अष्टलक्ष्मी पनि उही बाटोमा अग्रसर

अष्टलक्ष्मी पनि उही बाटोमा अग्रसर

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको शैलिलाई पच्छ्याउँदै बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाको जारी अधिवेशन हठात् अन्त्य गर्नुभएको छ । आफ्नो राजीनामा मागिएपछि ओलीले संघीय संसद्को अधिवेशन अन्त्य गरेकै शैलिमा सरकार अल्पमतमा परेसङ्गै शाक्यले पनि अकस्मात प्रदेशसभा अधिवेशन अन्त्यको सिफारिस गर्नुभएको हो ।

शाक्यले हिजो शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी अधिवेशन अन्त्य गर्नुभएको छ । एमालेबाट बिद्रोह गरी माधव नेपाल समूहले नयाँ दल दर्ता गरेकै दिन भदौ २ गते हतारहतार मुख्यमन्त्रीको शपथ लिनुभएकी शाक्यलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । तर, अहिलेकै अवस्थामा विश्वासको मत पाउने सम्भावना लगभग शून्य प्राय: छ । त्यसैले विकसित राजनीतिक घटनाक्रम आफू अनुकूल नभएपछि शाक्यले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरिदिनुभएको हो ।

एमालेमै रहने कि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्ने निर्णयले नै शाक्यको मुख्यमन्त्री पद निर्क्योल गर्ने अवस्था बनेको छ । शाक्य अहिलेसम्म एकीकृत समाजवादीमा लाग्नुभएको छैन । कानूनअनुसार पार्टी विभाजनको २१ दिनभित्र दल रोजिसक्नुपर्ने हुन्छ । एकीकृत समाजवादीका नेताहरुले २१ दिनभित्र शाक्य आफ्नो दलमा नआए अविश्वास प्रस्तावमार्फत हटाउने चेतावनी दिइसकेका छन् ।

११० सदस्यीय बाग्मती प्रदेशसभामा हाल १०९ जना सांसद छन् । सरकारलाई बहुमत पुर्याउन ५५ सांसद आवश्यक पर्छ । एमालेका ३ जना सांसद मात्रै एकीकृत समाजवादीमा लागेको अवस्थामा पनि शाक्यको सरकार अल्पमतमा पर्छ । बाग्मतीमा शाक्यलाई हटाएर काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठवन्धन सरकार बनाउने तयारी भैरहेको बताइएको छ । त्यसका लागि प्रदेशसभाको विशेष अधिवेशन बोलाउने तयारी भैरहेको एकीकृत समाजवादीका एक नेताले बताए ।

सरकार अल्पमतमा परेपछि संसद् छलेर सरकार टिकाउन अधिवेशन अन्त्य गरिएको भन्दै विपक्षीहरुले विशेष अधिवेशन मागको तयारी गरेका हुन् । शाक्य अल्पमतमा परेपछि हठात संसद्को अधिवेशन अन्त्य गरेको भन्दै एकीकृत समाजवादीका एक सांसदले भने, ‘टालटुल पारेर केही समय पर सार्ने योजनाका साथ अधिवेशन अन्त्य गरेको देखिन्छ । हाम्रोतर्फका माननीयज्यूहरुलाई आफ्नो पक्षमा पार्ने र सरकारको आयु लम्ब्याउने रणनीतिमा उहाँहरु (एमाले) लाग्नुभएको छ,त्यो सफल हुँदैन ।’

त्यसो त,ओलीले हठात संसद अधिवेशन अन्त्य गर्दा चर्को विरोध गर्नेमध्येमा शाक्य पनि अग्रपंक्तिमा हुनुहुन्थ्यो । संसद्को चालू अधिवेशन अन्त्य गरेर ओलीले अध्यादेशमार्फत शासन चलाएको भनेर विरोध गर्ने शाक्य आफैँ सत्ता जोगाउने खेलमा लागेको भन्दै कांग्रेस र माओवादीका नेताहरुले पनि आपत्ति जनाएका छन् । मुख्यमन्त्री शाक्यले ओलीको जस्तै जालझेलको राजनीति गर्न खोजेको उनीहरुको आरोप छ ।

‘चालू अधिवेशन अन्त्य गर्न केही परिस्थितिजन्य कारणहरु हुनुपर्छ । कस्तो बेला अधिवेशन अन्त्य गर्ने भन्ने निश्चित क्याटेगोरिकली प्रावधानहरु छन्,त्यसैका आधारमा गरिनुपर्छ । कसैले चाहँदैमा अधिवेशन अन्त्य गर्न मिल्दैन’, एकजना काँग्रेस सांसदले भने, ‘अल्पमतमा परिसकेपछि विश्वासको मत लिन्छु भन्नुपर्नेमा संसद नै अन्त्य गरेर भाग्नु संविधान,लोकतन्त्र र संसदीय मर्यादा विपरित कदम हो । हामी विशेष अधिवेशन बोलाएर उहाँविरुध्द अविश्वासको प्रस्ताव दर्ता गर्छौँ । ‘

पार्टी विभाजनपछि माधव नेपाल पक्षका सांसदहरुलाई एमालेमै अड्याउन अध्यक्ष केपी ओलीले बाग्मतीमा अष्टलक्ष्मी र प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाइएको छ । यसअघिका मुख्यमन्त्री डोरमणि पौडेल र शेरधन राई दुवै राष्ट्रपति विद्यादेवी भण्डारी निकटका रुपमा चिनिएका थिए । माधव नेपालको एकीकृत समाजवादीमा जानबाट रोक्न पौडेल र राईलाई राजीनामा गराएर शाक्य र आचार्यलाई मुख्यमन्त्री बनाइएको हो । शाक्य र आचार्य विगतमा माधव पक्षमा भएपनि अहिले एकीकृत समाजवादीमा लागेका छैनन् । माधव निकट धेरै सांसद रोक्न सकिने विश्वासका साथ एमाले अध्यक्ष ओलीले उनीहरुलाई मुख्यमन्त्री बनाएको धेरैको बुझाइ छ ।

सरकार अल्पमतमा पर्ने भएपछि सांसदहरु तानातानको खेल शुरु भैसकेको छ । माधव पक्षका सांसदलाई मन्त्रीको लोभ देखाएर सरकार जोगाउन लागेको आरोप शाक्य र आचार्यमाथि लागेको छ । ‘अलिकति लब्याएर जाऊँ भन्ने लागेको होला । त्यो वीचमा सांसदहरुलाई इन्गेज गराउने,सके किन्ने,विभिन्न आश्वासन दिने र आफ्नो सरकार टिकाउने रणनीतिमा लागेको प्रष्टै देखिन्छ’, एकीकृत समाजवादीका ती नेता भन्छन् ।

सरकार जोगाउनकै लागि १ नम्बर प्रदेशका मुख्यमन्त्री आचार्यले विगतमा माधव खेमाका भनिएका दुई जनालाई मन्त्री बनाउनुभएको छ । जीवन घिमिरे र तुलसी न्यौपानेलाई मन्त्री बनाउन केपी ओलीले गरेको आग्रह लत्याउँदै आचार्यले एकीकृत समाजवादीमा खुल्ने सुरमा रहेकालाई मन्त्री बनाउनुभएको चर्चा पनि छ ।

टिप्पणीहरू