मन्त्री छैनन्, कसले झिक्ने सुर !

मन्त्री छैनन्, कसले झिक्ने सुर !

सञ्चार मन्त्रालय मातहतको नेपाल टेलिकमका कर्मचारीले आन्दोलन छेडेको आज ३८ औं दिन हो, पर्यटन मन्त्रालय मातहत नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित भएको दुई महिना व्यतित भयो । १५ दिनदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी आन्दोलित छन् । कर्मचारीको माग सम्बोधन गर्नुको साटो त्यहाँका हाकिमहरू मन्त्रालयमा छिरेर, त्यतै ठाडो हाजिर गर्दै फर्कन थालेका छन् ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई २५ साउनदेखि कार्यकक्षमा छिर्न दिइएको छैन । उनी कहिले प्रशासन शाखामा छिरेर दिन कटाउँदै घर फिर्न त कहिले मन्त्रालयको चोटाकोठा चाहार्दै दिन गुजार्न बाध्य छन् । प्राधिकरण टुक्र्याउने र विमानस्थल सञ्चालन निजी क्षेत्रलाई दिने तयारीविरुद्ध कर्मचारी आन्दोलित भएका हुन् ।

यस्तै, वायु सेवा निगमका हाकिम डिमप्रसाद पौडेल १५ दिनदेखि मन्त्रालयमा ठाडो हाजिर लगाउँदै फर्कन थालेका छन् । दुई महिनादेखि कर्मचारीले उनलाई गेटमा टेक्नै दिएका छैनन् ।

उसैगरी, भद्रकालीस्थित टेलिकम मुख्यालयमा ३७ दिनदेखि कर्मचारी आन्दोलित छन् । दुई दिनसम्म कर्मचारीले थुनिदिएपछि उनी कार्यालय फर्किएका छैनन् । एकातिर कर्मचारीको वृत्तिविकासको बाटो ठप्प पारिएको, अर्कोतिर मुनाफामा व्यापक गिरावट आएको कारण देखाउँदै कर्मचारी आन्दोलित भएका हुन् ।

०६१ सालको परिवर्तन गरी ०७८ साउन १ गतेदेखि ल्याइएको विनियमावलीले टेलिकममा कार्यरत ४ सयभन्दा बढी कर्मचारीको वृत्ति विकासमै असर पर्ने देखिएका कारण अब ५ महिना मात्र कार्यकाल बाँकी भएका अधिकारीलाई १० औं तह (प्रवन्धक)मा फर्केर काम गर्न नपाउने गरी आन्दोलन थालेका हुन् ।

नयाँ सचिवका रुपमा बैकुण्ठ अर्याल आएसँगै कर्मचारीसँग वार्ता चल्दै छ । मन्त्रालयले कानुन शाखाका उपसचिव महेन्द्र सांखी र संस्थान समन्वय प्रमुख रामप्रसाद सापकोटालाई राखेर तारन्तार वार्ता गराउँदै छ । सोमबार सार्वजनिक बिदाकै दिन पनि वार्ता टोलीबीच १६ वटा विनियमावलीको विषयमा छलफल चलेको, ४ वटामा गाँठो अड्किएको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादव पनेरुले बताए ।

झण्डै २० अर्ब खर्चेर पनि फोरजी सेवा एक वर्षभित्र सकाउने लक्ष्य किन पूरा भएन ? कहिलेसम्म सकिन्छ ? भन्दै टेलिकम कर्मचारी युनियनका प्रतिनिधिले समन्वयकर्तालाई र्‍याखर्‍याख्ती पारेसँगै प्राविधिकसँग फेरि वार्ताको अर्काे श्रृंखला चलेको छ ।

टिप्पणीहरू