अध्यादेशको विरोधमा जताततै जुलुस र नाराबाजी

अध्यादेशको विरोधमा जताततै जुलुस र नाराबाजी

सरकारले आज जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको विरुद्ध पोखरामा राष्ट्रिय युवा संघले आज जुलस प्रदर्शन गरेको छ । संघले पोखराको मानवअधिकार चोकबाट विरोध र्याली निकालेको हो ।

राष्ट्रिय युवा संघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुरुङ्गको अध्यक्षतामा आयोजित कार्यक्रममा मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कठपुतली सरकारको जनघाती निर्णय तथा दमनविरुद्ध भन्ने मूलनाराका साथ अध्यादेश खारेजीको माग गरिएको छ ।

सरकार विरुद्ध नाराबाजी लगाउँदै गएको जुलुस महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत भएको हो । कार्यक्रममा गण्डकी प्रदेश सांसद राजिव पहारीलगायत झण्डै १ सय जनाको सहभागिता रहेको थियो ।

उता आजै साँझ नेपालगञ्जमा पनि युवा संघ र अनेरास्ववियुले विरोध जुलुस निकालेका छन् । उनीहरुले पनि राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोधमा कार्यक्रम गरेको बताइन्छ । प्रदर्शनकारीहरुले शेरे तेरो पाराले दुःख पाए साराले, परमादेशबाट बनेको सरकारले अध्यादेश ल्याउन पाईंदैन, विचारको बन्धन टुट्दैन, नेकपा एमाले जिन्दावाद भन्ने नारा लगाएका थिए ।

उता, लमजुङमा पनि राष्ट्रिय युवा संघ र अनेरास्ववियुले अध्यादेशको विरोधमा आज साँझ जुलुस निकालेका छन् । जुलुसमा नेपाली काँग्रेस मुर्दावाद, राजनीतिक दल सम्बन्धी विधेयक खारेज गर, अफगानिस्तानमा रहेका नेपालीलाई फिर्ता गर भन्ने नारा समेत लगाइएको थियो ।

टिप्पणीहरू