एउटै जिल्ला, भसक्कै कब्जा गर्न मिल्ला ?

एउटै जिल्ला, भसक्कै कब्जा गर्न मिल्ला ?

केपी ओली प्रधानमन्त्री हुँदा सरकारदेखि पार्टी सञ्चालनसम्ममा विधि र पद्धतिबारे ठूलै बहस चल्यो । मनलाग्दी नियुक्ति भए । तर, ओलीको विस्थापनपछि गठित देउवा सरकारको पालामा त कतिसम्म देखिसकियो भने, एउटा विभागमा एउटै जिल्ला, त्यसमा पनि नाताभित्रैका मान्छेदेखि मन्त्रीको विचारविपरितका हाकिमको लर्को !

अहिलेको सरकारमा सबभन्दा ‘खरो’ मानिने जनार्दन शर्माले अर्थ मन्त्रालय सम्हालेका छन् । तर, उनलाई चारैतिरबाट यसरी कसिएको छ कि, आफ्नो खुशीले ढिम्किनै नसकिने । सरकार गठनलगत्तै शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर मधुकुमार मरासिनीलाई अर्थमा ल्याइयो । यसपछि मन्त्रालयका महत्वपूर्ण महाशाखा र विभाग सम्हाल्ने गरी पाँचजना सहसचिव फेरिए । पाँच भाइमध्ये बजेट महाशाखामा परे भुपाल बराल । उनी पेशागत दक्षताका लागि कहलिएका अधिकृत हुन् । दाइ मोहन ०७० को निर्वाचनमा सिन्धुली २ बाट सांसद जितेका कांग्रेस नेता ।

आन्तरिक राजश्व विभागको महानिर्देशक बनाइएका शोभाकान्त पौडेल पनि कांग्रेस नै र भन्सार विभागमा महानिर्देशक बनाइएका नारायण सापकोटाचाहिँ माओवादी पृष्ठभूमिका । त्यसो त सरुवाको लटमा माओवादी पृष्ठभूमिका सहसचिवहरु पनि मन्त्रालय त गए, ठाउँचाहिँ पाएनन् । अब राजश्व सचिव को बन्छ भन्ने कुराको टुंगो लागिसकेको छैन । यदि फेरि पनि राजश्व सचिव जाने हो भने जनार्दन शर्मालाई दाम्लोले बाँध्नमात्रै बाँकी हुन्छ भन्दै अर्थमा रहेका राकसका नेताहरु चर्चा गर्दैछन् ।

उता, सचिव बढुवा हुनासाथ महालेखा नियन्त्रक भएर हाजिर गर्न पुगेका हाकिम भोलिपल्टैबाट बिरामी छन् । तथ्याङ्क सेवाका काविल मानिने सुमनराज अर्याल हुन्, नयाँ महालेखा नियन्त्रक । हाजिर भएको भोलिपल्टबाट हनहनी ज्वरो आयो । कोभिड परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आए पनि ज्वरो घटेन । त्यसपछि केही काम गर्न पाएका छैनन् ।

अनि, लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागमा हेरौँ त, भएभरका हाकिम स्याङ्जाली † मुलुकको आर्थिक सुदृढिकरणका लागि सबैभन्दा महत्वपूर्ण भूमिका हुने राजश्व प्रशासनको ‘रानो माहुरी’ भनेजस्तो हो, उक्त विभाग । त्यहाँ हालै महानिर्देशक भएर गएका सहसचिव शोभाकान्त पौडेल स्याङ्जा, पुतलीबजारका बासिन्दा । त्यहीँ नायव महानिर्देशक छन्, आनन्दराज काफ्ले । उनी पनि स्याङ्जाली । स्याङजाली अर्थसचिव मधुकुमार मरासिनीका भाइ शम्भु आन्तरिक राजश्वमै छन् । स्याङ्जा, बिर्घाका मुक्तिराम पाण्डे अर्का नायव महानिर्देशक हुन् । निर्देशक लालप्रसाद पंगेनी र दुर्गा भण्डारी पनि स्याङजाकै ।

टिप्पणीहरू