महिलाले आरोप लगाउने बितिक्कै बलात्कारी ?

महिलाले आरोप लगाउने बितिक्कै बलात्कारी ?

बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट त्यहाँको समरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला “बब्लु“ लाई फोन गयो । प्रहरी कार्यालयको फोनसँगै उनी छाँगाबाट खसेझैँ भए । केही दिन अगाडि मात्रै गाउँपालिकाले वितरण गरेको कृषि सामाग्री वितरणको क्रममा सामाग्री नपाएकी एकजना महिलाले शुक्लालाई जबरजस्ती करणी उद्योगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी थिन् । त्यही उजुरीको आधारमा प्रहरीले शुक्लालाई पक्राउ पूर्जी जारी गरेको बताइन्छ । प्रहरीले तपाईंबिरुद्ध बलात्कार अभियोग छ, प्रहरीमा आउनुपर्यो भन्ने खबर गरेपछि शुक्ला झस्किएका हुन् ।

गाउँपालिका अध्यक्ष शुक्लालाई प्रहरीले खबर गरेसँगै उनी जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । तर त्यहाँ पुग्दा माहौल अर्कै भइसकेको बताइन्छ । अदालतबाट बलात्कार प्रमाणित भएका व्यक्ति पक्राउ परेझैँ सामान्य निवेदनकै भरमा उनीबिरुद्ध मुद्दा दायरसमेत गरिसकिएको थियो ।

निवेदक महिला कसैको उक्साहटमा लागेर निवेदन दिएको रहस्य त्यसपछि खुलेको बताइन्छ । निवेदक महिलाले गाउँकै अर्का एक जनासँग फोनमा कुरा गर्दै आफूलाई शुक्लाविरुद्ध बलात्कार मुद्दा हाल्न अरुले जबर्जस्ती लगाएको कुराको बेलिबिस्तार जनआस्थालाई प्राप्त भएको छ । उनले फोनमा भनेकी छन्, ‘म बब्लुको घरमा गएकी थिएँ, तर उनी त्यहाँ थिएनन्, उनीसँग भेट नै भएको छैन ।’

पिडीत भनिएकी ती महिलाले आफूलाई शुक्लाबिरुद्ध मुद्दा हाल्न अरुले सहयोग गरेको कुरासमेत रेकर्डेड फोनमा सुन्न सकिन्छ । समरिमाई गाउँपालिका-१ करौता पकडियामा नल्का, पम्पसेट, स्प्रे टङ्की वितरण गर्दा मुस्लिम समुदायकी ती महिलाले उक्त सामान प्राप्त गर्न सकेकी थिइनन् । वडाले बनाएको मापदण्डअनुसार पालिका अध्यक्ष उपस्थित भएर वितरण गरिएको थियो । सोही समयमा आफूलाई किन नदिएको भन्दै हल्ला गरेकी उनै महिलालाई शुक्लाका विरोधीहरूले उनीविरुद्ध प्रयोग गर्न जाल बुनेको बताइन्छ ।

विरोधीहरूले कृषी सामाग्री नपाएपछि सबैको अगाडि हल्ला गरेकी महिलालाई उपयोग गरेर शुक्लालाई फसाउने योजना बनाएको स्रोतले बताएको छ । त्यही योजना मुताबिक करिब दुई महिनापछि शुक्लालाई भेट्न ती महिलालाई उनको घर पठाइएको रहस्य हिजो खुलेको छ । संयोगवश जुन दिन ती महिला घरमा पुगिन् त्यतिबेला शुक्ला घरमा थिएनन् । योजनाअनुसार शुक्ला घरमा भएको भए ती महिला त्यहाँ गएको केही बेरमा चिच्चाउने, गुहार माग्ने, आफ्नो कपडा च्यातेर बलत्कार गर्याे भनेर हल्ला गर्ने अनि उनका बिरोधीहरू गाउँले र प्रहरी लिएर शुक्लाको घर पुग्ने पूर्वयोजना बनाइएको खुलेको छ ।

त्यसपछि उनी स्वतः बलात्कार अभियोगमा फस्ने थिए । तर, शुक्लासँग भेट नभएको हुँदा उनीहरूको योजना विफल भएको हो । त्यसपछि उनीहरूले अर्काे योजना बनाएको बताइन्छ । अब पालिका अध्ययक्षले महिलालाई यौन दुव्र्यवहार गरेको विषय मुद्दा चर्काउने । किनकी यौन दुव्र्यवहारको लागि कुनै प्रमाण चाहिँदैन । महिलाले आफूलाई दुव्र्यवहार गर्याे भनेपछि कुनैपनि पुरुषको लागि काण्ड पुग्ने अहिले रुपन्देहीमा भएको घटनाले उजागर गरेको छ ।

विपक्षीहरूले तिनै महिलालाई त्यहि पढाउँदै र सिकाउँदै शुक्लाविरुद्ध यौन दुव्र्यवहारको निवेदन लिएर प्रहरीकोमा पठाएको बताइन्छ । मर्चवारमा राजनीतिक हिसाबले एकछत्र राजनीति गरिरहेका शुक्लालाई जतिबेला प्रहरीले जबर्जस्ती करणी उद्योगको मुद्दामा बोलायो, त्यतिबेला भने उनी झस्किन पुगेका हुन् । जुन महिलासँग भेटसमेत भएको छैन, तीनले लगाएको आरोपभन्दा, महिलाले उजुरी दिएकै भरमा निवेदन र मुद्दा दर्ता गरिनु प्राकृतिक न्यायको सिद्धान्तविरुद्ध हुने शुक्लाको टिप्पणी छ । शुक्लालाई रुपन्देही प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा राखेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी सत्यनारयण थापाले बताउनुभएको छ ।

