूर्वजानकारी बिना गरिएको बिक्रीप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सरकारको ध्यानाकर्षण गराएको छ ।

संगठनले आज जारी गरेको प्रेस विज्ञप्तिमा भारतको मणिपाल एजुकेसनल एण्ड मेडिकल ग्रुपको लगानीमा सन् १९९४ मा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बनाइएको मेडिकल कलेज सरकारलाई समेत जानकारी नै नदिई एकतर्फी ढङ्गले बतास अर्गनाइजेसनलाई बेचबिखन गरेकोप्रति आपत्ति जनाएको हो ।

क्रान्तिकारीले सम्झौतामा ४९ वर्षपछि नेपाल सरकारलाई स्वामित्व हस्तान्तरण गर्नुपर्ने र सरकारी भूमिमा बनाइएको संरचना अरुलाई हस्तान्तरण गर्न पाईंदैन भनेको छ । तर,सञ्चालनमा आएको २७ वर्षमा नै भारतीय कम्पनीले नेपाली कम्पनी बतास अर्गनाइजेसन र अटोवेज ग्रुपलाई बेचेको कुरा बाहिर आएकोमा उसले आशंका व्यक्त गरेको हो ।यसबाट एमबीबीएस र एमडीमा अध्ययनरत चिकित्सा शास्त्रका विद्यार्थीहरुको भविष्यबारे अन्योल सिर्जना भएको बताइएको छ । उक्त मेडिकल कलेजले विगतको कर समेत चुक्ता गरे नगरेकोबारे समेत स्पष्ट पार्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

क्रान्तिकारीले सन् १९९२ मा नेपाल सरकार र मणिपाल हस्पिटल एण्ड एजुकेसनल ग्रुपबीच भएको सम्झौता कार्यान्वयनका लागि सरकारलाई अपिल गरेको छ । त्यसो नभएमा विगतको सम्झौता कार्यान्वयनको निम्ति सशक्त संघर्षमा उत्रन संगठन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू