श्रीमतीको हत्या गरेर श्रीमान झुण्डिए

श्रीमतीको हत्या गरेर श्रीमान झुण्डिए

-शंकर श्रेष्ठ

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ हुरेमा श्रीमतीको हत्या गरेर एक पुरुषले आत्महत्या गरेका छन् । ४५ वर्षीय तीर्थबहादुर बि.क.ले ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरी रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्काका अनुसार आज बिहान करिब ११ बजे श्रीमान,श्रीमती दुबै जना खेतमा काम गर्न जान निस्किएका थिए । घरबाट करिब ७ सय मीटर पर पुगेपछि कोदालोले हानेर श्रीमतीको हत्या गरी श्रीमान पनि त्यही ठाउँमा झुण्डिएका हुन् ।

श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका तीर्थबहादुरको साथमा सुसाइड नोट पनि भेटिएको छ । ‘नोट हेर्दा श्रीमान- श्रीमतीबीचको आपसी झगडाले नै घटना भएको बुझिन्छ’ घटनास्थल पुगेर फर्किएका डिएसपी खड्का भन्छन्,‘प्रारम्भिक अनुसन्धान र सुसाइड नोट हेर्दा श्रीमानले पूर्व प्लान बनाएर नै घटना गराएको प्रष्ट छ ।’

उनीहरुबीच यस अघिदेखि नै विवाद हुँदै आएको आफन्तहरुले बताएका छन् । बिहान पनि श्रीमान-श्रीमतीबीच विवाद भएको थियो । ‘विवाद भएको केही घण्टापछि खेतमा काम गर्न जाऊँ भन्दै श्रीमतीलाई अघि लगाएर घरबाट निस्किएका तीर्थबहादुरले पछाडिबाट कोदालाको पासोले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ ।

दुवै शव पोष्टमार्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पठाइएको छ । प्राथमिक स्वास्थ्य चौकी गजुरीमा टाउको खोल्ने औजार नभएपछि प्रहरीले पोष्टमार्टमको लागि शव काठमाण्डौ पठाएको हो ।

तीर्थबहादुर र भीममायाका ४ छोरा छन् । जेठा छोरा भुवनको बिहे भइसकेको छ । मादक पदार्थ सेवन र घरायसी विवादकै कारण घटना भएको हुनसक्ने स्थानीयहरुले बताएका छन् । तीर्थबहादुरले यसअघि पनि पोइजन खाएर आत्महत्याको प्रयास गरेका थिए ।

(प्राथमिक स्वास्थ्य चौकी गजुरीमा जम्मा भएका आफन्तहरु ।) तस्बिर: शंकर श्रेष्ठ

टिप्पणीहरू