धरहराको नाममा मान्छे लखेट्ने ध्यान

धरहराको नाममा मान्छे लखेट्ने ध्यान

एउटा बा ओरालो यात्रा लागेर बालुवाटारबाट बालकोट फर्किए, अर्काे बाको शैली पच्छ्याउनेको आतंक छ सिंहदरबारतिर । बा को झोली भर्न दिनरात खटिने सुशील ज्ञवाली कम फूर्तिला छैनन् । जहिल्यै, जहाँ पनि पुगेकै हुन्छन् । उनलाई अर्काे बैकुण्ठ मानन्धर भन्दा पनि हुन्छ । बिष्णु पौडेल सत्तामा आएपछि शक्तिका आडमा अर्बाैं बजेट चलाउने पुनर्निर्माण प्राधिकरणको सीइओ बने तर सरकारका सचिवलाई सेकेण्ड म्यानको व्यवहार गर्दै आएका छन् ।

प्रशासनिक, आर्थिक अधिकारसमेत कानुनतः सचिवमा रहे पनि ज्ञवालीको हालिमुहालीका कारण त्यहाँ जाने सचिव खुम्चिएर बस्न विवश छन् । कतिपय सचिव एसम्यान बनिदिएका कारण केपी ओलीकै बा शैलीमा वान म्यान सो गर्न थालेको कर्मचारी गुनासो गर्छन् ।

प्राधिकरण भर्खरै बढुवा भएका, प्राविधिक वा धेरै पेलिएका अर्थात अवकाशको मुखमा पुगेका सचिव खटाइने ठाउँ बनेको छ । तिनलाई उनले पुन्टे बनाएर राख्ने गर्छन् । काविल सचिव खटिएको खण्डमा तिनलाई थाहा पत्तै दिन्नन् । जस्तो गत ३ फागुनमा २५ प्रतिशत काम बाँकी हुँदै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनको उद्घाटन गरियो, सचिव सुरेश आचार्यलाई केही थाहै दिइएन । अधिकांश सम्झौता, उद्घाटनमा ज्ञवाली हाबी हुन्छन् ।

परियोजनाका मुख्य कर्मचारीलाई पन्छाएर सेकेण्ड म्यानसँग सबै आर्थिक कारोवार गर्न चाहन्छन् । सिंहदरबार पुनर्निर्माण परियोजनाका निर्देशक श्यामकिशोर सिंहलाई पन्छाएर झक्क विश्वकर्मासँग सेटिङ मिलाएका छन् । यस्तै शिक्षातर्फ हेर्ने परियोजना प्रमुखलाई पाखा लगाउँदै त्यहाँको सेकेण्ड म्यानसँग डिल गर्दै छन् ।

साठी प्रतिशत काम सकिनै बाँकी साढे तीन अर्ब लागतमा धरहरा निर्माण हुँदै छ । अब ४० प्रतिशत कामका लागि भेरियसन दिनु छ । यसमा ज्ञवालीले कस्तो भूमिका खेल्लान् हेर्न बाँकी नै छ तर पूर्वअर्थमन्त्री बिष्णु पौडेलको घरसँगै रहेको हिमालयन जाभामा रमन कन्स्ट्रक्सनका मालिक रमण महतोसँग डिल हुने गर्छ । केपी ओली र प्रचण्डसँग सम्बन्ध राम्रो हुँदा रमणले धरहराको काम पाएका थिए । अहिले सम्बन्धमा तुषारापात आएसँगै सुशीलले रमणलाई पेल्न थालेका छन् ।

प्राधिकरणमा पाल्पालीको एउटा समूह छ । सोही कारण कोही सचिव जानै नचाहने, काविल सचिव गए पनि नटिक्ने, कुनै सचिवले उनीसँग टक्कर लिने अवस्था छैन । यसअघि अवकाशको मुखमा पुगेका सचिव रामकृष्ण सापकोटाले सिइओले जे जसो भन्यो उसैमा हस् हजुर भनिदिँदा ज्ञवालीको बानी बिग्रिएको कतिपय कर्मचारी टिप्पणी गर्छन् ।

उनीपछि गएका सुरेश आचार्यलाई त्यहाँबाट तीन महिनामै नेपाल ट्रष्टमा खेदियो । त्यसमा महेश बस्नेतका खास मानिने मणिराम गेलालको भूमिका मुख्य थियो । गेलाल दुई हप्ता प्राधिकरणमा पुगेर अहिले ऊर्जातिर फड्को मारेका छन् भने प्राधिकरणमा हालै बढुवा भएका सुशीलचन्द्र तिवारी सचिवको रुपमा कार्यरत छन् ।

टिप्पणीहरू