मन्त्रीलाई स्वागत गर्दैमा रोकियो श्रीमानहरुको सरुवा

मन्त्रीलाई स्वागत गर्दैमा रोकियो श्रीमानहरुको सरुवा

जिल्ला र उच्च अदालतका न्यायाधीशहरुको सरुवा-बढुवाबारे निर्णय गर्ने अपेक्षा गरिएको न्यायपरिषद बैठक त्यसै टुंगिएको छ । बैठकले कानुनमन्त्री ज्ञानेन्द्र कार्कीलाई स्वागत गर्नुबाहेक अन्य विषयमा छलफलसमेत नभएको बताइन्छ ।

न्यायपरिषद बैठक अनिर्णित हुनुमा मन्त्रिपरिषद विस्तारसँग जोडेर हेरिएको छ । आज भोलिमै मन्त्रिपरिषद विस्तार हुने र कानुनमन्त्री कार्कीलाई स्वास्थ्य मन्त्रालयमा लैजाने चर्चा चलिरहेको छ । बताइएअनुसार नयाँ कानुनमन्त्री आएपछि बैठक बसेर सरुवा,बढुवालगायतका निर्णय गर्ने तयारी छ ।

नयाँ कानुनमन्त्रीमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक पुष्पा भुसालको चर्चा छ । कानुनको जानकारसमेत रहेकी भुसाललाई कानुनमा लैजाने तयारी भैरहेको बताइएको छ । अब हुने मन्त्रिपरिषद विस्तारमा कार्कीलाई स्वास्थ्य या अन्य कुनै महत्वपूर्ण मन्त्रालयको जिम्मा दिएर भुसाललाई कानुन मन्त्रालयको जिम्मेवारी तोक्ने गरी देउवाले तयारी थालेको स्रोत दाबी गर्छ ।

त्यसैले आजभोलि नै मन्त्रिपरिषद विस्तार भए कम्तिमा एक साताभित्र न्यायाधीशहरुको सरुवा-बढुवा हुने जानकार स्रोत बताउँछ ।

प्रधानमन्त्री देउवाका खास मान्छेको रुपमा चिनिनुहुने कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिने तयारी छ । स्वास्थ्य मन्त्रालयलाई मालदार मन्त्रालयका रुपमा हेरिन्छ । कोरोनाको खोप लगायतका स्वास्थ्य सामाग्री खरिदको जिम्मा पाउने भएकाले स्वास्थ्यमा जान प्रभावशाली नेताहरुको दौडधुप चल्ने गरेको छ । यसअघि केपी ओली नेतृत्वको सरकारमा पनि स्वास्थ्यमा जान केही नेताले मरिहत्ते गरेको चर्चा थियो ।

प्रधानमन्त्रीको विश्वासिलो हुनुका साथै रास्ट्रपति र विपक्षीसँग समेत समन्वय गर्न सक्ने भएकाले पनि देउवाको रोजाइमा कार्की पर्नुभएको हो । कार्कीले ओम्नीलगायतका विवादमा आफ्नो क्षमता देखाउने अपेक्षासहित स्वास्थ्य मन्त्रालयको जिम्मा दिन देउवा तयार भएको बताइन्छ ।

टिप्पणीहरू