आफूलाई सर्वज्ञानी नठान्न माधव नेपालको आग्रह

आफूलाई सर्वज्ञानी नठान्न माधव नेपालको आग्रह

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आफू गम्भीर भएर लागेको बताउनु भएको छ । अध्यक्ष ओलीका कारण पार्टीमा उत्पन्न समस्या समाधान गर्न आफूले प्रयास गरिरहेको नेपालको भनाइ छ ।

अध्यक्ष ओलीतर्फ संकेत गर्दै उहाँले ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टीभित्र समस्या पैदा गरेको पनि बताउनुभयो । आफूपक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पार्नुभयो ।

‘हामीकहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे । सामूहिकताका भावनाहरु हराउन थाले । अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो । मै सबथोक सर्बज्ञानी हुँ भन्ने अहंकार,घमण्ड बढेर गयो । र हाम्रो पार्टी नेकपा (एमाले)मा समस्या देखा पर्यो’, उहाँले भन्नुभयो, ‘त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं ।  तर के हल गर्नका लागि,पार्टीभित्रको रोगको सही पहिचान गर्नका लागि हामी तयार छौं ? हामी,हो त्यही उद्देश्यका साथ पार्टीलाई नयाँ जीवन दिन चाहिरहेका छौं ।’

वरिष्ठ नेता नेपालले पार्टीलाई नयाँ जीवन दिन भन्दै अरुले जस्तो बाँदरे नाच नाच्ने काम नगर्न पनि जनवर्गीय संगठनका नेता-कार्यकर्तालाई आग्रह गर्नुभयो । इमान्दार,असल संस्कारी र मर्यादित बन्न कार्यकर्ता पंक्तिलाई अनुरोध गर्दै उहाँले आफूभित्र रहेका त्रुटि स्वीकार गरेर अघि बढ्ने आँट गर्न आव्हान गर्नुभयो ।

उहाँले भन्नु भयो,‘त्रुटि नभएको मान्छे कोही पनि हुँदैन । मान्छे हो त्रुटि हुन सक्दछ । सबै सुध्रिउन् । देश,जनता र राष्ट्रका लागि समर्पित होऔं ।’

वरिष्ठ नेता नेपालले सिंगो कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाएर देश र जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

टिप्पणीहरू