हतार हतारमा किन सुटुक्क जिम्मा हजुर !

हतार हतारमा किन सुटुक्क जिम्मा हजुर !

मापदण्ड नपुगी नियुक्त गरेको आरोप लागेका पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक विपेश आचार्यलाई हतार हतार पदस्थापन गराइएको छ ।

मापदण्ड नै नपुगेका व्यक्तिलाई सुटुक्क नियुक्त गरेको आरोप लागिरहेका बेला विश्वविद्यालयले शिक्षण अस्पताल निर्देशक विपेश आचार्यलाई उपकुलपति प्रा.डा. यादव कोइरालाको उपस्थितिमा आज हतारमा पदबहाली गराएको हो ।

विवादित नियुक्ति भएकाले निर्देशक आचार्यले पेश गरेका प्रमाणपत्र र अन्य सबै कागजातहरु छानबिन गरेर सार्वजनिक गर्नुपर्ने माग विश्वविद्यालयका कर्मचारीहरुले आन्तरिक रुपमा उठाउँदै आएका छन् ।
मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा रहेको एक सय शैयाको शिक्षण अस्पतालका लागि छनौट समितिको सिफारिसअनुसार भन्दै साउन १५ गते कार्यकारिणी समितिले निर्देशक आचार्यलाई सुटुक्क नियुक्त गरेको थियो ।

तर उक्त नियुक्ति मापदण्डअनुसार नभएको भन्दै कर्मचारीहरुले नै उनको प्रमाणपत्र सार्वजनिक गरेर छानबिन गर्न माग गरेका छन् । विश्वविद्यालयका उपकुलपति कोइरालाले ती सबै मागको बेवास्ता गर्दै हतारमा निर्देशक आचार्यलाई आज दिउँसो पदबहाली गराएका छन् ।

पहिले पनि अस्पताल निर्देशकमा ठाडै नियुक्ति पाएका आचार्यलाई उपकुलपति यादवले नेपाली काँग्रेसका उच्च नेताहरुको दवावमा मापदण्ड विपरित छनौट समिति र कार्यकारिणी समितिलाई समेत गुमराहमा पारेर नियुक्त गरेको विश्वविद्यालय स्रोतले बताएको छ । पहिले निर्देशक हुँदा आचार्यको कामबाट असन्तुष्ट रहेका उपकुलपति यादवले दवाव र प्रलोभनमा परेर योग्य प्रतिस्पर्धीहरुलाई पाखा लगाउँदै मापदण्ड विपरित डा. विपेश आचार्यलाई नियुक्त गरेको आरोप लागेको छ ।

आरोपअनुसार आचार्यलाई नियुक्त गराउन उपकुलपति कोइरालाले सहप्राध्यापक स्तरका अन्य प्रवल दाबेदार प्रतिष्पर्धीहरु र विश्वविद्यालयमै कार्यरत प्राज्ञिक पद भएका प्रतिस्पर्धीहरुलाई पन्छाएका हुन् ।

विश्वविद्यालयले अघिल्लो वर्ष असोज १७ गते दुई वर्ष करार सेवाका लागि एक जना निर्देशक माग गर्दै विज्ञापन प्रकाशित गरेको थियो । प्रकाशित विज्ञापनमा निर्देशकको योग्यता चिकित्सा शास्त्रमा एमडी वा एमएस उत्तीर्ण गरी मेडिकल काउन्सिलमा दर्ता भै उपप्राध्यापक सरहको अनुभव भएको र चिकित्सा महाविद्यालय सम्बन्धी प्रशासनको अनुभव भएको हुनुपर्ने उल्लेख छ ।

तर नवनियुक्त निर्देशकले तोकिएको योग्यता पूरा नगरेको र फर्जी कागजातहरु पेश गरेर नियुक्ती लिएको कर्मचारी स्रोतको दाबी छ । यसैले कर्मचारीहरुले योग्यताका कागजातहरु सार्वजनिक गरेर छानबिन गरिनुपर्ने माग गरेका हुन् ।

विश्वविद्यालय स्रोतका अनुसार विज्ञापन गर्दा न्यूनतम उपप्राध्यापक तहको योग्यता माग गरिएकोमा निर्देशक आचार्यले कुनै पनि विश्वविद्यालयबाट उक्त्त पद प्राप्त गरेको देखिँदैन । चीनबाट प्याथोलोजीमा एमडी गरेका आचार्यले शहीद गंगालाल अस्पताल, कोशी अञ्चल अस्पताल र निजी प्राक्टिस बाहेक थप कुनै प्राज्ञिक अनुभव हासिल गरेका छैनन् ।

दोस्रो पटक निर्देशकमा नियुक्त्त भएका डा. आचार्य पूर्वाञ्चल विश्वविद्यालयको अस्पताल निर्देशकमा तीन वर्ष पहिले काँग्रेस कोटाबाट ठाडो तोक आदेशमा निर्देशक नियुक्त भएका थिए ।

आचार्यले आफनो निर्देशनमा एक सय शैयाको अस्पताल प्रभावकारी ढंगले सञ्चालन गराउन नसक्दा सुविधासम्पन्न भएर पनि अझै पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित अस्पताल गुमनाम अवस्थामा रहेको छ । अस्पतालले वार्षिक पाँच करोडभन्दा बढी रुपैयाँ खर्च हुँदा मुश्किलले ३५ लाख मात्र आम्दानी गरेको आरोप पनि लाग्दै आएको छ ।

उपकुलपति कोइरालाले नियुक्तीको जिम्मा छनौट समितिको सिफारिसअनुसार कार्यकारिणी समितिबाट निर्देशक आचार्यलाई प्रतिस्पर्धा गराएरै नियुक्त गरिएको बताए । उनले भने ‘विश्वविद्यालयले कुनै अनियमित काम गरेको छैन सबै मापदण्डअनुसार नै प्रक्रिया पुर्याएर नियुक्ती गरेको छ ।’

मापदण्ड विपरित अयोग्य व्यक्तिलाई उपकुलपति कोइरालाको निर्देशनमा अस्पताल निर्देशकमा नियुक्त्त गरेको जानकारी पाएपछि उनको प्रमाणपत्रसहितका कागजात सार्वजनिक गर्न माग गर्दै कर्मचारीहरुले विश्वविद्यालय प्रशासनमा सूचनाको हकको आधारमा निवेदन दर्ता गराएका छन् ।

टिप्पणीहरू