नाक खुम्च्याएर कामै छैन सर !

  • तीर्थ सिग्देल

अब मान्छे हिँड्न आकाशे पुलको आवश्यकता छैन । किनभने हिँडेर मात्र धेरै काम गर्न सकिन्छ भन्ने हैन । अबको समय प्रविधि र प्रचारको हो । मान्छेले एउटा कोठामा बसेर पनि धेरै काम गर्न सक्छ । त्यसका लागि बाटो काटेर वारपार गरिरहनुपर्छ भन्ने अनिवार्य पनि छैन । यतिबेला मान्छेले विकास भनेको आकाशे पुल हो भन्ने गरेको सुनिन्छ । तर, वास्तविकता त्यस्तो मात्र होइन ।

अति विकसित र विकासोन्मुख मुलुकका मान्छे सडकमा धेरै हिँडेको देखिँदैन । प्रायःजसो गाडीमै सयर गर्छन् उनीहरू । उनीहरूसँग प्राइभेट कार हुन्छ । सम्पूर्ण आवश्यकता सरकारले घरैमा पु¥याइदिएपछि धेरै हिँडिरहनु पनि परेन । बिजुली नजाने भए पनि अन्य सबै काम गर्न समस्या भएन । खानेपानी, ग्यास, टेलिफोनजस्ता अत्यावश्यक चिज आफ्नै कोठामा आइपुगेपछि त्यसका लागि न लाइन लाग्नुपर्ने, न पाइएन भनेर तड्पिनुपर्ने ।

केपी ओलीले घरघरमा पाइपबाट ग्यासको कुरा गर्दा मान्छे हाँसेनन् मात्र उडाए पनि । संसारका अधिकांश देशमा यस्तो प्रयोग भइसकेको छ । हाम्रो देशमा जस्तो सडकमा बिजुलीका तार नदेखिकन मर्ने देशका मान्छे पनि छन् । सबै बिजुली अण्डरग्राउण्ड भएपछि हावाहुरीले पोल ढालेर बिजुली गयो भनी काम रोक्नुपर्ने स्थिति पनि आएन । र,त्यही बहानामा बिजुलीका कर्मचारीले जागिर पचाउने त कुरै भएन ।

अब नयाँ नयाँ शहर बसाउनु पर्छ । पुराना शहरको मर्मत र सम्हार गर्दा सरकारको खर्च धेरै हुन्छ । त्यतिमात्र होइन,नयाँ शहर र बस्ती बसाउदा नयाँ नयाँ शैलीको प्रयोग गर्न सकिन्छ । तर, हाम्रो देशका योजना उल्टा छन् । बल्ल तल्ल हाउजिंग र जग्गा प्लानिंग कम्पनीहरूले नयाँ शहरको बिकास गर्दैथिए । सरकारले यसमा रोक लगाउँछ । कि त सरकार आफै बनाउनु की निजी कम्पनीले गरेको काममा सहयोग गर्नु नि !

नेपाल कृषिमा आत्मनिर्भर मुलुक थियो । तर, यो पहिचान बिस्तारै मेटिँदै गएको छ । यसो हुनुमा सरकार नै दोषी छ, किनभने उसले नै हो योजना बनाउने, कुन जमिन बस्तीका लागि हो र कुन खेतीका लागि हो छुट्याउने ।

प्रगतिको रफ्तारमा अगाडि बढ्दै गरेको श्रीलंकाबाट पनि केही कुरा सिक्न सक्छौं । त्यहाँ एउटा पनि नदीनाला छैन । तर, उसले वैकल्पिक प्रविधि उपयोग गरेर हावाबाट बिजुली निकाल्छ । बिजुली किन्नुपरेको छैन । माछा बेचेर देश बनाउँदै छ । खोइ हामीसँग के छ ? हाम्रो देशले विदेशमा के बेच्दै छ ?
बल्ल अलिअलि रेमिट्यान्स आउँदै थियो, त्यसमा पनि सरकार नै देखिसक्दैन । एउटा नेपालीले आज चाह्यो भने कुन देश सहजै जान सक्छ ? अहँ, पाउँदैन । जबसम्म मान्छेले सहज रूपमा घुमफिर गर्न सक्दैन, उसमा चेतना कहाँबाट आउँछ ?

