‘ओलीको नारा उदाङ्गियो,देउवा असफल व्यवस्थाको प्रतिनिधि’

‘ओलीको नारा उदाङ्गियो,देउवा असफल व्यवस्थाको प्रतिनिधि’

नेकपा (क्रान्तिकारी माओवादी) ले पछिल्ला राजनीतिक घटनाक्रमले नेपालमा संसदीय व्यवस्था पूर्णत: असफल बन्दै गएको निष्कर्ष निकालेको छ । सो पार्टीले दलहरुबीचको अन्तरकलह,संसद विघटन तथा पुनर्स्थापना र वर्तमान सत्ता गठवन्धनमा देखिएको कचिंगलोलाई संसदीय व्यवस्थाको असफलताको परिणाम भनेको छ ।

साउन २८ देखि ३१ गतेसम्म बसेको क्रान्तिकारी माओवादीको केन्द्रीय कमिटी बैठकमा महासचिव मोहन बैद्य किरणले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संसदवादी दलहरुकै कारण संसदीय व्यवस्था बद्नाम र असफल बन्दै गएको उल्लेख गरिएको छ । एमाले र माओवादीभित्रको अन्तरकलह, दुई-दुई पटकको संसद विघटन र पुनर्स्थापना,अदालतको परमादेशद्वारा पार्टीको विखण्डन र देउवा नेतृत्वको सरकार गठन, आकांक्षी धेरै भएकाले मन्त्री नियुक्ति हुन नसकेको अवस्था र गठवन्धनभित्र बढ्दै गएको कचिंगलोले नेपालमा संसदवादी तथा संशोधनवादी राजनीतिक दलहरु मात्र नभई संसदीय व्यवस्था नै असफल बन्दै गएको बैद्यको निष्कर्ष छ।

प्रतिवेदनमा महंगी,बेरोजगारी, गरिबी,भ्रष्टाचार,कमिशनतन्त्र, देशी तथा विदेशी प्रतिक्रियावादीहरुको शोषण, उत्पीडन तथा हस्तक्षेपका कारण मजदुर,किसान,तथा निम्न पुँजीपति वर्गसहित आम जनताका जीविकाका समस्या भयावह र विकराल बन्दै गएको बताइएको छ । ओली सरकारको संमृद्ध नेपाल सुखी नेपालीको नारा उदाङ्गो भएको र वर्तमान सरकार पनि त्यहि संकटग्रस्त व्यवस्थाको असफल प्रतिनिधि भएकाले राष्ट्रियता,जनतन्त्र र जनजीविकाका समस्या हल हुन नसक्ने बैध्यको ठोकुवा छ ।

महासचिव वैद्यले पेश गरेको राजनीतिक प्रतिवेदनमा साम्राज्यवादी तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुका वीचमा अन्तरविरोध चर्किएको,श्रम तथा पुँजीका वीचमा अन्तरविरोध बढेको र कोभिड-१९ महामारीका कारण उत्पन्न विश्वव्यापी स्वास्थ्य तथा आर्थिक संकटले ती अन्तर्विरोधलाई विष्फोटक बनाउँदै लगेको उल्लेख छ । बैध्यले अफगानिस्तानमा अमेरिका तथा त्यसको सैन्य गठवन्धन नेटो पराजित भएको पनि दाबी गर्नुभएको छ ।

अहिलेको शासन व्यवस्थाले निकास दिन नसक्ने निष्कर्ष निकाल्दै बैद्यले संघीय जनगणतन्त्रको नारालाई अझ सशक्त ढंगले लैजानुपर्नेमा पनि जोड दिनुभएको छ । क्रान्तिका वस्तुगत परिस्थिति परिपक्व बन्दै गएको ,तर आत्मगत अवस्था भने कमजोर रहेको भन्दै बैद्यको प्रतिवेदनमा छरिएर रहेका क्रान्तिकारी शक्तिलाई एकतावद्ध तुल्याउन जोड दिइएको छ । प्रतिवेदनमा मार्क्सवाद, लेनिनवाद र माओवाद मान्ने तथा नयाँ जनवाद र वैज्ञानिक समाजवाद अङ्गीकार गर्ने क्रान्तिकारी पार्टी, संगठन र व्यक्तिहरुबीच संवादको प्रक्रिया अघि बढाउन आव्हान पनि गरिएको छ ।

मजदुरहरुमाथि थोपरिएको ठेकेदारी तथा करार प्रथाको खारेजी,समुचित तलब तथा अन्य सुविधा, निष्काशनको विरोध, स्वदेशमै रोजगारी तथा बेरोजगार भत्ताको व्यवस्था, क्रान्तिकारी भूमिसुधार तथा सुकुम्बासी, हलिया, कमैयाका लागि जमिनको व्यवस्थाका लागि थप संघर्षको आवश्यकता प्रतिवेदनमा औंल्याईएको छ । त्यस्तै, महिला, दलित, मुस्लिम तथा अपाङ्गका लागि विशेषाधिकारको व्यवस्था, सहिद परिवार, बेपत्ता तथा घाइते अपाङ्ग योद्धा एवम वहिर्गमित सेनाका मागहरुको सम्बोधन, शिक्षा तथा स्वास्थ्य क्षेत्रको राष्ट्रियकरणका लागि पनि पार्टीले संघर्षका कार्यक्रम अघि बढाउने बताइएको छ ।

बैद्यले भारतद्वारा अतिक्रमित भूभाग फिर्ता, एमसीसीको विरोध, दार्चुला तुइन काण्डलगायत राष्ट्रिय स्वाधिनतासँग सम्बन्धित विषयलाई लिएर संघर्ष चर्काउने उद्द्घोस पनि गर्नुभएको छ । त्यसैगरी पहिचानसहितको संघियता, स्वायत्त शासनको मुद्धालाई सशक्त रुपमा उठाउने र संघीय संरचनाको स्वरुपबारे गहन अध्ययन गरि त्यसको खाका प्रस्तुत गर्ने बताइएको छ । यसका लागि संयुक्त मोर्चा तथा कार्यगत एकतालाई प्रभावकारी ढंगले अघि बढाउने बैद्यको योजना छ ।

टिप्पणीहरू