आफ्नै सन्तान लागे अन्तैतिर

आज घर न घाटको अवस्थामा एक मुठी सास अड्याइरहेको छु । मान्छेहरू भन्छन्, ‘दुःख साट्यो भने घट्छ’ तर आफ्नो वास्तविक कहानी कसैसँग खोल्न सकिरहेको छैन । आफ्नो विगत सम्झन्छु, कहानीका पत्र–पत्र केलाउँछु लाग्छ ‘यो सपना हो कि विपना !’ हर रात अनिद्राको सास फेरिरहेको छु । सबैलाई न्याय दिन बसेका न्यायाधीश नै लागिपरे, दुई टुक्रा जमिनका लागि । एक जना दलालको हातमा पर्दा आज यो स्थितिमा बाँचिरहेको छु । हामीमाथि विश्वासघात गरिस् ‘पातकी बूढा’ भन्दै जन्म दिएका छोराछोरीले जिल्ला अदालतमा मुद्दा दायर गरे । यस्तो लाग्दै छ– ‘बडेमानको ढुंगाले मुटु थिचेको छ ।’ यस्तो अवस्थामा म कसरी आफू निर्दाेष भएको सावित गराऊँ ? जब एक जना दलालको पछाडि न्यायकर्मी लागिपरेका छन् । भन्छन् नि सास रहेसम्म आश । त्यही एक न्यान्द्रो आसमा सास धान्दै छु ।

अरूको जस्तै मेरो पनि रहर थियो काठमाडांै शहरमा चिटिक्कको घर होस् । साथीभाइ, इष्टमित्र सबैले बैंक तथा आफन्तबाट ऋण लिएरै भए पनि जमानामा सबैले घर ठड्याएछन् । म पनि रहरै रहरमा छिरें काठमाडौं खाल्डोमा । बेचें ताप्लेजुङस्थित पैतृक सम्पत्ति । छोराबुहारी रोजगारीको सिलसिलामा विदेश हान्निएका । उनीहरूकै सरसल्लाहअनुसार ताप्लेजुङको पैतृक सम्पत्ति बेचेर आएको रकमले ललितपुर इमाडोल–८ मा जग्गा किनें । छुट्टाछुट्टै दुई वटा कित्ता गरी आठ आना जग्गा । मालपोत नजिकै कि.नं.१०९५ र १०९६ श्रीमती (फिपरानी बोखिम लिम्बू)को नाममा जग्गा पास गरिदिए । आमाको नाममा जग्गा पास भएको कुरा छोराबुहारीलाई सुनाएँ । रमाइरहेका थियौँ । तर, एक्कासि आयो जिन्दगीमा भुइँचालो । जसरी भुइँचालो आउने खबर मान्छेले पहिला थाहा पाउँदैन । सबै ढालेर गयो त्यसले । यसरी नै म र मेरो घरपरिवारमा भूकम्प बनेर पसे विनोदबहादुर खड्का । उनले कानुनलाई आफ्नो हातमा लिएर मेरो घरबार उजाड बनाइदिए ।

जग्गासँगै जोडिएको अर्काे दुई आना छिमेकीले बेच्ने भएपछि धितो राखेर १५ लाख रुपैयाँ बैंकबाट ऋण लिएँ । मलाई पहिले किनेको जग्गाले नै पुग्छ भन्दा पनि खड्काले जबर्जस्ती  जसरी नि किन्न आग्रह गरे । आफ्नो जग्गासँगै जोडिएको जग्गा खेर नफाल्न भने । आफूसँग उक्त जग्गा किन्ने रकम नभएको बताउँदा उनले काँधमा हात थम्थमाउँदै भने, ‘के चिन्ता लिनुहुन्छ, तपार्इंको जग्गाा छैन !’ एकछिन अलमलिए । के भन्न खोजेका हुन् ? बुझिनँ । भने, ‘तपाईको त्यो जग्गालाई बैंकमा धितो राखेर ऋण लिन मिल्दैन । माल हुँदाहुँदै किन चिन्ता ?’ सही लाग्यो । तत्कालै सहमति जनाएँ । मेरो हितैषी भइसकेका ललितपुर उपमहानरपालिका–२१ का विनोदबहादुरसँग बैंकबाट थप २० लाख रकम निकाल्न सहयोग गर्ने कुरा भयो । उनले जता मोडे उनै मोडिने भइसकेको थिएँ । थप ऋण लिन दुवै कित्ता जग्गा आफ्नो नाममा राजीनामा पास गरिदिनुपर्ने खड्काले भनेपछि करारनामा कागज गरेर जग्गा पास गरिदिएँ ।