भर्खरै सरकारले खाडी मुलुक जाने भिजिट भिसामा प्रतिबन्ध लगायो । ठीक छ, गलत काम रोक्नुपर्छ । तर यसो भन्दैमा सबैलाई सास्ती दिने काम हुनुहुँदैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरकारमातहत छ । त्यहाँबाट गलत काम हुन्छ भने त्यो रोक्ने काम सरकारको होइन ?
काम सिक्न टाढा जानै पर्दैन । भारतको सानो तर सुन्दर राज्य छ, गोवा । पर्यटन मात्र आम्दानीको स्रोत हो । ऊ भारतमै ठूलो प्रगतिको मानक बनेको छ । उसको राज्यमा उद्योग व्यवसायमा कर लाग्दैन । हामी सधँै भारतको विरोध मात्र गर्छौं । उसले गरेको प्रगतिको आकलन गर्दैनौं किन ?

आज हाम्रो देशको अर्थतन्त्रको भार थाम्ने रेमिट्यान्स भिœयाउने दुबई, कतारको के कुरा गर्नु ? कोही युवा दुबई, कतार गयो भने गाउँमा नाक खुम्च्याउने मान्छे हुन्छन् । तर, ती देशले गरेको प्रगतिलाई कसले नियाल्ने ? दुबईले सन् २०२२ मा इन्टरनेशनल एक्स्पो गर्दै छ । आजसम्म जेजति काम भइरहेका छन्, ती अधिकांश कन्स्ट्रक्सनसम्बन्धी छन् । एक्स्पोका लागि धमाधम होटल बन्दै छन् । समुद्रभित्र शहर बसाउने दुबई सरकारका धेरै योजना पूरा भइसकेका छन् ।

छि, कतार ? भनेर हेप्छौं । तर, कतारले गरेको प्रगतिलाई नियालेका छैनौं । कतारले पनि दिगो विकास र स्थायित्वका लागि धमाधम निर्माणका काम गरिरहेको छ । सन् २०२० मा विश्वकप गर्दै छ । त्यसका लागि वर्षौंदेखि रंगशाला बनाइरहेको छ । त्यो खेल सम्पन्न गर्न सके कतारको बजार हालको भन्दा असंख्य वृद्धि हुने र मुलुकले कायापलट गर्नेछ । खोइ हामीले अरूबाट सिकेको ?

यतिबेला हामी स्थानीय निकाय चुनावको संघारमा छौं । मुलुकमा संघीयताको अभ्यास शुरु भएको छ । स्थानीय निकायको चुनाव भए मुलुकले धेरै ठूलो फड्को मार्नेछ, भनेको सुनिन्छ । तर, स्थानीय विकासको एजेण्डा खोइ त ? कोसँग छ, त्यस्तो एजेण्डा ?

कृष्णप्रसाद भट्टराईले काठमाडौंलाई सिंगापुर बनाउँछु भन्दा जनताले चुनावमा हराए । आज त्यति नजिकको मेलम्चीको पानीका लागि छट्पटाइरहेका छौं । हामीले गौरवका आयोजनाको पहिचान त ग¥यौं तर कार्यान्वयनमा ध्यान दिएनांै । आज धन्य जनार्दन शर्मा र कुलमान घिसिङ निस्किए । यो काम गर्न हिजोसम्म कसले रोकेको थियो ?

स्थानीय निकायको चुनाव भएमा स्थानीय सरकारले धेरथोक गर्न सक्छन् । मेची–महाकाली रेलको सम्भाव्यता अध्ययन हुँदै छ, तिनै निकायले आफंै मेट्रो रेल चलाउन सक्छन् । त्यस्तो रेल त के मोनो रेल नै कुदाउन पनि सक्छन् ।

तर, कुरा गरेर मात्र त के हुन्छ र ? काम पनि गर्नुपर्छ । काम गर्नचाहिँ योजना चाहिन्छ । योजना मात्र भएर हुँदैन दह्रो प्रतिबद्धता चाहिन्छ । काम होइन, यसरी कुरा मात्र गर्ने हो र आफ्नो देश समृद्ध नबनाउने हो भने अझै कतिसम्म पछि परिरहने ? ५० लाखभन्दा बढी नेपाली कामका लागि विश्वभर छरिएको बेला सरकारले १० हजार मात्र बेरोजगार युवालाई देख्छ भने अब ती नेपाली किन स्वदेश फर्किउन् ? आज मुलुकमा स्थायित्व हुने आशामा अरूको देश बनाउँदै गरेका नेपालीलाई आफ्नै देश बनाउने सपना सँगाल्न कति समय लाग्ने हो ?

टिप्पणीहरू