दार्चुला घटना : काठमाडौँबाट छानविन टोली अहिले उड्दै

दार्चुला घटना : काठमाडौँबाट छानविन टोली अहिले उड्दै

महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटना छानविनका लागि गृहमन्त्रालयद्वारा गठित समितिका सदस्यहरु भोलि घटनास्थल पुग्ने भएका छन् । गृहको टोली सकभर दिउँसो २ बजेको प्लेन या नत्र हेलिकप्टर लिएर त्यसतर्फ प्रस्थान गर्दै छ ।

समितिको संयोजक रहेका सहसचिव जनार्दन गौतम काठमाडौँबाट कैलाली झरी त्यहाँ रहेका छानविन समितिका सदस्यहरुलाई टिपेर भोलि बल्ल दार्चुला पुग्नेछ । कैलालीबाट प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल,राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा,सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठसहितको टोली भोलि दार्चुला सदरमुकामतर्फ लाग्नेछ ।त्यहाँबाट समितिका अर्का सदस्य सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीलाई लिएर टोली घटनास्थल पुग्नेछ । कठिन भौगोलिक अवस्थिति र दूरीका हिसाबले घटनास्थल टाढा भएकाले छानविन टोली छिटो उपाय लगाएर जान लागेको हो । घटनास्थल दार्चुला सदरमुकामबाट ५ घण्टा पैदल यात्राको दूरीमा छ भने त्यहाँ पुग्न भारतीय भूमि हुँदै जानुपर्ने अवस्था रहेको छ ।

गृहमन्त्री बालकृष्ण खाँडले हिजो मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो । समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको छ ।

अस्ति शुक्रबार दार्चुलाको मालाघाट र भारतको गस्कुबाट तुइन तर्ने क्रममा एसएसबीले तुइन काट्दा धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । उनको अहिलेसम्म शव भेटिएको छैन ।

टिप्पणीहरू