आयो अध्यादेश,अब पार्टी फुटाउन २० प्रतिशत भए पुग्ने

आयो अध्यादेश,अब पार्टी फुटाउन २० प्रतिशत भए पुग्ने

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको छ । केही बेरअघि सम्पन्न क्याबिनेट बैठकले राजनीतिक दलसम्बन्धी ऐनको मौजुदा प्रावधानमा संशोधन गरी अध्यादेश जारी गरेको हो । बैठकमा कानुन मन्त्रलायका सचिव उदयराज सापकोटालाई समेत बोलाइएको थियो । सामान्यतयाः क्याबिनेटमा मुख्यसचिवको मात्र उपस्थिति रहन्छ ।

अध्यादेशमा राजनीतिक दलको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुबैतिर ४० प्रतिशत संख्या अनिवार्य हुने व्यवस्था थियो ।

नयाँ व्यवस्थासहितको अध्यादेशपछि जसपाको महन्थ ठाकुर समूहलाई सबैभन्दा धेरै राहत हुनेछ । ठाकुरलगायतका जसपा नेता शरदसिंह भण्डारी र लक्ष्मणलाल कर्णले आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सोही विषयमा लामो छलफल गरेका थिए ।

आजको क्याबिनेटले बजेट प्रतिस्थापन अध्यादेशसमेत ल्याउने निर्णय गरेको छ । अध्यादेश प्रमाणीकरणका लागि आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिने बताइएको छ ।

टिप्पणीहरू