माओवादीले अघिल्लो सरकारमा भएकालाई नपठाउने,जसपा श्रेष्ठको नेतृत्वमा जाने

माओवादीले अघिल्लो सरकारमा भएकालाई नपठाउने,जसपा श्रेष्ठको नेतृत्वमा जाने

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । न्युनतम साझा कार्यक्रम र संयुक्त सरकार सन्चालनको कार्यविधि र संहिता तयार भएसँगै प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको हो ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तारको तयारी गरेसँगै सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्रले अपरान्ह स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य चक्रपाणी खनालले आजको बैठकमा सरकार सञ्चालनका लागि कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल हुने जानकारी दिनुभयो ।

माओवादीमा आकांक्षी धेरै भएका कारण मन्त्री छान्न सकस परिरहेको छ । अध्यक्ष प्रचण्डले यसअघि सार्वजनिक कार्यक्रममै मन्त्री छान्न सकस परेको बताउनुभएको थियो । नेता खनालले भने अघिल्लो सरकारमा मन्त्री नभएका र अवसरबाट बन्चित भएकालाई मन्त्री बनाउन नेतृत्वलाई सुझाव दिएको बताउनुभयो ।

‘मन्त्री छनोटको ठ्याक्कै मापदण्ड बनको छ जस्तो त लाग्दैन,तर अघिल्लो सरकारमा गएकाहरु यसपटक नजाने मोटामोटी सहमति छ । बाँकी चै क्षेत्र,लिङ्ग र क्षमतालाई मिलाएर निर्णय गर्न अध्यक्षलाई जिम्मा दिएका छौँ । त्यहिअनुसार होला भन्ने अपेक्षा गरौँ’,उहाँले भन्नुभयो ।

यता,मन्त्रिपरिषदमा कांग्रेस र माओवादी बराबरको हिस्सेदारी दाबी गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले पनि सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन । जसपाले मन्त्रीबारे निर्णय गर्न अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मा दिएको छ ।

जसपा स्रोतले जनाएअनुसार वरिष्ठ नेता राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा सरकारमा जाने सम्भावना छ । अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने सम्भावना नरहेकाले श्रेष्ठको नेतृत्वमा ५ देखि ७ मन्त्रालय लिएर जसपा सरकारमा जाने तयारीमा रहेको बताइन्छ ।

सरकार गठनको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता: नपाउँदा प्रधानमन्त्री देउवाको आलोचना हुन थालेको छ । प्रधानमन्त्रीले पहिलो चरणमा काँग्रेस र माओवादीका दुई-दुई जनालाई समेटेर मन्त्रिपरिषद गठन गर्नुभएको थियो । दोस्रो पटक कांग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

टिप्पणीहरू