‘बलात्कारी’ राष्ट्रपतिको बेमेल बिहे

‘बलात्कारी’ राष्ट्रपतिको बेमेल बिहे

– राजेन्द्र स्थापित

ग्रोभर क्लिभलैण्ड पहिलो पटक ह्वाइटहाउस छिर्दा ४७ वर्षको भैसकेका थिए । तर, त्यसबेलासम्म पनि अविवाहित थिए । अविवाहित भएकाले प्रथम अमेरिकी महिलाको रूपमा उनकी बहिनी रोज क्लिभलैण्डले ह्वाइटहाउस प्रवेश गर्न पाइन् । रोज ग्रोभरभन्दा ९ वर्षले कान्छी थिइन् । उनैले ग्रोभरको शुरुको कार्यकालमा ह्वाइटहाउसको प्रशासन सम्हालिन् । अमेरिकामा यसअघि १५ औं राष्ट्रपति बनेका थिए – जेम्स बुचानन् । उनी पनि ग्रोभरजस्तै अविवाहित थिए र जिन्दगीभर अविवाहित रहे । तर, २२ औं र २४ औं राष्ट्रपति बनेका ग्रोभरले भने राष्ट्रपति हुँदै बिहे गरे र जेम्स बुचानन् हुनुपरेन ।

ग्रोभर अविवाहित भए पनि ’कुमार’ भने थिएनन् । उनको मारिया क्रोफ्टस हाल्पिनसंग लसपस थियो । मारिया सन् १८७४ मा ३८ की थिइन् । २ सन्तानकी आमा अनि विधवा । लोग्नेको निधनपश्चात् बफालो पुगिन् र एउटा ठूलो डिपार्टमेन्ट स्टोरमा क्लर्कको जागिर पाइन् । उनी सुन्दर र शिक्षित थिइन्, सुसंस्कृत पनि । चर्चको सम्मानित सदस्य । पहिलो भेटमै राजनीतिज्ञ ग्रोभरलाई उनी मन परिन् । उनले साथमा डिनर खान प्रस्ताव राखे । शुरुमा त मारियाले नाइँनास्ती गरिन् तर पटकपटकको आग्रहलाई टार्न सकिनन् । उनीहरू डिनर खान होटल पुगे । डिनरपश्चात् ग्रोभरले मारियालाई सोही होटलको कोठामा लगे, यौनक्रीडा गरे । मारियाका अनुसार उनको सहमतिबिनै ग्रोभरले जबर्जस्ती गरे । धाकधम्की दिए । मारपिटसमेत गरे ।

पछि मारियाले उजुर दिने धम्की दिएपछि कुलेलम ठोके । मारियाले पिछा गर्न छाडिनन् । आफूले गरेको महाभूलको कारण आफ्नो राजनीति चौपट हुने छाँटकाँट देखिएपछि उल्टै ग्रोभरले मारियालाई धम्क्याउन थाले । र, घटनाबारे कसैलाई भने जीवन समाप्त पारिदिने धम्की दिए । र, अन्त्यमा केही सीप नचलेपछि १० हजार डलर दिएर घटनालाई फासफुस पार्ने प्रयत्न गरे । मारियाका अनुसार उनले ग्रोभरको पैसा लिइनन् बरु, आइन्दा मुख नदेखाउन भनिन् ।

दिन बित्दै गयो । एकदिन मारियाले आफू गर्भवती बनेको चाल पाइन् र यसको सूचना दिन ग्रोभरसित सम्पर्क साँध्ने कोसिस गरिन् । तर, असफल भइन् । मारियालाई अविवाहित आमा बन्ने डरले सताउन थाल्यो । त्यो बेलाको समाजले विवाह नगरेको आमाबाट जन्मेको सन्तानलाई सजिलै स्विकार्दैनथ्यो । समाजको नजरबाट गिरेर जीवन जिउनुपर्ने भयो भनेर निकै छटपटाइन् । यो कलंकबाट बच्ने उपाय एउटै देखिन् त्यो हो, आफूलाई बलात्कार गर्ने बलात्कारीसँगै बिहे गर्ने । ग्रोभर मारियाको नजरबाट भाग्दै हिँडे । एकदिन उनले पनि आफूले गरेको भूलमा अफशोच माने । कतै मारियाले घटनाबारे सार्वजनिक गरिदिए आफू समाजको नजरमा बलात्कारी बन्ने र राजनीतिक जीवन तहसनहस बन्ने ठाने ।

र, अत्यन्त शान्त भई सोचे । अनि मारियाको सम्पर्कमा गए । बिहे गर्ने वचन दिए । यता, मारियाले फुल्दै गएको पेटकै कारण जागिरबाट हात धोइन् । सबैले गिज्याउने पात्र बनिन् । बिहेबिनै सन्तानको आमा बन्न गइरहेको भन्दै घरबेटीले पनि कोठाबाट निकाले । हार मानेर आफ्ना दुई सन्तानलाई नातेदारकोमा पठाइदिइन् । ग्रोभरले बिहे गर्ने वचन त दिए तर, आलटाल गर्दै गए । बरु मारियाको सहयोगार्थ केही रकम दिए ।

