रुपचन्द्रका चेला स्थानीय तहमा अब्बल प्रमाणित

रुपचन्द्रका चेला स्थानीय तहमा अब्बल प्रमाणित

‘सत्य थाहा हुँदा झूठ नाश हुन्छ’ नाराले स्थापित भएका दिवंगत दार्शनिक नेता रुपचन्द्र बिष्टको गृहनगरमा उनकै चेलाले नेतृत्व गर्नु भएको स्थानीय तह निरन्तर उत्कृष्ट भइरहेको छ । कार्यसम्पादनमा उत्कृष्टतासँगै रुपचन्द्रका चेला लबशेर बिष्टको मकवानपुरमा चर्चा चुलिएको छ ।

पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर निर्वाचित बिष्टले मकवानपुरका १० वटा स्थानीय तहमध्ये थाहा नगरपालिकालाई निरन्तर पहिलो भएर पुरस्कृत बनाउनुभएको हो । जिल्ला समन्वय समिति मकवानपुरले पछिल्लो तीन वर्षदेखि निरन्तर उत्कृष्ट स्थानीय तहको पगरीले सम्मान गरेको हो ।

थाहा नगरपालिकामा जिल्लाका अन्य स्थानीय तहभन्दा बेरुजु सबैभन्दा कम देखिएको छ । थाहा नगरपालिकाको शून्य दशमलब ४८ प्रतिशत मात्रै रकम बेरुजु देखिएको छ भने सबैभन्दा बढी बेरुजु पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा देखिएको छ । १० वटा तहमध्ये अन्तिममा रहेको बागमती गाउँपालिकामा बेरुजु प्रतिशत दर ११ दशमलव ६६ प्रतिशत रहेको छ ।

त्यसैगरी बेरुजु बढी देखिएको र नवौं स्थानको गाउँपालिकामा पनि रुपचन्द्र बिष्टकै अर्का चेला एकराज उप्रेतीले नेतृत्व गरेका छन् । मनहरी गाउँपालिकामा एमालेबाट निर्वाचित उप्रेती नेतृत्वले बेरुजु प्रतिशत ११ दशमलव ५१ प्रतिशत पुर्याएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

त्यसैगरी दोस्रो नम्बरमा भीमफेदी गाउँपालिका (१.१२ प्रतिशत), तेस्रोमा मकवानपुरगढी गाउँपालिका (२.०५ प्रतिशत), चौथोमा राक्सिराङ गाउँपालिका (२.६३ प्रतिशत) पाँचौमा बकैया गाउँपालिका (२.८४ प्रतिशत), छैटौँमा इन्द्रसरोवर गाउँपालिका (२.८९ प्रतिशत), सातौँमा कैलाश गाउँपालिका (२.९९ प्रतिशत) र आठौँ नम्बरमा हेटौँडा उपमहानगरपालिका (४.३८ प्रतिशत) बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यो तथ्याङ्क आर्थिक वर्ष २०७६÷०७७ को हो ।

गत वर्ष थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई शून्य बेरुजु कायम गराएर प्रगति गरेको भन्दै देशकै उत्कृष्ट कर्मचारीको रुपमा संघीय सरकारले सम्मान समेत गरेको थियो ।

टिप्पणीहरू