बाग्मती प्रदेश सरकार भदौ महिनाभित्र ढल्ने सम्भावना

बाग्मती प्रदेश सरकार भदौ महिनाभित्र ढल्ने सम्भावना

एमाले बिभाजन प्रक्रिया शुरु भएकै राती शपथ खानुभएकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार भदौ महिनाभित्र फेरिने खतरा बढ्दो छ । एमालेभित्र अन्तरविरोध बढेर नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ता गर्न थालेपछि शाक्य सरकारको दिनगन्ती शुरु भएको बताइन्छ ।

एमालेभित्रको किचलोलाई आफ्नो पक्षमा पार्न अन्तिम क्षणमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलाई अघिल्लो साता मुख्यमन्त्री बन्न बाटो खोलिदिनुभएको थियो । एकाध घण्टाभित्र डोरमणि पौडेलको राजीनामा,संसदीय दलको नयाँ नेता चयन र रातको समयमा मुख्यमन्त्री नियुक्त तथा शपथ ग्रहण गराएर शाक्यलाई पौडेलले छाडेको कुर्सीमा राखिएको हो ।

त्यसपछि नयाँ सरकारको नेतृत्व गर्नुभएकी शाक्यले प्रदेशसभाबाट विश्वासको मत हालसम्म लिनुभएको छैन । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दल विभाजन भएको अवस्थामा उसका सांसदलाई २१ दिनभित्र कुन पार्टीमा लाग्ने भनेर रोज्न पाइने छुटको व्यवस्था गरिएको छ । यो आधारमा पनि भदौ महिनाभित्र शाक्य नेतृत्वको सरकार ढल्ने आँकलन गरिएको हो ।

एमाले विभाजनपछि बन्ने नेकपा एकीकृत समाजवादी पार्टीका सांसदको कारण स्वतः सरकार अल्पमतमा पर्नेछ । त्यसपछि एकीकृत समाजवादीको नेतृत्वमा नेपाली काँग्रेस,माओवादी केन्द्र र अन्य विपक्षी दलको गठबन्धनमा बाग्मती प्रदेश सरकार गठन हुने बताइएको छ ।

यसअघि लामो समयसम्म अध्यक्ष ओलीको एकपक्षीय निर्णयको विरोध गर्दै आउनुभएकी स्थायी समिति सदस्य त्यही कारण कोपभाजनमा पर्नुभएको थियो । तर,पछिल्लो केही महिनादेखि उहाँले ट्युन चेञ्ज गर्दै पार्टी एकताको कुरा राख्न थाल्नुभयो । बालकोटमा केही समयअघि अध्यक्ष ओलीसँग भेट गरेर फर्केपछि उहाँ मौन प्रायः हुनुहुन्थ्यो ।

यता,नेता माधवकुमार नेपाल समूहमा लागेका अर्का नेता सुरेन्द्र मानन्धरलाई पनि अन्तिम क्षणमा उनै शाक्यले रोक्नुभएको आशंका गरिएको छ । तर मानन्धरले निर्वाचन आयोगमा हालिएको नेकपा एकीकृत समाजवादी दर्ताको निवेदनमा दस्तखत नगरे पनि यसबीचमा आफूले जयकुमार राई स्टाइलमा ‘सही फिर्ता लिएको’ प्रचार गर्नुभएको छ । मानन्धरको प्रचारलाई एकीकृत समाजवादीका एक जना नेताले ‘सफेद झुट’भन्नुभएको छ ।

टिप्पणीहरू