किन बारम्बार मेलम्चीमा बाढी आइरहेको छ ?

किन बारम्बार मेलम्चीमा बाढी आइरहेको छ ?

सिन्धुपाल्चोकस्थित मेलम्ची र त्यस वरपरको क्षेत्रमा बाढी आइरहनुमा जलवायु परिवर्तन मुख्य कारण रहेको विज्ञहरुले बताएका छन् । मेलम्ची र त्यस वरपरको भौगर्भिक अवस्थाबारे अध्ययन गर्न गएका विज्ञहरुको टोलीले जलवायू परिवर्तनका कारण त्यस क्षेत्रमा विपद आइपरेको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

भूगर्भविद् डा. राजनकुमार दाहालले तापक्रममा ह्वात्तै बृध्दि भएका कारण त्यस क्षेत्रमा बाढीको विपत्ति आइपरेको अनुसन्धानको क्रममा पाएको जानकारी दिनुभयो । उहाँले माईनस १२ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा जलवायु परिवर्तनका कारण ५ डिग्री सेल्सियस तापक्रम हुन जाँदा सो भूगोल पहिरो र बाढीको चपेटामा परेको स्पष्ट पार्नुभयो । मेलम्ची र हेलम्बु क्षेत्रमा देखिएको समस्या तत्काल समाधान हुने अवस्थामा नरहेको भन्दै भूगर्भविद् दाहालले सचेत पनि गराउनु भयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले हालसम्मका ज्ञान,विज्ञान र स्थानीय अनुभवको आधारमा त्यस क्षेत्रको भूगोलको अध्ययन शुरु गरिएको बताउनु भयो । उहाँले ती क्षेत्रहरुको जोखिम न्यूनीकरणका लागि आगामी हिउँदसम्म विस्तृत कार्ययोजना ल्याउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आगामी हिउँदभित्र हेलम्बु र मेलम्चीको बाढीग्रस्त क्षेत्रमा सवारी साधन चल्ने गरी आवश्यक व्यवस्था मिलाउने दावी गर्दै निरास नहुन स्थानीयलाई आग्रह गर्नुभयो । उहाँले मेलम्ची र हेलम्बु क्षेत्रको विपद् व्यवस्थापनका लागि आवश्यक कार्यक्रम तत्काल तयार गर्न सरकारको पनि गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

सरकारले मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीसहितको विपद् आउनुको कारणबारे अनुसन्धान गर्न विज्ञहरुको टोली गठन गरेको थियो । टोलीले स्थलगत अवलोकन गरी तयार पारेको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा तत्काल बाढी,पहिरोको समस्या समाधान हुने अवस्था नरहेको उल्लेख गरिएको छ ।

टिप्पणीहरू