केही समयमै बैंकबाट ऋण पायौँ । यससँगै मेरो जग्गाको सीमानामै (कि.नं. १४३९) रहेको दुई आना तीन पैसा जग्गा थपेर चार कोठे घर बनाएँ । ३५ लाख ऋण लाग्यो । केही महिनापछि मलाई थप (ऋण तिर्न) केही रकम खाँचो प¥यो । सबै समस्याका उपचार गर्ने खड्का नै थिए । यो समस्या पनि बताए । उनले कुनै चिन्ता नलिन आग्रह गरे । करार फिर्ता गर्ने अर्को कागज गरेर २०६६ चैत्र २९ गते धितो स्वरूप दुई आना तीन पैसा जग्गा राजीनामा पास गरी ७ लाख ऋण लिएँ ।
फेरि, उनकै सल्लाहमा अघिल्लो दुई कित्ता गरी आठ आना श्रीमतीलाई (फिपरानी) १ करोड ११ लाखमा बिक्री गर्न लगाएँ ।

ऋण तिरेर बाँकी रहेको ७६ लाख पनि केही महिना ऋण स्वरूप चलाउने भनेपछि कपाली तमसुक गरेर चलाउन दिएँ । भाका पुगेपछि कि.नं. १४३९ को जग्गा र नगद फिर्ता मागेँ । उनीप्रति कुनै अविश्वास थिएन । तर उनले दुई महिना, तीन महिनापछि दिन्छु भन्दै टार्न थाले । रकमको कपाली तमसुक र जग्गा करार फिर्ता गर्ने बलियो कागज मसँग अहिले पनि सुरक्षित नै छ । विस्तारै उनले फोन नउठाउने, काट्ने, स्वीच अफ गर्दै सम्पर्कमा आउनै छाडे । त्यसपछि म रनभुल्लमा परें । बुझ्दै जाँदा मलाई करार फिर्ता गर्नुपर्ने दुई आना तीन पैसा जग्गा खड्काले सानुलाल महर्जनलाई बेचिसकेका रहेछन् । के गर्ने कसो गर्ने केही भेउ पाइनँ । पछि सानुलालले उत्तम महर्जनलाई । उत्तमले राजु व्यञ्जनकारलाई बिक्री गरिसकेका रहेछन् । यससँगै मेरो घरजग्गा रोशन बज्राचार्यको हातमा पुगेका रहेछ । जुन जग्गामा मेरो घर छ । हाम्रो परिवार त्यहीँ बस्दै आएका छौं । अब के गर्ने ? आफूभन्दा बढी विश्वास गरेर सल्लाह लिएको थिएँ । आज उनैले फसाइछाडे । उनले लाखाँै रकम कुम्ल्याउन योजनाबद्ध हिसाबले यो जाल बुनेका रहेछन् ।

यससँगै जिल्ला अदालतमा रकम तथा करार फिर्ताको मुद्दा दायर गरेँ । अब,उकालोबाट नदी बग्न थाल्यो । छोरा विष्णुबहादुर सुब्बा, छोरीहरू रिणा र मञ्जिता लिम्बूले अंशबण्डाको मागदाबी गर्दै म र श्रीमती (फिपरानी) विरुद्ध मुद्दा दायर गरेका छन् । आफ्नै छोराछोरी पराइ भएका छन् । छोराछोरीले लगाएको लिखत बदर नहुने ठहर गर्दै मेरो करार फिर्ताको आधार प्रमाण हँुदाहँुदै पनि २०७१ बैशाख २८ गते न्यायाधीश टेकनारायण कुँवरले मेरो विरुद्ध फैसला सुनाएका छन् । पुख्र्याैली घर ताप्लेजुङ जिल्ला थेचम्बु–४ नछाडेको भए हुने रहेछ । अहिले चाल पाए । न्याय माग्न लामो समय अदालतको ढोका ढकढक्याए । उच्च अदालत (पुनरावेदन) पाटनमा मुद्दा दायर गरेँ । उच्च अदालतले पनि मलाई नै दोषी देख्यो । न्यायाधीश लेखनाथ घिमिरे र पदमराज भट्टले समेत २०७३ पुस १७ गते जिल्लाकै फैसलालाई सदर गरे । अदालतको यस्तो फैसलापछि उनीहरूले अपरिचित व्यक्ति (गुण्डा) प्रयोग गरेर ज्यान मार्ने धम्की दिइरहेका छन् । अहिले सकिनसकी घरमा बसिरहेको छु । कतिबेला के हुन्छ केही थाहा छैन ।

म र परिवारले जीवनभर कमाएको रकम खड्काले सकिदिए । कुन दिनमा उनीसँग नजिकिएँ ? अब कसरी त्यो घरजग्गा आफ्नो बनाऊँ ? खड्काहरूमात्रै हैन आफूले जन्माएका छोराछोरीहरूसमेत मविरुद्ध मुद्दा पेश गर्न अदालत पुगिसकेका छन् । अब म बाँचू कि मरूँ ? जग्गा र आफूले चलाएको रकम फिर्ता गर्छु भन्ने विनोदबहादुर खड्काको स्पष्ट आंैठाछापसहितको तमसुक हँुदाहँुदै अदालतले समेत मलाई न्याय नदिनुमा के रहस्य छ ? अब कसरी बाँच्ने ? छोराछोरीसँग कसरी सम्बन्ध जोड्ने ? कठै मेरो जिन्दगी ! कहाँ जान हिँडेको, कहाँ पुगे ?
मानबहादुर लिम्बू

टिप्पणीहरू