आफ्ताब आलमलाई जेल हाल्ने वकिल बिरामी,पेशी सर्यो

आफ्ताब आलमलाई जेल हाल्ने वकिल बिरामी,पेशी सर्यो

दुई दर्जन मानिसलाई ज्युँदै ईंटाभट्टामा पोलेको अभियोगमा जेल जीवन बिताइरहेका रौतहटका काँग्रेसी नेता मोहम्मद आफ्ताब आलमविरुद्धको मुद्दा आज सर्वोच्चमा पेशी चढे पनि अर्को सातालाई सरेको छ । आफ्ताबविरुद्ध जुटेका ७ जना वकिलमध्ये लिड अधिवक्ता पुष्प पौडेल चार दिनदेखि ज्वरो आएर घरमै सुतेका कारण आजको पेशी सरेको हो ।

आलमविरुद्ध बहस गर्ने टोलीमा वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी,युवराज संग्रौला,कुमार शर्मा आचार्य,दिनेश त्रिपाठी, गोविन्द बन्दी हुनुहुन्छ । त्यसैगरी अधिवक्ताहरु ओमप्रकाश अर्याल, पुष्प पौडेल पनि सोही टोलीमा रहनुभएको हो ।

७ जना कानुन व्यवसायीहरुको मागदाबीमा मुद्दाको अन्तिम किनारा नलागेसम्म आलमलाई थुनामै राख्नुपर्छ भन्ने रहेको छ । उहाँहरुले घटनाको प्रमाण बुझ्ने कार्य सकाएकाले थुनामुक्त गराउँदा बाँकी रहेको प्रमाण नष्ट हुनसक्ने दाबी गर्दै आउनुभएको हो ।

एक जना कानुनव्यवसायीले भन्नुभयो, ‘सर्वोच्च अदालतले यति ठूलो मुद्दामा प्रतिवादीलाई कदापी छाड्न हुँदैन भन्ने हाम्रो जिकीर रहेको छ । हिजो प्रमाण नष्ट गरिसकेकाले थुनामुक्त गरिँदा फेरि नष्ट गर्न सक्ने सम्भावना रहन्छ । त्यसैले थुनामै राखेर मुद्दा अघि बढाउनुपर्छ ।’

आलमको मुद्दामाथि आज सुनुवाईका लागि न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको इजलाशमा पेसी तोकिएको थियो ।

टिप्पणीहरू