यस्तै प्रकृतिको अर्को घटना पनि हेरौं

दुई वर्ष अगाडि पनि एकजना किशोरीले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनले तत्कालीन प्रेस चौतारी गुल्मी जिल्ला अध्यक्ष शिवलाल सुवेदीविरुद्ध उजुरी हालेकी हुन् । ती किशोरीको उजुरीका आधारमा प्रहरीले सुवेदीलाई जबर्जजस्ती करणी उद्योगमा मुद्दा चलाइएको थियो । पछि उनले अदालतबाट सफाई पाए, तर सामाजिक सञ्जाल र मिडियामा बलात्कारी भनेर व्यापक प्रचारबाजी भयो । सफाई पाएको डेढ वर्ष बितिसक्दा समेत उनी अहिलेसम्म मानसिक तनावमा छन् ।

एमालेको राजनीतिमा सुवेदी गुल्मीमा प्रभावशाली र राजनीतिक हिसाबले बलियो रुपमा स्थापित हुँदै गएको उनकै पार्टीभित्रका केहीलाई समेत मन परेको थिएन । विपक्षीलाई मनपर्ने त झन् कुरै भएन । पछि सामान्य विवादलाई बलात्कार मुद्दासम्म पुर्याउन गुल्मीकै शिव विरोधीहरूले ती किशोरीलाई गलत ढंगले प्रयोग गरे । यहाँसम्म कि सुवेदीलाई फसाउन ती किशोरीलाई ठूलो आर्थिक लगानी समेत गरेको रहस्य खुलेको थियो ।

राजनीतिक स्वार्थका कारण सुवेदीका विपक्षीहरूले ती किशोरीलाई प्रयोग गरी जबर्जस्ती बलत्कार अभियुक्त बनाएरै छाडे । क्याम्पिङ नै गरेर नियोजित रुपमा विभिन्न शीर्षकमा सुवेदीलाई बलात्कार मुद्दा भन्ने विषयलाई मिडियामा प्रचारबाजी गरियो । उनको हदैसम्मको बदनाम गरियो । बलात्कारी झैँ हल्ला पिटाइयो, साँच्चिकै बलात्कार गरेझैँ उनलाई नङ्ग्याउने कोशिस गरियो । पछि अदालतबाट उनले बकायदा सफाई पाए ।

यी दुई घटना प्रतिनिधिमूलक मात्रै हुन् । नेपालमा हिजोआज कुनै पनि पुरुषलाई कुनै पनि महिलाले यौन दुव्र्यवहार गर्यो भनेर प्रहरीमा उजुरी दिए मात्रै पनि उसलाई प्रहरीले पक्राउ गर्ने, अनुसन्धानको नाममा २५ दिनसम्म थुनामा राख्न पाउँछ । यस्तो घटनामा ९९ प्रतिशतले अदालतबाट सफाई पाउँछन् तर त्यत्तिञ्जेलसम्ममा उनीहरूको बदनाम भइसकेको हुन्छ ।

समाजमा बलात्कारी भनेर प्रचारबाजी समेत गरिन्छ । प्रहरीले पनि ठूलै अपराधी पक्राउ गरे झैँ प्रचार गर्दछ । खासमा प्रहरीले कुनैपनि मुद्दामा पक्राउ गरेको व्यक्तिको विषयमा अदालतले अभियुक्त ठहर नगर्दासम्म विवरण सार्वजनिक नगर्नुपर्ने हो । तर, कानुनविपरित प्रहरीले सूचना जारी गर्नुले कतिपयको चारित्रिक उठिबास भइसक्छ ।

बिनाप्रमाण रिस, आवेग र उत्तेजनाको भरमा कुनै पनि महिलाले कुनै पनि पुरुषलाई यौन दुव्र्यवहार गरेको भन्ने व्यहोराको उजुरी दिँदैमा प्रहरीले पक्राउ र हल्ला गर्दै जाने हो भने नेपालमा प्रहरी हिरासतस्थलको संख्या प्रत्येक वडामा बनाउनु पर्ने देखिन्छ । किनकी महिलाले यौन दुव्र्यवहार गर्यो भनेर उजुरी दिए मात्रै पुग्छ, कुनै प्रमाण नै चाहिँदैन ।

यस्तो गलत नजिर स्थापित हुँदै जाने हो भने भोलिका दिनमा कोही पनि जोगिने स्थिति देखिँदैन । प्रहरीका हाकिमलाई नै कुनै पनि महिला प्रहरी वा सेवाग्राही महिलाले उजुरी हालेमा पनि ती प्रहरी हाकिम समेत पक्राउ पर्नुुपर्ने हुन्छ । मन्त्रीदेखि पियनसम्म, सामाजिक अभियन्तादेखि जनप्रतिनिधिसम्म कोही पनि दुराशय भावना राख्ने महिलाहरूसँग डराई डराई हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ ।

महिलाले प्रहरी सामु दिने बयान र उजुरीलाई प्रमाणको रुपमा लिइने यसखाले मुद्दाले विकृति पैदा गर्न थालेको छ । कुनैपनि महत्वाकांक्षी महिलाले आफ्नो स्वार्थ पूरा नभएमा जुनसुकै पुरुषलाई सहजै फसाउन सक्ने अवस्था देखिन थालेको छ । यस्तो घटनाले वास्तविक रुपमा यौन हिंसामा पर्ने र परेका महिलाहरूले सहजै न्याय पाउन पनि मुश्किल हुनेछ ।

टिप्पणीहरू