गाउँपालिका उपाध्यक्ष मनिलालाई फाँसीको माग ?

गाउँपालिका उपाध्यक्ष मनिलालाई फाँसीको माग ?

मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टलाई फाँसी दिँदासमेत गाउँपालिकाका केही जनप्रतिनिधि र कर्मचारीको मन शान्त नहुने भएको छ । जनताको मतबाट जनप्रतिनिधि बनेका केहीको कार्यशैली र कर्मचारीको तिकडमबाजीको शिकार बन्दै आउनुभएकी उपाध्यक्ष बिष्टलाई ठेगान लगाउनेसम्मको धम्की दिइएको छ ।
ढुङा,गिट्टी,बालुवा उत्खनन्देखि निर्यातसम्मको सेटिङमा बाधक बनेवापत बिष्टलाई पटक पटक अध्यक्षसहित केही जनप्रतिनिधिले दुःख दिएको बताइन्छ । सबैतिरबाट दबाब र चेतावनी आउन थालेपछि उपाध्यक्षले चाहेर पनि आफूले गाउँपालिकाका जनताको काम भनेजति गर्न नसकेको बताउनुभएको हो ।

उहाँका अनुसार पछिल्लो केही समयदेखि जनताको काम गर्ने बिष्टलाई फाँसी दिनुपर्छ,बहिष्कार गर्नुपर्छ र जनतालाई दुःख दिने जनप्रतिनिधि र कर्मचारीलाई सम्मान गर्नुपर्छ भन्दै प्रचार गर्न थालिएको छ । यसबीच केही जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा बिष्टको कार्यकक्ष समेत तोडफोड गरियो भने नेमप्लेट पनि हटाइएको बताइन्छ ।

बेलाबखत बवण्डर मच्चाउँदै आएका केही कर्मचारी र जनप्रतिनिधिको सेटिङमा बिष्टले राजिनामा दिएको हल्ला पनि चलाइएको भनिन्छ । दोहोरो भूमिकामा प्रस्तुत हुँदै आएका अध्यक्ष एकराज उप्रेतीले भने आफैँले गरेको निर्णयबाट पछि हटेर उपाध्यक्ष बिष्टलाई दुःख दिने नियत राखेपछि उपाध्यक्षले कानुनी उपचार खोज्नुभएको स्रोतले बताएको छ । उपाध्यक्षको कानुनी उपचारपछि अध्यक्षका कतिपय निर्णय अहिले बेवारिस भएको छ ।

जनताको मान्छे रुपचन्द्र बिष्टको नजिकको ठान्ने उप्रेती बेलाबखत आफूलाई ‘थाहा’ अभियन्तासमेत भन्न रुचाउनुहुन्छ ।

उपाध्यक्षले भन्नुभयो, ‘गाउँपालिकाका जनप्रतिनिधि र कार्यपालिकाका सदस्यहरुबाट आफूले असुरक्षित महसुस गरेको छु । २०७७ फागुन ५ गते उच्च अदालतले गरेको फैसलापछि मेराविरुद्ध खेल र अमानवीय क्रियाकलाप झन् धेरै हुँदै आएको छ ।’

धेरै पटक अपशब्दहरुसमेत सुनेको बताउँदै भन्नुभयो, ‘मेरा धेरै वटा जिम्मेवारी छन् । मैले हरेक ठाउँमा असुरक्षित महसुस गरेकी छु । पाइला पाइलामा जोखिम देखेकी छु । आगामी दिनमा ममाथि जुनसुकै खालको अप्रिय घटना हुनसक्छ ।’

पटक पटक एकै खालका पात्रहरु आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा समेत देखिएको उहाँले बताउनुभएको छ । उनीहरुले उपाध्यक्षलाई हतोत्साही तुल्याउन सार्वजनिकस्थल र प्रत्यक्ष भेटघाटमा समेत विभिन्न हर्कत गरेको बताइन्छ । विष्टले भन्नुभयो, ‘मेरो जिम्मेवारी र कर्तव्यमा निरन्तर बाधा पुर्याइएको छ ।’

बिष्टमाथि कार्यपालिकाको बैठक, खाजास्थल,सार्वजनिक स्थानमा अपशब्दले प्रहार गर्नु नियमित कार्य भएको छ । पछिल्लो पटक गाउँपालिकाको आन्तरिक लेखापरीक्षणमा संलग्न कर्मचारीलाई होटलमा बोलाएर जातीय विभेदको शब्द प्रयोग गरिएको उहाँले उल्लेख गर्नुभएको छ । गाउँपालिकाको आन्तरिक लेखापरीक्षणको वार्षिक समीक्षामा वडा नं ५ की महिला सदस्य पम्फा रोक्काले समेत सबैका सामुन्ने आफूलाई गम्भीर चेतावनी दिँदै आक्रमणको प्रयास गरेको उहाँको भनाई छ ।

उपाध्यक्षको जिम्मेवारीमा रहेको न्यायिक इजलासको कोठामा समेत अहिले दुःख दिने नियतले स्टोर बनाएर आफूलाई अवरोध पुर्याइएको बिष्टको आरोप छ ।

टिप्पणीहरू