आफ्नै छोरी पर सर्दा « Jana Aastha News Online
Logo
१४ मंसिर २०७८, मंगलवार
|  Tue Nov 30 2021

आफ्नै छोरी पर सर्दा

प्रकाशित मिति :  ९ बैशाख २०७४, शनिबार १२:३८


  • डा. नम्रता पाण्डे

‘ए तिम्री छोरी रजश्वला भइन् ? केही थाहा पाइएन त, लुकाएनौ कि के हो ?’ आफ्नो संस्कार त मान्नुपर्छ है । छुवाछुत, पूजाआजा, घरमा दाइ थियो,  दाइसँग पनि लुकाएनौ ? भगवानको ख्याल गर्नुपर्छ, जति पढेलेखे पनि आफ्नो संस्कार छाड्नुहुन्न । मेरै परिवारका, शिक्षित, जानेबुझेका, देश/विदेश घुमेका सदस्यका प्रश्न हुन् यी ।

संयोगवश छोरीको पहिलो रजश्वला हुँदा म जापान थिएँ, उनी नेपालमा । सँगै भएर उनलाई हौसला, ढाडस, शिक्षा दिन र त्यो समयलाई रमाइलो बनाउन पाइन । जीवनमा साहै्र दुःख लागेको दिन थियो त्यो दिन मेरा लागि तर स्काइप र भाइबरमार्फत संवाद हुन्थ्यो । दुबै खुब रोएका थियौं । छोरीले पहिलो पटक असहज महसुस गर्ने, चिन्ता गर्ने क्षण आमासँगै भएको भए धेरै ढाडस हुन्थ्यो भनेर महसुस गरेका बेला मैले सँगै भए यसलाई सहज प्रक्रिया हो भनेर परामर्श दिन्थें, उत्प्रेरणा जगाउँथें प्रत्यक्ष रूपमा । यो मौका गुमाउँदा दुःख लाग्यो । तर, बाबा र दादा कुरा बुझ्ने र सहयोगी भएका कारण १÷२ दिनपछि छोरीले यसलाई सहज तरिकाले लिइन् ।

हामीले छोरीलाई कतै लगेर लुकाएनौं बरु उनको आफ्नै कोठामा सधैंझैँ आराम गर्ने, सरसफाइमा ध्यान दिने, ल्यापटप, आइप्याड्बाट यसबारे जानकारी लिने र रमाइला कुरा हेर्ने र सिक्ने तरिका सिकायौं । ४/५ दिन विद्यालय नगई आराम गर्न लगायौं । उनको मनोभावना बुझेर काम ग¥यौं । उनीसँग धेरैभन्दा धेरै समय रमाइला कुरा गरेर बितायौं ताकि यी दिन छिटो बितुन् । खाना बनाउने र अरू काम गरिनन्, आराम गरिन् तर अरू छुवाछुतमा रोक लगाएनौं र त्यसबारे बताएनौं पनि । त्यसै पनि उनी ५ वर्ष जापानको स्कुलमा पढेकी हुनाले धेरै व्यावहारिक ज्ञान पाइसकेकी थिइन्, हाम्रो समाजमा चाहिने÷नचाहिने सबै शिक्षा र अधिकारबारे बहस हुन्छन् । किताब लेखिन्छन्, सेमिनार–गोष्ठी हुन्छन् तर अत्यावश्यक र चाहिने कुराका शिक्षा दिने र जनचेतना जगाउने कामचाहिँ कमै मात्र ।

त्यसमध्ये यौन तथा प्रजनन विषयबारे खुलेर दिइनुपर्ने एउटा महŒवपूर्ण शिक्षा हो । महिनावारी महिलामा किशोरी अवस्थामा शुरु हुने प्राकृतिक प्रक्रिया हो । १०/१५ वर्षको उमेरमा शुरु हुने र लगभग ४५/५५ वर्षको बीचमा रोकिने यो प्रक्रिया स्वस्थ महिलाका निम्ति गुण अनिवार्य हो । महिनावारीपछि मात्र महिला प्रजननका लागि सक्षम हुन्छन् । तर, हाम्रो समाजमा अझै पनि महिनावारी अर्थात् मासिक धर्मलाई नकारात्मक र पापको कारणले हुने कुरा भनेर व्याख्या गर्न छाडिएको छैन । त्यसैले त छाउपडीलगायत प्रथाले महिलाको ज्यानसमेत गएका समाचार आइरन्छन् ।

