दाइजो फर्काउने कि बेहुली ? « Jana Aastha News Online
Logo
६ जेष्ठ २०७९, शुक्रबार
|  Fri May 20 2022
Logo
६ जेष्ठ २०७९, शुक्रबार
|  Fri May 20 2022

दाइजो फर्काउने कि बेहुली ?

प्रकाशित मिति :  ९ बैशाख २०७४, शनिबार १२:२४


  • यमुना अर्याल (काफ्ले)

०७३ सालका तीतामीठा घटना सकिएर नयाँ वर्षको आगमन भएको छ । बिहेको लगन पनि धमाधम आउँदै छन् । बिहेको चटारोले आफन्तको मन भत्भती पोलिरहेको होला कसरी अरूसामु इज्जत राख्ने, कसरी अरूभन्दा कम नदेखिने, फलानोले आफ्नी छोरीको बिहेमा यति खर्च ग¥यो भने आफू किन त्योभन्दा कम देखिने, कुन पार्टी प्यालेसमा भोज खुवाउने, गरगहना कति बनाउने, कस्ता बनाउने, दाइजो कति कबोल गर्ने… आदिआदि… । भनेजति दाइजो ससुरालीले दिएनन् भने सिन्दूर हालिसकेकी बेहुली फिर्ता गर्ने, भनेजस्तो गहना, कपडा भएनन् भने बेहुला पक्षको मानमर्दन गर्ने त चलनजस्तै भइसक्यो ।

पात्र १. गत असारमा जनकपुरमा बसोबास गर्ने डा. प्रसान्त शर्माले बिहेको निधो गरी केटी पक्षबाट दाइजोको रूपमा ६० लाख अग्रिम लिए । बिहेको मिति नजिकिँँदै जाँदा डाक्टर फरार भए । प्रशान्तका बाबुले समेत छोराको अत्तोपत्तो नपाएको बताएपछि माइतीपक्षको साठी लाख बेपत्ता भयो ।

पात्र २. गत असार महिनामै सुनको औंठी ससुरालीबाट दाइजो नपाएको निहँुमा रौतहटकी २२ वर्षीया लवकुमारी जयसवाललाई मानसिक सन्तुलन बिग्रिएको भन्दै घरनिकाला गरियो । ल्यापटप, एसी, ४० इञ्चको एलईडी, सुनको सिक्री, औंठीलगायत गरगहना दाइजोस्वरूप पाइसकेको भए पनि पोखराज जडित औंठी नल्याएको निहुँमा बिहे गरेको तीन महिनामै इञ्जिनियर पति नवीन साहले श्रीमतीलाई घरनिकाला गरे । विवाहअघि कबोल भएअनुसार काठमाडौंमा घडेरी किन्न केटीका बाबुले केटाका बाबुलाई १६ लाख नगद दिएका थिए । उक्त रकमबाट साहले काठमाडौंको बालाजुमा घडेरी किनिसकेका छन् । ससुरालीले यति गर्दा पनि उनको चित्त बुझ्न सकेन ।

पात्र ३. गत जेठमा वीरगञ्जका सुवास साहले ससुरालीले कबोल गरेअनुसार १३ लाखमध्ये दुई लाख रूपैयाँ नदिएको भन्दै श्रीमती राधादेवी साहको हत्या गरे ।

पात्र ४. गत माघ ९ गते महोत्तरी बर्दिवासका रामप्रसाद कापरकी छोरी अमृताको बिहे भयो । रामप्रसादले सम्धीलाई दाइजोस्वरूप १ लाख ६० हजार नगद र ज्वाइँलाई १ लाख ९० हजार पर्ने मोटरसाइकल दिए । बेहुलापक्षले मागेको लैनौ भैंसी अहिले दाइजोस्वरूप दिन नसक्ने, अर्को वर्ष दिने बताएपछि सिन्दूर हालेकी बेहुलीसमेत फिर्ता गरे । माइतीघरबाट अन्मन लागेकी अमृताको सिउँदो एकैछिनमा पुछियो । एकातिर छोरीको सिउँदो पुछियो अर्कातिर जग्गा बेचेर जोहो गरेको रकमसमेत डुब्यो । बेहुलापक्षले बेहुली मात्र फिर्ता गरे, अग्रिम पाएको दाइजो पचाए । एउटा गरिबले पाँच लाख खर्च गरिसकेर बाँकी दाइजो अर्को साल दिने कबोल गर्दासमेत छोरीको बिहे हुन सक्दैन भने योभन्दा विडम्बना के हुन सक्ला ?

पात्र ५. तरार्ईकै एक युवाले सुनको औँठी नपाउँदा बिहे रद्द गरिएकी एक युवतीलाई विनादाइजो बिहे गरे । उनको यो कदमलाई तरार्ईमा मात्रै होइन, देशभर चर्चाको विषय बनाइयो । माथिका चार प्रतिनिधि पात्रले बेहुली नभई दाइजो चाहे, आफ्नी जीवनसाथीभन्दा टन्न सम्पत्तिमा उनीहरूको आँखा लोभियो अन्ततः बिहे हुन ठिक्क पारिएका, बिहे गरेर घरमा भिœयाएका र भिœयाउने तयारीमा रहेका बेहुली फिर्ता गरिए, यातनाको शिकार बने र अन्त्यमा श्रीमान्कै हातबाट मृत्युवरण गर्न पुगे । अर्का एक पात्रले दाइजोलाई बेहुलीसँग तुलना गरेनन्, उदाहरणीय काम गरेर देखाउने अठोट गरे अन्ततः उनले दाइजो त्यागे र बेहुली रोजे ।

अहिले खासगरी तरार्ई भेगको कुरा गर्ने हो चार नम्बरसम्मका पात्र हाबी छन्, पाँचांै नम्बरको पात्र भेट्टाउन हम्मेहम्मे पर्छ या भनौं पाउनै मुश्किल छ । अवस्था सधैं एकैनासको पनि रहँदैन, तरार्ईकै एक भेगमा दाइजोविरोधी अभियान जोडतोडसाथ चलिरहेको छ । यो अभियानले भोलिको शुभ समाचारको संकेत दिइरहेको आभाष भइरहेको छ । रौतहटमा चलाइएको ‘दाइजो प्रथा बन्द अभियान’ले दाइजो दिनेलाई जरिवाना र लिनेलाई फिर्ता गर्ने सशक्त कार्यको थालनी गरिसकेको छ । उक्त अभियानले २ लाख ५० हजार दाइजो मागी बिहे गराएका लमी शेख मुस्तफालाई सामाजिक कारबाही गरी ५० हजार जरिवानासमेत गरिसकेको छ । दाइजो लिएको कुरा थाहा पाएपछि जिल्ला प्रशासन र जिल्ला प्रहरीको रोहबरमा विवाह रोकियो । केटापक्षले दाइजो लिएको रकम फिर्ता गरी सोही युवतीसँग दाइजोरहित विवाह गरे र समाजमा नयाँ उदाहरणको थालनी गरे ।

फागुन पहिलो साता रौतहटमा मुस्लिम समुदायले छोराको बिहेमा लिएको दुई करोडभन्दा बढी दाइजो रकम फिर्ता गरेको समाचार सार्वजनिक भयो । मुस्लिम समुदायमा दाइजो लिनेदिने कार्य विस्तारै बन्द हुँदै गएको झल्को दिन्थ्यो यो समाचारले । स्थानीय मुस्लिम समुदायका अगुवा दाइजोविरोधी अभियानमा एकजुट भएपछि चार महिनाको अवधिमा दुई करोडभन्दा बढी रकम फिर्ता भइसकेको छ । कात्तिकदेखि सञ्चालित अभियानमा करिब सय जनाबाट रकम फिर्ता भएको तिलक दहेज बन्द अभियान समिति रौतहटका जिल्ला सदस्य मो. जिकुरउल्लाहले सार्वजनिक रूपमा बताएका छन् । दाइजो प्रथाको विकृति बढ्दै जाँदा मुस्लिम समुदायका महिलाले भोगेका मानसिक पीडा, घरेलु हिंसा, यातनाबाट प्रताडित भएपछि अन्त्यमा आत्महत्याको बाटो रोज्ने बाध्यताकै कारण दाइजो प्रथाबारे जनचेतना बढाइएको अगुवाले बताएका हुन् । दाइजो लेनदेनका गतिविधि रोक्न स्वयं मुस्लिम महिला नै सक्रिय भएका छन् । दाइजो बन्द गराउन जिल्लाको सबै गाविसमा समिति गठन भएका छन् ।
ससुरालीसँग बिहेमा तरार्ईमा जस्तो कडिकडाउसाथ दाइजो माग्ने चलन शहरमा देखिँदैन । यसको अर्थ यो होइन कि शहरमा दाइजो प्रथा नै छैन । तराईमा भन्दा डरलाग्दो अवस्था शहरमा देखिन्छ । मुखले चाहिँदैन भन्न नसक्ने यति नै चाहिन्छ भनेर मुख फोर्न पनि नसक्ने अवस्था शहरिया युवामा देखिन्छ । यसर्थ, बिहेको अघिल्लो दिन नै बेहुली पक्षले केटापक्षको घर सजिसजाउ पारिसकेका हुन्छन् । गाउँले युवतीले शहरिया युवालाई मन पराएर शहरमा बिहे गर्ने काम धेरै खर्चिलो छ या भनांै गाउँले बाउआमाको बुताले भ्याउँदैन । झट्ट केटाले मलाई यतिको जीवनसाथी भए पुग्छ भनेजस्तो गर्छन् भित्रभित्रै जसरी हुन्छ केटीका माइती चुस्ने पक्षमा लागिपर्छन् प्रत्यक्ष देखिएका घटना हुन् यी ।

अब यसो गरौँ न

अहिलेको सभ्य–शिक्षित र जानकार युवा पुस्ताले आँट गरेर भन्न सक्नुपर्छ, मलाई सक्षम, शिक्षित र योग्य युवती चाहिन्छ, दाइजो नलिइकनै बिहे गर्न राजी छु । युवतीले पनि भन्न सक्नुपर्छ– टन्न सुनचाँदीले छाउने पैसावाला भन्दा इमान्दार, सक्षम र मनको धनी श्रीमान भए काफी हुन्छ । ससुरालीले आँट गर्न सक्नुपर्छ आफ्नो हुनेवाला ज्वाइँ इमान्दार, आफ्नो कमाइमा बाँच्न सक्ने र धनको घमण्ड नगर्ने खालको होस् । सासु–ससुराले भन्न सक्नुपर्छ घर गरेर खाने, बुढेसकालमा आफूहरूको रखवारी गर्न सक्ने र आफै केही गर्नुपर्छ भन्ने हिम्मत भएकी बुहारी भए पुग्छ दाइजोको कुनै लोभ लालचा छैन । समाजले भन्न सक्नुपर्छ जसले तडकभडक गरेर खर्चिलो बिहे गर्छ उसलाई समर्थन होइन बहिष्कार गर्ने हो, खर्चिलो बिहे गर्नेको आर्थिक स्रोतको पनि खोजी गरिनुपर्छ । कम्तीमा यति कुरा सबैले पालना गर्ने हो भने दाइजोको निहुँमा जे–जति ज्यादति भइरहेका छन्, ती सदाको लागि अन्त्य हुने थिए र साँच्चिकै लोभलाग्दो घरपरिवार अनि समाज निर्माण हुने थियो ।


प्रतिक्रिया दिनुहोस !