उता, मारियाको पेट दिनानुदिन फुल्दै गयो तर ग्रोभर भने बिहे गर्ने नामै लिँदैनथे । अन्त्यमा, कुनै सीप नलागेपछि बाध्य भएर मारियाले सम्पूर्ण घटनाको विवरण आफू सदस्य रहेको सेन्ट जोन्स चर्चको मन्त्रीलाई सुनाइदिइन् । ती मन्त्री ग्रोभरसँग भेट्न गए । शुरुमा ग्रोभर स्विकार्न तयारै भएनन् उल्टै मारियाको पेटमा हुर्किरहेको बच्चा अरू कुनै प्रेमीको हुन सक्ने जिकिर गरे । उनले यो पनि बताए कि मारियाका अन्य पनि प्रेमी छन् । ग्रोभरको कुरो सुनेर मन्त्री तीनछक्क परे । फर्केर गइसकेपछि मारियालाई भने ‘ग्रोभरसित तिम्रो बिहेको सम्भावना म देख्दिनँ है !’

कुरो सुनेर मारिया धुरुधुरु रोइन् । भविष्य पूरै अन्धकार बनेको ठानिन् । सन् १८७४ को सेप्टेम्बर २१ मा मारिया सुत्केरी भइन् । सुत्केरी भएपछि भने ग्रोभर छोरा हेर्न गए । उनले भर्खर दिवंगत मित्रको सम्झनामा नवजात शिशुको नाउँ राखे ’ओस्कार फोल्जोम ।’

तर, उनलाई डर थियो कि ओस्कारको कारण उसको भविष्य चौपट बन्न सक्छ । त्यसैले यसबाट बच्न तिकडम शुरु गरे । साथी प्रहरी अधिकृतलाई ’मारिया जँड्याहा हुन्, उसले बच्चा राम्रोसित हुर्काउन सक्दिन त्यसैले निगरानी राख्नू’ भने । र, प्रहरीले हरदम २ जना जासुस पछि लगाइदिए । त्यस्तै, अर्को न्यायाधीश साथीलाई मारियासित कुरो गर्न पठाए । न्यायाधीशले मारियाको घरमै गएर बच्चालाई अनाथालयमा राख्न दबाब दिए । उनले छोरा ओस्कारलाई अनाथालयमा हाल्दा लाग्ने र हुर्काउने, पढाउने सबै खर्च म ग्रोभरलाई ब्यहोर्न लगाउँछु भने । तिमीले पनि एकमुष्ट रकम पाउँछौ, अनि त्यो पैसाले नयाँ शहरमा गई आनन्दले जीवन बिताउनू भने ।

मारियाले जब उक्त प्रस्ताव मान्न अस्वीकार गरिन्, ग्रोभरले उनै प्रहरी साथीलाई लगाएर मारियालाई पागलखानामा पठाउन लगाए । यद्यपि, पागलखानाका डाक्टरले केही समयपश्चात् नै मारिया पागल नभएको भनी रिहा गर्न लगाइदिए । त्यति गरेर मात्र पनि ग्रोभर शान्तिले बसेनन् । उनले गुण्डा पठाएर मारियाको घर तोडफोड गर्न लगाए । मारियालाई भ¥याङबाट खसाल्न लगाए ।

यसैबीच, सन् १८८१ मा ग्रोभर बफालो नगरको मेयर बने भने १८८४ मा न्युयोर्कको गभर्नर । र सोही वर्ष राष्ट्रपतिको निर्वाचन लडे । विरोधी दलले मारियासितको प्रसंग उछाले । बफालो इभनिङ टेलिग्राफले त लामै लेख लेखेर ग्रोभर एक बलात्कारी भएको र उनले आफ्नो एक नाजायज सन्तानको भरणपोषण गर्दै आइरहेको पर्दाफास गरिदिए । विरोधीहरूले ठाउँठाउँमा ’आमा आमा, कता छन् मेरा बुबा ?’ लेखेको र मारियाले ओस्कारलाई बोकिरहेको पोष्टर टाँसे। रिपब्लिकन पार्टीका कार्यकर्ताको एउटा समूह सवाल गथ्र्र्याे आमा आमा, मेरा बुबा कहाँ छन् ? अनि अर्को समूह जवाफ फर्काउँथ्यो ’ह्वाइटहाउसमा छन् , हाहाहा…