महिनावारी उमेरअनुसारको प्राकृतिक प्रक्रिया हो, यस्तो समयमा परिवारका सदस्यलगायत विद्यालयमा शिक्षक÷शिक्षिका र वरपरका सबैले बुझेर सहयोग गर्नुपर्छ । यस्तो बेला मन एकाग्र नहुने, थोरै चिन्ता, डर अनि पेट दुख्नेलगायत शारीरिक असहजता हुन्छन् । १० वर्ष माथिका किशोरीले शिक्षकले पढाइरहँदा वासरुम जाऊँ है भनी सोध्दा अहिले होइन कक्षा सकिएपछि भन्ने गरिन्छ । धेरै किशोरीले महिनावारी भएको बताउँदैनन् तर उनीहरूलाई छोटो समयमा वासरुम जानुपर्ने बाध्यता हुन्छ । यसको ख्याल गरिनुपर्छ । कहिलेकाहीं धेरै पेट दुखेर बीचमै कक्षा छाडी हिँड्नुपर्ने बाध्यता हुन्छ । उनीहरूलाई खुलेर महिनावारी भएको र आफ्ना समस्या राख्न सक्ने बनाउने कहिले ?

 महिनावारी कुनै महिना ठ्याक्कै २८ दिनमै हुन्छ त कहिले २÷४ दिन यताउता र १÷२ महिना ढिलो पनि । किशोरावस्थामा महिलामा नियमित महिनावारी हुन्छ भन्ने छैन । औसतमा २८ दिनमा मासिक धर्म दोहोरिन्छ । त्यसैले महिनावरी शारीरिक रूपमा परिपक्व भएपछि महिलामा हुने प्राकृतिक प्रक्रिया हो भन्ने कुरा घरपरिवार र समाजले पनि बुझिदिनुपर्छ । वैज्ञानिक हिसाबले हेर्दा यो समयमा सरसफाइ र आराममा ध्यान दिनुपर्ने हुँदा मन्दिर,  भान्छामा नजाने आदि संस्कार बसेको हो तर मन्दिर गए, खाना पकाएर खुवाए पाप लाग्छ आदि कुरा भ्रम र सत्यता नभएका तर्क हुन् । त्यसै पनि महिनावारी हँुदा केही गर्न मन नलाग्ने, एकोहोरो भइने, मनमा डर, चिन्ता,  असहजता महसुस तथा निराशासमेत जाग्छ र कतिपय अवस्थामा हीनताबोध आउँछ । त्यसैले यस्तो अवस्थामा अभिभावकले आफ्ना छोरीलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । यो समयमा पर्याप्त सरसफाइ, उपयुक्त व्यायाम तथा सन्तुलित भोजन आवश्यक हुन्छ ।

विद्यालय र कलेजका पाठ्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यको विषय समेटिनुपर्छ । ता कि किशोरीहरूले खुलेर यसबारे जानकारी राख्न, भन्न र अरूलाई पनि सिकाउन सकुन् । महिनावारी, प्रजनन स्वास्थ्यजस्ता किताब किनेर पढ्न दिनुपर्छ किशोरी छोरीलाई । जति जानकारी भयो त्यति नराम्रा घटनाबाट जोगिन सक्छन् र नकारात्मक कुरा बाहिर आउन पाउँदैनन् । सृष्टिको शुरुवात, जीवनमा अत्यावश्यक र प्राकृतिक प्रक्रियालाई अतिरञ्जना र परम्परागत तरिकाले ब्याख्या गरिनुभन्दा सही र उपयोगी ज्ञान बाँड्नमा जोड दिइनुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाले किताब प्रकाशन गर्नेलगायत काम गरेको पाइन्छ तर यसका पाठक कमै भएको महसुस हुन्छ । यसलाई सर्वत्र जनचेतनाको रूपमा फैलाउनु जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !