मान्छे उता, के मिल्यो र यता ?

पाँच दशकअगाडि भूपि शेरचनले त्यसै भनेका होइनन्, यो हल्लै हल्लाको देश हो । मान्छे छन् अष्ट्रेलियामा तर उनले नेपालमा सक्रिय रूपमा वार्ता थालेको, धेरै कुरा सहमतिनजिक पुगेको जस्ता रिपोर्ट भँगेरे अक्षरमा भटाभट छाप्छन्, यहाँका मिडियाले ।

दुई सातासम्म छोरीसँगै सिड्नीमा बसेर, ज्वाइँ भेट्ने तिर्सना मेटेर एमाले उपमहासचिव स्वदेश फर्किएको बल्ल आज ६ दिन मात्रै बित्यो तर उनी उतै हुँदा यहाँ मधेसी मोर्चासँग अति संवेदनशील, निश्कर्ष उन्मुख र महŒवपूर्ण भेटघाट भएको चर्चा चल्यो । त्यति मात्र होइन, वार्ता सकारात्मक रूपमा अघि बढेको, डेढ वर्ष लामो संवादहीनता टुटेकोजस्ता खबर आए । तर, जम्मा भएकोचाहिँ के मात्र रहेछ भने नेपाल फर्किएको भोलिपल्ट मर्निङवाकका दौरान भैंसेपाटीस्थित घरछेउको काठमाडौं कफी सपमा छिमेकी (तमलोपा उपाध्यक्ष) हृदयेश त्रिपाठीसँग विष्णु पौडेलको जम्काभेट । त्यहीँ एकछिन चिया गफ । स्वाभाविक रूपमा राजनीतिक दलका नेताबीच राजनीतिकै कुरा हुने नै भयो ।

त्यस क्रममा हृदयेशले मधेसका समस्या राख्दै ‘लौ न उपाय के छ सल्टाउने ?’ भन्ने नै भए । विष्णुले पनि ‘यसरी अघि बढ्दा के होला’ भन्दै आफ्नो प्रस्ताव राख्ने नै भए । चिया गफ न हो, कहिले टुंगिन्छ, के ग्यारेन्टी ? बटमलाइन संविधान संशोधनको जो छ । उता विष्णु पौडेल पनि अचम्मकै छन् । चिया गफमै भए पनि असन्तुष्ट मधेशी दललाई नजिक ल्याउन खोज्छन् । तर, भएको कुरा केसम्म हो त्योचाहिँ खुलाउन मान्दैनन् ।

टिप्पणीहरू