कर्णालीमा सतप्रतिशत रोपाइँ, अरु प्रदेशमा कति ?

कर्णालीमा सतप्रतिशत रोपाइँ, अरु प्रदेशमा कति ?

छिट्टै मनसुन सक्रिय हुँदा कर्णाली प्रदेशमा यस बर्ष सतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । समयमा नै वर्षा भएकाले कर्णालीका धेरै क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

गत जेठ १५ देखि नै मनसुन शुरु भई समयमा रोपाइँ भएकाले कर्णालीका किसान हर्षित बनेका छन् । गत वर्ष यसै अवधिमा कर्णालीमा ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ नसकिँदा अहिले सतप्रतिशत रोपाइँ सम्पन्न भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । कर्णाली प्रदेशपछि सुदूरपश्चिममा ९९,लुम्बिनीमा ९७,बाग्मतीमा ९६, प्रदेश–२ मा ९२ र प्रदेश १ मा ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको बताइएको छ ।

यस्तै,देशभर ९४ प्रतिशत रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । विभागका उपमहानिर्देशक जानुका पण्डितले नेपालमा साउन महिनाभर रोपाइँ हुने भएकाले मसान्तसम्म ९७ प्रतिशत भन्दामाथि रोपाइँ हुने अनुमान गरेकी छन् ।

नेपालको कूल जमिनमध्ये ३० लाख ९१ हजार हेक्टरमा धान रोपाइँ गरिन्छ । यसमध्ये करिब ५० प्रतिशतमा रोपाइँ हुन्छ भने ५३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । रोपाइँ हुने असार–साउन महिनामा वर्षा भएन भने सिफारिस भएजति क्षेत्रफलमा रोपाइँ हुन नसक्ने विज्ञहरु बताउँछन् ।

यसैबीच प्रत्येक वर्ष धान खेती गर्ने जमिन घटिरहेको र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कले धान खेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ । कृषि विभागको तथ्याङ्कअनुसार १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि विकास सचिव डाक्टर योगेन्द्रकुमार कार्कीले नेपालीका लागि वार्षिक ६० लाख मेट्रिकटन धानको आवश्यकता पर्ने बताए ।

सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोब्बर अर्थात् एक करोड चार लाख मेट्रिकटन पुर्याउने घोषणासमेत गरेको छ ।

टिप्पणीहरू