दुःखी दिदीबहिनीलाई थप दुःख दिने प्रकरणः विमानस्थलबाट जब १३ जना मात्र बुझाइए

दुःखी दिदीबहिनीलाई थप दुःख दिने प्रकरणः विमानस्थलबाट जब १३ जना मात्र बुझाइए

पोलिँदा १ सय १९, बुझाइँदा १३ जना ! अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विसंगतिमाथि प्रहार गर्दै जाँदा यस्तो भएको हो । भिजिट भिसाका नाममा नेपाली युवतीहरूलाई विभिन्न खाडी मुलुकमा निकृष्ट श्रमका निम्ति पठाइने विषयमा मानव बेचबिखन सरहको कसुर लगाउने सरकारको नीति छ । तर, अध्यागमन र विमान कम्पनीका कर्मचारीसम्मको मिलेमतोमा गैरकानुनी लाभ लिएर ती काम जारी भएपछि अख्तियार टोली विमानस्थल छिरेको थियो ।

सामान्य सुराकका आधारमा अख्तियार छि¥यो, तर भित्र गएपछि सयौँ मानिस यस्तो धन्दामा संलग्न भएको भेटियो । यहीअनुसार अख्तियारको टंगाल मुख्यालयमा प्रतिवेदन पनि पेश भयो । तर, मुद्दाचाहिँ केही व्यक्तिलाई मात्र चल्यो । विशेषतः उच्चपदस्थ र पहुँचवाला कर्मचारी अनुसन्धानको दायरामा परेनन् ।

विशेष अदालतले अख्तियारकै निर्णयमा टेकेर पेश नगरिएका प्रतिवादी र तीमाथिको अभियोगपत्रबारे सोधखोज गरेपछि अहिले अख्तियारलाई अप्ठेरो परेको छ । यो मुद्दा नविन घिमिरे प्रमुख आयुक्त हुँदाको हो । तर, त्यहाँ हाल प्रेम राई प्रमुख छन् । अख्तियारले यस्तो गैरकानुनी लाभ लिएर नेपाली युवतीलाई विदेश पठाउने गिरोह पहिचान गर्दा त्यहाँका महानिर्देशक थिए, सागर आचार्य । तर, उनीमाथि कुनै कारवाही भएन । बरु, पुरस्कृत गरेर सिडिओका रुपमा तनहुँ पठाइयो । त्यहाँ पुगेर उनले ओलीसत्ताको कतिसम्म भक्तिभाव दर्शाए भन्ने कुरा ‘उद्घाटन काण्ड’ बाट बुझ्न सकिन्छ ।

गत मंसिरमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल ऋषिङ गाउँपालिका– १, १० र ११ नम्बर वडा जोड्ने पुल उद्घाटन गर्न पुग्नुभएको थियो । तर, उहाँलाई सो पुल उद्घाटन गर्न नदिई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगियो । यो काम गर्ने सिडिओ उनै सागर थिए । केन्द्रदेखि नै यो घटनाको व्यापक विरोध भयो र केही दिनपछि नेता पौडेल त्यहीँको झापुटारमा सभाहलको शिलान्यास गर्न पुग्नुभयो ।

अध्यागमनमा छँदा गैरकानुनी लाभ लिएर गरिएको काममा सागरले उन्मुक्ति पाए पनि अध्यागमन अधिकृत कमल पराजुली भने पक्राउ परे । उनको बयानका आधारमा महानिर्देशक सागरसहित मित्रलाल लम्साल, सुरेश श्रेष्ठ, युवराज परियार, यामबहादुर बुढामगर, मोहन केसी, वायुसेवा निगमका कर्मचारी भानुभक्त कँडेलसहित अन्य व्यक्ति समेत संलग्न देखिएको निर्णयमा अख्तियार पुग्यो । अख्तियारले ०७६/०७/०४ मा गरेको निर्णयअनुसार ‘सोउपर छुट्टै अनुसन्धान गरी प्रचलित कानुनअनुसार गर्ने’ भनिएको छ ।

तर, अहिलेसम्म कारवाही प्रक्रिया अगाडि बढाइएको छैन । शुरुमा त पक्राउ परेका कमल पराजुलीले प्रहरीले जबरजस्ती बयान लिएको भनी अदालतमा बयान दिएका थिए । पछि विशेष अदालतले अख्तियारको अनुसन्धान अधिकृत तोकिएका डिएसपी शिवराज बुढाथोकी र सुकदेव पौडेललाई नै बोलाएर बुझ्यो । त्यसरी प्रमाण बुझेपछि १३ जनामाथि मुद्दा चलेको छ ।

पक्राउ परेका व्यक्तिहरूको फोन सम्पर्क र म्यासेजका आधारमा जम्मा १ सय १९ जनाको मिलेमतोमा काम भएको देखिन्छ । यो मुद्दाको पेशी साउन १० गते थियो ।

टिप्पणीहरू