फाइलको निम्ति मन्त्रालयमा झण्डै फाइट

फाइलको निम्ति मन्त्रालयमा झण्डै फाइट

आठ वर्षदेखि गुणस्तर तथा नापतौल विभागमा अड्डा जमाएर बसेका डिजी विश्वबाबु पुडासैनीको अहंलाई मन्त्रालयले नियन्त्रण गर्न खोज्दा झण्डै हात हालाहालको स्थिति आएको छ ।

मन्त्रालयले गुणस्तर विभागलाई कस्न खोज्ने, शक्तिको अभ्यास गर्दै आएका पुडासैनीले पुरानै रवाफ देखाउने हुँदा त्यहाँको वातावरण नै तनावमय भएको छ । विश्वबावुले पूर्वाधार हेर्ने अर्का सहसचिव बलराम रिजाल त्यहाँबाट सरुवा नहुन्जेलसम्म मन्त्रालय नटेक्ने कसम खाएका छन् ।

युनएनडिपीको ओजन तहसँग सम्बन्धित कार्यक्रमको फाइल मन्त्रालयमा अड्किएपछि केही दिनअघि विश्वबाबु तनावमा थिए । उनी सिंहदरबार छिरेर सिधैं बलरामको कोठामा गई गुनासो पोखे । बलराम विषयवस्तुबारे स्पष्ट हुन खोजे । विश्वबाबुले जवाफ फर्काए, ‘किन बुझ्नुप¥यो ? क्याबिनेटमा पठाउनका लागि सचिवसमक्ष पठाऊ ।’

त्यो फाइलको मेकानिकल इ. रिवाज भण्डारीले अध्ययन गरिरहेका थिए । विश्वबाबु उनको कार्यकक्षमा छिरेर फाइलको विषयमा जिज्ञासा राखे । रिवाजले अध्ययन भइरहेको जवाफ फर्काएपछि टेबलमा मुड्की बजारे । दुवै तँतँ र ममको स्थितिमा पुगे । रिवाज पनि कुर्सीबाट उठेर आक्रोश पोखे । हल्ला बढ्न थालेपछि उपसचिव शान्ता मरासिनी त्यहाँ पुगिन् र विश्वबाबुको कोटमा तानेर आफ्नो कार्यकक्षमा लगी रिसलाई मत्थर पार्ने प्रयास गरिन् ।

यो घटनापछि विश्वबाबु मन्त्रालय छिरेका छैनन् । बलराम उद्योग मन्त्रालय छाडेर अर्थतिर जाने तयारी गर्दै छन् । विश्वबाबुचाहिँ सचिवको लाइनमा छन् । काम गर्न अप्ठ्यारो भएका कारण नयाँ मन्त्री आएसँगै विभाग छोड्न चाहेको यनले जनआस्थालाई सुनाए ।

टिप्पणीहरू