महत्त्वपूर्ण मन्त्रालय भनेको के,भाग पाउने कसले ?

महत्त्वपूर्ण मन्त्रालय भनेको के,भाग पाउने कसले ?

संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीलाई नियुक्तिको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यता छ । तर, कठिन परिस्थितिमा प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवाले नियुक्तिको एक साता नपुग्दै विश्वासको मत लिएपछि सरकारले छिट्टै पूर्णता: पाउने आम अनुमान थियो ।

गठवन्धन सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री देउवाले जसरी सहजै विश्वासको मत प्राप्त गर्नुभयो,मन्त्रिपरिषद्लाई पूर्णता: दिन भने उहाँलाई सकस परिरहेको छ । सरकार गठनको झन्डै तीन साता बितिसक्दा पनि मन्त्री नियुक्त नहुँदा प्रधानमन्त्रीको क्षमतामाथि नै प्रश्न उठ्न थालिसकेको छ ।

मन्त्रालय भागबण्डामा सत्ता साझेदार नेपाली काँग्रेस,माओवादी केन्द्र र जसपाबीच सहमति नजुटेका कारण पदेउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकेको बताइन्छ । अर्कोतिर,सरकार गठनमा निर्णायक भूमिका खेलेको एमालेको माधव नेपाल समूहको मन्त्रिपरिषदमा सहभागितालाई लिएर पनि अन्योल छ ।

नेपाल समूहलाई महत्वपूर्ण हिस्सेदारीका साथ मन्त्रिपरिषद्मा सहभागी गराउन गठवन्धनका सबै दल सहमत छन् । तर, पार्टीको आन्तरिक विवादका कारण नेपाल समूहले सरकारमा जानेबारे निर्णय गर्न सकेको छैन ।

जानकार स्रोतका अनुसार नेपाल समूह सरकारमा सहभागी हुँदा र नहुँदाको फरक परिस्थितिमा मन्त्रालय भागबण्डामा सत्ता गठवन्धनका दलहरुबीच मतभेद छ । कांग्रेस र माओवादी बराबरको हिस्सेदारी खोजेको जसपा गृह र अर्थपछिको तेस्रो महत्वपूर्ण मन्त्रालय पाउनुपर्ने अडानमा छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने नेपाल समूह सरकारमा आए रोजेको मन्त्रालय दिएर बाँकीमा जसपालाई मनाउने मनस्थितिमा हुनुहुन्छ ।

त्यसो त, नेपाल पक्ष सरकारमा सहभागी भए रोजेको मन्त्रालय दिन जसपा पनि राजी छ । अन्यथा अवस्थामा भने भौतिक पूर्वाधार र शहरी विकास पाउनुपर्ने जसपाको माग छ । सत्ता साझेदार काँग्रेस र माओवादीले महत्वपूर्ण दुई मन्त्रालय गृह र अर्थ बाँडेर लिसकेकाले विकासे मन्त्रालयमा आफूहरुको दावेदारी स्वभाविक हुने जसपाका एक नेता बताउँछन् । यद्यपि नेपाल समूह सरकारमा आउने अवस्थामा कुनै एक मन्त्रालय छोड्न तयार रहेको उनले बताए ।

यता,नेपाल समूह भने सरकारमा आफ्नो सहभागितालाई लिएर आफैंमा अन्योल देखिएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएका सो समूहका २२ सांसदमध्ये अधिकांश सरकारमा जानुपर्ने पक्षमा छन् । सरकारमा जान उनीहरुले वरिष्ठ नेता माधव नेपाललाई दबाब दिइरहेको चर्चा पनि छ । तर,माधव नेपाल आफैँ भने तत्काल सरकारमा नजाने पक्षमा हुनुहुन्छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंगको अस्तिको भेटमा पनि नेता नेपालले सरकारमा तत्काल जाने अवस्था नभएकाले मन्त्रिपरिषद विस्तार गर्न सुझाव दिनुभएको बताइएको थियो । नेपाल समूह सरकारमा आउँदा र नआउँदाका हिसाब मिलाउने चक्करमा मन्त्रिपरिषद विस्तारमा विलम्ब भैरहेको स्रोत बताउँछ ।

टिप्पणीहरू