अझै उनको त्यतै ढलिमली

लोकमान त गए । तर, उनको समूहमा रही राम्रो कमाइ गर्न भ्याएका एक सरकारी अधिकृत भने सामान्य प्रशासन मन्त्रालयलाई समेत अटेर गरी अख्तियारमै रमाइरहेका छन् । लोकमानको पालामा अख्तियारप्रति आमकर्मचारीमा रहेको त्रासलाई भजाएर शुभलाभ लिने गरेको गुनासो सहकर्मीसामु लगातार पर्न थालेपछि नवराज जैसीका सम्पूर्ण क्रियाकलापको जानकारी लिएर एक हुल कर्मचारी आयुक्तकोमा गए ।

उनीहरूले नवराजबारे बाहिरबाट आएका गुनासा बताए । त्यतिबेला लोकमानसमूह निकट मानिएका उनीविरुद्ध कसैले कुनै कदम चाल्न चाहेन । लोकमानको अवसानसँगै नवराजको उठाउने शैलीबारे जानकार अधिकारीले सामान्य प्रशासनलाई पत्र लेखे । सामान्यले तत्कालै सरुवा गरी मन्त्रालयमै हाजिर हुन पत्र काट्यो । तर, नेपाल निजामती कर्मचारी युनियनको उच्च संरक्षणमा रहेका नवराज हालसम्म पनि मन्त्रालयलाई समेत अटेर गरी अख्तियारमै बसिरहेका छन् ।

युनियनको प्रभाव दुरुपयोग गरी निजामती कर्मचारीको सरुवा–बढुवा गराएर तथा भ्रष्टाचार गर्न सकिने ठाउँमा पदस्थापन गराई नियमित शुभलाभ लिइरहने नेतृत्वले अझै नवराजको संरक्षण गरिरहेको युनियनकै एक पदाधिकारी बताउँछन् ।

आधिकारिक युनियनमा समेत पदाधिकारी बनेका ती कर्मचारी नेतासँग मिलेर भ्रष्ट सरकारी अधिकारीसँग नियमित रकम असुल गर्ने नवराजको धन्दा रहेको कतिपयको भनाइ छ । वैदेशिक रोजगार विभागमा कार्यरत रहँदा भ्रष्टाचार अभियोगमा निलम्बित भई सजायसमेत भोगेका नवराजले तालुकवाला मन्त्रालयलाई समेत अटेर गरी रमाना नबुझेर अख्तियारमै रमाउनु अझै लोकमानको अवशेष रहेको भएन र !

– राजु बनेपाली

टिप्पणीहरू