अचम्मको कुरो, यति हुँदाहुँदै चुनाव ग्रोभरले नै जिते । राष्ट्रपति बनेपछि मारियाको ग्रोभरकी पत्नीको दर्जा पाउने र छोरालाई बाउ चिनाउने सबै प्रयत्न झन् भुत्ते बन्यो । । उनको निधन सन् १९०२ मा ६६ वर्षको उमेरमा भयो । निधनको समय सम्पत्तिको नाउँमा उनीसित २ सय डलर, लज्जास्पद काण्ड, कुमारी आमाको दाग र बदनामी मात्र थियो । उनले मृत्युशøयामा पुगेपछि भनेकी थिइन् ’मेरो अन्त्येष्टि सार्वजनिक तवरमा नगर्नु, मेरो अनुहार देखेर फेरि कसैले खिसी नगरुन्, म शान्तिले मर्न चाहन्छु ।’

ग्रोभरका एकजना वकिल साथी थिए – ओस्कार फोल्जोम । न्युयोर्कको बफालो निवासी । ग्रोभरका पुर्खा इंल्याण्डका थिए, उनीहरू अमेरिकामा बसाइँ सरे र न्यूहैम्पशायरमा बसे । पछि ग्रोभरले आफ्नो कर्मथलो न्युयोर्कलाई बनाए । त्यहीँ उनको मित्रता ओस्कारसँग भएको हो । ग्रोभर उनको घरमा गइरहन्थे । ओस्कारका त्यसो त दुइटी छोरी थिए तर जेठी नान्सीको मृत्यु १ वर्षको हुँदै भयो । कान्छी क्लारा (फ्रान्सेस) पनि शिशु नै थिइन् त्यो बेला । सन् १८६६ मा ग्रोभर ३० का थिए अनि क्लारा भर्खर २ वर्षकी । ओस्कारको घर जाँदाको बखत ग्रोभर उनीसँग खेल्न मन पराउँथे । उनलाई क्लारा एकदम हिस्सी परेकी बालिका लाग्थ्यो। भरपुर माया गर्थे ।

एकपटक ओस्कारको घर जाँदा उनले क्लाराका लागि सानो साइकल किनेर लगे । सोही साइकलमा राखेर क्लारालाई डुलाए । सन् १८७५ मा ओस्कारको दुर्घटनामा परी मृत्यु भयो । त्यो बेला क्लारा मात्र ११ की थिइन् । दुर्भाग्य, अचानक निधनका कारण ओस्कारले एक्ली छोरी क्लाराको नाउँमा कुनै इच्छापत्र बनाउन पाएनन् । अतः अदालतले ओस्कारको श्रीसम्पत्तिको रेखदेखको जिम्मा ग्रोभरलाई सुम्प्यो । क्लाराले बफालोस्थित मेदिना स्कुलको पढाइ सकाइन् र वेल्स कलेजमा पढ्न थालिन् । वेल्समा पढ्दैको समयमा ग्रोभर र क्लाराको पटक–पटक भेटघाट भयो । पछि क्लाराहरू न्युयोर्क फर्किसकेपछि ग्रोभरले क्लाराकी आमा एम्मासँग स्वीकृति लिएर छोरी क्लारासँग पत्राचार गर्न थाले ।

यसबीच, ग्रोभरले सन् १८८४ मा राष्ट्रपतिको चुनाव जिते । र , १८८५ मा ह्वाइटहाउस प्रवेश गरे । केही समयपछि नै वसन्त ऋतुमा क्लारा आमा एम्मासँग पुनः वासिङटन पुगिन् । राष्ट्रपति बनिसकेका ग्रोभरसँग ह्वाइटहाउसमै गएर भेटिन् । उक्त भेटमा ग्रोभरले एम्मासमक्ष क्लारासँग बिहे गर्न इच्छुक रहेको बताउँदै प्रस्ताव नै राखे । एम्माको स्वीकृतिपश्चात् ४९ वर्षीय ग्रोभरको बिहे २१ वसन्त पार गरेकी क्लारासँग सन् १८८६ को जुन २ मा भयो, ह्वाइटहाउसकै ब्लुरूममा । क्लारा उर्फ फ्रान्सेसले त्यति कलिलो उमेरमा अमेरिकाको प्रथम महिला बन्ने सौभाग्य पाइन् । उनीहरूको बिहेलाई धेरैले अशोभनीय माने, किनभने ओस्कारको निधनपश्चात् ग्रोभर नै क्लाराका धर्मपिता थिए । पछि क्लारा ३ छोरी र २ छोराको आमा बनिन् ।

ग्रोभर सन् १८८५ देखि १८८९ र दोश्रोपटक १८९३ देखि १८९७ राष्ट्रपति बने । उनको निधन सन् १९०८ मा ७१ वर्षको उमेरमा भयो । उनको निधनपछि क्लाराले सन् १९१३ मा ४८ वर्षको उमेरमा प्रा. थोमस प्रेस्टनसँग दोश्रो बिहे गरिन् र राष्ट्रपतिको विधवा पत्नी भएर पनि पुनर्विवाह गर्ने प्रथम अमेरिकी महिला बनिन् ।

टिप्पणीहरू