नेपालमा फुट्ने,चीनमा जुट्ने

नेपालमा फुट्ने,चीनमा जुट्ने

नेपाललगायत तेस्रो विश्वका मुलुकमा फुट्नु नै कम्युनिष्ट पार्टी र तिनका नेताको पर्यायवाची बनेको छ । नेपालका कम्युनिष्ट पार्टी र तिनका नेता पनि त्यहि कोटीमा परेका छन् । पछिल्लो पटक शक्तिशाली सत्तारुढ दल भएको एमालेमा देखिएको औपचारिक विभाजनले उक्त आरोपलाई थप पुष्टि गरेको हो ।

एमालेमा देखिएको पछिल्लो विग्रहको क्रममा कोही नेता मूलधारमा देखिएका छन् । केही छुट्टै दल दर्ताको क्रममा लागेका छन् भने केही तटस्थ भूमिकामा बसेका छन् ।

तर,विशाल जनसंख्या र करोडौं सदस्य भएको छिमेकी मुलुक चीनमा कम्युनिष्ट पार्टीले सत्ता सञ्चालन गरेको ७० वर्ष भएको छ । कम्युनिष्ट पार्टी स्थापनाको अघिल्लो महिना शतवार्षिकी मनाइएको छ । त्यहाँको कम्युनिष्ट पार्टी दिनानुदिन शक्तिशाली हुने, सबै नेता तथा कार्यकर्ता एउटै पार्टीमा गोलबन्द हुने तर, सीमाना जोडिएको नेपालमा भने ठीक उल्टो हुने किन होला ?

एक जना वामपन्थी राजनीतिक विश्लेषक भन्छन्, ‘मुख्य नेतृत्व जिम्मेवार हुनुपर्यो,सबैलाई समेट्न सक्नुपर्यो । जिम्मेवारी बाँडफाँडमा मुलुक,जनता र पार्टी कार्यकर्ताको भलो हेर्नुपर्यो, त्यसले मात्र सामूहिकताको भावना बढाउँछ । हाम्रोमा ती सबै कुरा पार्टीको विधान,घोषणापत्र,प्रतिवेदन र निर्देशनमा मात्र लेखिन्छ, नेताहरुबाट कार्यान्वयन गरिँदैन । तर,अन्त त्यसो गरिँदैन ।’

दुई वर्षअघि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र राज्यव्यवस्था कमिटीमा पार्टी निर्माण र विस्तारसम्बन्धी विशेष सम्मेलनलाई सम्बोधन गर्दै महासचिव तथा राष्ट्रपति सि जिनपिंगले पार्टीप्रतिको वफादारीसम्बन्धी शिक्षालाई सुदृढ पार्न सबै नेतालाई आग्रह गर्नुभएको थियो । उहाँले त्यसबखत पार्टी सदस्यताका लागि वाचा र आवश्यक कागजातहरूको समीक्षा गर्दै त्यसमा समयानुकूल सुधार गर्नुपर्ने समेत बताउनुभएको थियो ।

त्यसपछि जनवरी २०२० मा महासचिव सीले पुनः त्यस्तै खालको सम्मेलनका सहभागीहरुलाई सम्बोधन गर्दै भन्नुभएको थियो, ‘हाम्रा मूल आकांक्षालाई सत्य र वस्तुनिष्ठ बनाउनुपर्छ । त्यसैगरी लक्ष्यलाई सँधै शीरमा राख्नुपर्छ ।’ त्यसबखत उहाँले पार्टीका वरिष्ठ नेताहरुलाई ‘पार्टीमा आवद्ध हुँदा ताकाको आफ्नो वाचालाई इमान्दारिताका साथ पालना र नवीकरण गर्नुपर्ने’ शिक्षा दिनुभएको थियो ।

त्यसैगरी गत जुन महिनामा छिंघाई प्रान्त भ्रमणको क्रममा पनि महासचिव सिले जोड दिँदै भन्नुभएको छ,‘पार्टीप्रति अझ बढी वफादार हुन र पार्टीमा सामेल हुँदाको बखत पार्टी सदस्य र नेताहरुले आफूले गरेको शपथलाई कहिल्यै बिर्सन हुँदैन । एउटा सदस्यले पार्टीलाई कहिल्यै पनि धोका दिन हुँदैन ।’

उहाँले सँधै नेता तथा कार्यकर्तालाई पार्टीमा आवद्धता जनाउँदाको बेलामा लिइएको शपथबारे आत्मसमीक्षा गर्नु,मूल उद्देश्य प्राप्तिमा निरन्तर लागिपर्नु नै कम्युनिष्ट मिसनको रूपमा सम्झन आग्रह गर्दै आइरहनुभएको छ । सोहीबमोजिम चिनियाँ कम्युनिष्ट पार्टीले आफूलाई विश्वकै स्थापित राजनीतिक दलमा समेत दर्ज गराएको छ ।

तर हाम्रोमा मूल नेतृत्वमा बसेका नेताले अन्य नेतासँगै उभिएर चिनियाँ कम्युनिष्ट पार्टीमा झैँ सामूहिक प्रतिबद्धता जनाउन अप्ठेरो मान्ने गरेका छन् । अनुशासन र विधानको पालना मूल नेतृत्व बाहेकका नेता र कार्यकर्ताको मात्रै जिम्मेवारी झैँ ठान्न थालिएको छ ।

यो समाचारसँगैको भिडियोमा महासचिव सिले सम्पूर्ण नेताहरुसँगै मुठ्ठी उठाउँदै बन्द हलभित्र व्यक्त गर्नुभएको प्रतिवद्धताले सबैलाई एउटा सूत्रमा उनेको देखिन्छ । यसले चिनियाँ कम्युनिष्ट पार्टीका करोडौं सदस्यलाई अझ बढी जिम्मेवार बनाउन मध्दत पुगेको स्पष्ट भएको छ ।

टिप्पणीहरू