नेपाल वायुसेवासँगै नागरिक उड्डयनका कर्मचारीहरु पनि आन्दोलित

नेपाल वायुसेवासँगै नागरिक उड्डयनका कर्मचारीहरु पनि आन्दोलित

राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेश भएको नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ को विरोधमा नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले प्राधिकरणलाई टुक्राएर कमजोर नियमन निकाय बनाई स्वार्थपूर्ति गर्ने उद्देश्यले विधेयक ल्याइएको भन्दै आन्दोलनमा उत्रनुपरेको बताएका छन् ।

आन्दोलनकारीहरुले मुलुकको हवाई सेवा हवाई माफियाहरुको चंगुलमा पर्नबाट रोक्न र हवाई यात्रुहरुले महँगो हवाई भाडा तिर्न बाध्य भइरहेको बेलामा नियमनकारी निकाय झन् कमजोर हुँदा मुनाफाखोरीको आत्मबल बढ्न गई यात्रुहरुले थप व्ययभार व्यहोर्नुपर्ने भएकाले आफूहरु आन्दोलनमा उत्रनुपरेको समेत भन्न भ्याएका छन् ।

हवाई क्षेत्रको मापदण्ड तथा यसअघिका शिफारिसहरुको कार्यान्वयन फितलो भएको कर्मचारीहरुले बताएका छन् । वायुयान दुर्घटना जाँचलाई स्वतन्त्र स्थायी दुर्घटना जाँच आयोगको गठन गरी सोकोस्तरमा समेत अभिवृद्धि गर्न सकिने तर हालसम्म त्यसो नगरिएको भन्दै उनीहरुले आरोप लगाएका छन् ।

अन्य राष्ट्रको तुलनामा नेपाल जस्तो हवाई गतिविधि कम रहेको मुलुकमा छुट्टाछुट्टै नियामक र सेवा प्रदायक संस्थाको गठन गर्दा काम कारबाहीमा दोहोरो तथा तेहरोपना आउने र राज्यको आर्थिक व्ययभार बढ्ने भएकाले आफूहरु आदोलनमा उत्रन बाध्य भएको उनीहरुको तर्क रहेको छ ।

मुलुको हवाई सुरक्षा एवम् जस्तो संवेदनशील क्षेत्रमा मनोमानी ढंगले विमानस्थलको सञ्चालन र व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिँदा सुरक्षास्तरमा सम्झौता हुने र मुलुकको छबि समेत धमिलिने भएकाले आन्दोलनको विकल्प नभएको नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुले बताएका छन् ।

टिप्पणीहरू