​यस्तो गर्दा पनि कोहीचाहिँ चूप

बैंक तथा वित्तीय संस्थालार्ई अनुशासित र पारदर्शी बनाउनु तथा सर्वसाधारणको निक्षेप जोगाउनु नेपाल राष्ट्र बैंकको पहिलो कर्तव्य हो । तर, कागजी नीति निर्देशनमा सुशासन देखिए पनि बैंकका कर्मचारीले अन्य बैंक तथा वित्तीय संस्थासँग साँठगाँठ गरेर कुम्ल्याउन थालेको भेटिएको छ ।

बैंकको नियमन विभाग र त्यसको पनि नीति निर्देशन तर्जुमा गर्ने इकाइमा रहेका उपनिर्देशक अनुज दाहाल र सहायक निर्देशक हरिश्चन्द्र ढकाल पछिल्लो समय अनुचित तवरले करोड कमाउने कर्मचारीको रूपमा दर्ज भएका हुन् । वित्त कम्पनी सुपरिवेक्षण विभागले हालै लुम्बिनी फाइनान्समा गरेको विशेष निरीक्षणको क्रममा दाहाल र ढकालले आफ्नो फाँट र पदको दुरूपयोग गर्दै शेयर रिसिप्ट धितो राखेर जनही एक एक करोड पर्सनल लोन लिएको भेटिएको छ ।

विभागले केन्द्रीय बैंकका आरोपित कर्मचारी र लुम्बिनी फाइनान्सलार्ई कारबाहीको निम्ति सिफारिस गरे पनि प्रवक्ता तथा दाहाल र ढकालका विभागीय प्रमुख नारायण पौडेल, निर्देशक हरिशरण केसीलगायत अधिकारी कारबाही नगर्ने उपायको खोजीमा छन् । लुम्बिनी फाइनान्सका सिइओ सुरेन्द्र रेग्मी राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा हाल नेपाल स्टक एक्सचेञ्जका अध्यक्ष रामजी रेग्मीका भतिजा हुन् । रामजी रेग्मी र बैंक प्रवक्ता पौडेल एक दशकदेखि रात्रिकालीन मित्रको रूपमा परिचित छन् ।

टिप्पणीहरू