दार्चुला घटनालाई लिएर गृहमन्त्री र माननीयबीच सवालजवाफ

दार्चुला घटनालाई लिएर गृहमन्त्री र माननीयबीच सवालजवाफ

महाकाली तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काट्दा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर माननीयहरुले भारतीय बालकृष्ण खाँडलाई र्‍याखर्‍याख्ती पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने माननीयहरुले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

संसदमा कडा प्रश्न उठेपछि गृहमन्त्री खाँणले घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानवीन समिति गठन गरेको र सोहि आधारमा जस्तोसुकै कदम चाल्न पनि तयार रहेको प्रष्टीकरण दिनुभयो । माननीयहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्रीले समितिले घटनास्थलमै प्रत्यक्षदर्शीहरुको बयानलाई मूल आधार बनाएर छानवीन गर्ने र स्थानीय नागरिकसँग पनि बुझेर सत्यतथ्यसहितको प्रतिवेदन ल्याउने विश्वास दिलाउनुभयो ।

त्यसअघि प्रमुख प्रतिपक्ष दल एमाले सांसद खगराज अधिकारीले घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संलग्नता रहेकोबारे गृहमन्त्री खाँणलाई प्रश्न गर्नुभएको थियो । सांसद अधिकारीले धामी नदीमा बपत्ता भएको घटनालाई सरकारले ढाकछोप गर्न खोजेको आरोप पनि लगाउनुभयो । एमालेकै अर्का सांसद योगेशकुमार भट्टराईले गृहमन्त्रीले नदीमा बेपत्ता भएका धामीको मृत्यु नै भएको भन्ने ढंगले संसदमा हल्का टिप्पणी गर्नु गलत हुने भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

सत्तापक्षकै सांसदहरुले पनि दार्चुला घटनाप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए । काँग्रेस सांसद गगनकुमार थापाले घटनाको सत्यतथ्य बाहिर ल्याउने गरी संसदलाई विश्वास दिलाउन गृहमन्त्री खाँणको ध्यानाकर्षण गराउनु भयो । उहाँले घटनामा संलग्न जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउन सरकारले हिम्मतका साथ काम गर्नुपर्ने पनि बताउनु भयो ।

जवाफमा गृहमन्त्री खाँणले सरकारले घटना घटेलगत्तै मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानवीन समिति गठन गरेको र छानवीन समितिले सत्यतथ्यसहितको प्रतिवेदन बाहिर नल्याउँदासम्म थप केही पनि बोल्न नमिल्ने स्पष्ट पार्नुभयो ।

उहाँले घटनाका सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउन सरकारले छानवीन समितिलाई स्थानीय सरकार, प्रदेश सरकार र त्यहाँका जनप्रतिनिधिहरुसँग पनि छलफल गर्न निर्देशन दिएको जानकारी पनि माननीयहरुलाई गराउनु भयो ।

घटनाको छानवीन गर्न गठित गृहमन्त्रालयका सहसचिव गौतम नेतृत्वको टोलीलाई १० दिनको समय दिइएको छ । समितिका सदस्य हिजै घटनास्थलतर्फ हिंडिसकेका छन् ।

टिप्पणीहरू