केपी र डोरमणि हिँडेपछि हेटौंडामा सडक चौडाको चर्चा

केपी र डोरमणि हिँडेपछि हेटौंडामा सडक चौडाको चर्चा

निर्वाचित भएदेखि नै एसियाली राजमार्गमा जोडिएको जिल्लाको सडकलाई फराकिलो बनाउन माग गर्दै आउनुभएका हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले केन्द्र सरकार र बागमती प्रदेशको सत्ता हस्तान्तरणपछि फेरि फराकिलो सडकको चर्चा थाल्नुभएको छ ।

पत्रकार सम्मेलन गरी उहाँले असारमा सम्पन्न नवौं नगरसभाले समेत पुनः निर्णय गरी सडक चौडा पार्ने कार्यलाई निरन्तरता दिन संघीय सरकारको ध्यानाकर्षण गराएको जानकारी गराउनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको संघीय सरकार र पूर्वमेयर डोरमणि पौडेलको नेतृत्वमा रहेको बागमती प्रदेश सरकारले समेत सडक फराकिलो पार्ने कार्यमा ध्यान नदिएको महतको आरोप छ ।

‘चुनाव जितेर आएको बेलादेखि नै साँघुरो भएको हेटौँडालाई पैदल यात्रु मज्जाले हिँड्न पाउने गरी व्यवस्थापन गरौँ भन्ने सोचेर अघि बढेको थिएँ,’मेयर महतले भन्नुभयो, ‘तत्कालीन सरकारले हाम्रो कुरा सुनेन,अब नयाँ सरकार बनेपछि फेरि लेखेर पठाएको छु ।’

बागमती प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल तथा हेटौँडा ठूला उद्योगी व्यवसायी संघको घरसमेत सडकको २५ मीटर क्षेत्रमा पर्ने भएकाले डिभिजन सडक कार्यालय हेटौँडाले सुरु गरेको सडक बिस्तार अभियानमा सरकारबाटै असहयोग भएको आवाज उठेको थियो ।

अहिले भदौ पहिलो साता बागमती प्रदेश सरकारका मुख्यमन्त्री पौडेल र असार अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता बहिर्गमनपछि बनेका नयाँ सरकार प्रमुखहरुबाट सडक फराकिलो बनाउन सहजिकरण हुने आशा गरिएको उहाँले जनआस्थासँगको कुराकानीमा बताउनुभयो ।

‘कार्यादेश पाए तुरुन्तै गरिहाल्थ्यौँ, हामीले सहजिकरण गरिदिने मात्र हो,’ मेयर महतको भनाई छ, ‘कान्ति ईश्वरी दरबार अगाडि ३ सय वटा गाडी अट्ने पार्किङ बनाउन सकिन्छ,अन्यत्र पनि हामी जग्गा दिन्छौँ भन्दा पनि ट्राफिक व्यवस्थापन हुन सकेन ।’

प्रदेश राजधानी भएपछि झन् भीडभाड र कोलाहल बढेको भन्दै अब सडक चौडा नपारे बस्नै नसकिने अवस्था आउने र दुर्घटना बढ्ने उहाँ बताउनुहुन्छ ।

टिप्पणीहरू