ओलीको उग्रता,उपेन्द्रको सहिष्णुता

ओलीको उग्रता,उपेन्द्रको सहिष्णुता

सरकारले हालै ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशले पार्टी विभाजनलाई प्रश्रय दिएको टिप्पणी भैरहेका बेला जसपाको महन्थ-राजेन्द्र खेमालाई भने अध्यादेश सन्जीवनी बुटीजस्तै बनेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि करिब दलविहीन अवस्थामा पुगेको महन्थ-राजेन्द्र खेमालाई पार्टी दर्ताको बाटो खोलेको अध्यादेशले नै हो ।

महन्थ-राजेन्द्र खेमालाई दलविहीनताको अवस्थाबाट जोगाउन अध्यादेश मात्र होइन, उपेन्द्र यादवको भूमिका पनि कम महत्वपूर्ण छैन । उपेन्द्रलाई पार्टीको आधिकारिकता पाएलगत्तै अर्को खेमाका नेता र सांसदहरुलाई कारवाही गर्ने अधिकार थियो,तर उहाँले त्यसो गर्नुभएन । उपेन्द्रले कारवाही नगरेकै कारण महन्थहरुले नयाँ दल दर्ता गर्ने अवस्था बनेको हो ।

जानकारहरु यसलाई यादवको राजनीतिक सहिष्णुता र लोकतान्त्रिक कल्चरका रुपमा विश्लेषण गर्छन् । ‘एमालेमा केपी ओलीले माधव खेमाका सांसदलाईजस्तै कारवाही गरेको भए आज महन्थहरुले दल दर्ताका लागि कानुनी हैसियत गुमाइसकेका हुन्थे । यस्तो अवस्थामा उपेन्द्रलाई नै राजनीतिक लाभ हुन्थ्यो,तर उहाँले राजनीतिक लाभ-हानी मात्र हेर्नुभएन महन्थहरुलाई राजनीतिक अधिकार प्रयोग गर्ने बाटो पनि खुल्लै राखिदिनुभयो’, जसपाका एक नेता भन्छन् ।

यादवले चाहेको भए नयाँ कार्यकारिणी समिति गठन भएपछि महन्थ खेमाका १२ सांसदलाई स्पष्टीकरण सोधेर कारवाही गर्ने अधिकार भएपनि त्यसो गरिएन,फलस्वरूप महन्थहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरे । यसबीच उपेन्द्र भने मौन रहनुभएको छ। उहाँको कतै सार्वजनिक टिप्पणी सुनिएको छैन ।

यता,केपी ओलीले भने माधव नेपालपक्ष अर्कै पार्टी दर्ताको प्रक्रियामा गैसक्दा पनि सो समूहका १४ सांसदमाथिको कारवाहीका लागि सभामुखलाई दबाब बढाइरहनु भएको छ । सांसदहरुलाई कारवाहीको सूचना नटाँसेको भन्दै उहाँले सार्वजनिक रुपमै सभामुखमाथि अभद्र टिप्पणी गरिरहनु भएको छ । एमालेका सांसदहरुले सभामुखको च्याम्बर घेर्नेदेखि जुलुस,घेराउसम्म गरिरहेका छन् । केही नेताले त सार्वजनिक रुपमै धम्कीपूर्ण चेतावनी दिइरहेका छन् ।

ओलीले माधव नेपालहरुलाई दलविहीन बनाउने चेतावनी अहिले पनि दिइरहनु भएको छ । १० प्रतिशत पनि पुग्न नदिएर दल दर्ता हुनै नदिने सामर्थ्य आफूसंग भएको चेतावनी दिएपनि उहाँले रोक्न भने सक्नुभएको छैन । ओलीनिकट एक नेता भन्छन्, ‘हाम्रो अध्यक्षले त उपेन्द्रबाट पो सिक्नुपर्ने देखियो । राजनीतिक सहिष्णुता यादवमा देखियो,हाम्रो अध्यक्षमा देखिएन । राजनीतिमा प्रतिशत हिसाब गरेर रोक्ने हैन जान चाहनेलाई जान दिनुपर्छ ।’

टिप्पणीहरू