संख्या जोगाउन रिसोर्टमा ‘थुनिए’साँसद

संख्या जोगाउन रिसोर्टमा ‘थुनिए’साँसद

पार्टी विभाजनको कानुनी पर्खाइमा रहेको संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्ष बहुमत जुटाउने कसरतमा छन् । अध्यक्ष उपेन्द्र यादव पक्षलाई बहुमत जोगाउनुपर्ने चुनौति छ भने महन्थ ठाकुर खेमा अर्को पक्षबाट नेता तान्ने कसरतमा छ ।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा भोलि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिको बहुमत परीक्षण (हेड काउन्ट) गर्ने भएपछि दुवै पक्ष आन्तरिक रणनीतिमा जुटेका हुन् । बहुमत पुर्याउन दुबै पक्षले सबै खालका रणनीति अख्तियार गरेका छन् ।

कार्यकारिणी समिति र संसदीय दल दुबैतिर यादव पक्षको बहुमत देखिएको छ । तर रातारात परिस्थिति फेरबदल हुनसक्ने भएकाले उसले आजैदेखि आफू निकट कार्यकारिणी सदस्यहरुलाई एकै ठाउँमा भेला गरेर राखेको छ । यादव खेमाले आज दिउँसोदेखि प्रशिक्षणका लागि भन्दै ललितपुरस्थित गोदावरी रिसोर्टमा कार्यकारिणी समितिका सदस्यहरुको भेला राखेको हो ।

यता,केन्द्रीय समिति र संसदीय दल दुबैतिर अल्पमतमा परेपछि निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत पुगेको ठाकुर समूह जिल्लिएको छ । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ठाकुर खेमालाई अब निर्वाचन आयोगको निर्णय मान्नै पर्ने बाध्यता परेको छ । बहुमत पुर्याउन यादव पक्षमा लागेका केही नेतालाई मन्त्रीको प्रस्तावसमेत गरिएको बुझिएको छ ।

जसपामा आफ्नै समूहका नेतामाथि अविश्वास बढ्दा रिसोर्टमा पुर्याउने नयाँ अभ्यास नै शुरु भएको छ । यसअघि तत्कालीन केपी ओली सरकारमा जाने निर्णय गरेको महन्थ खेमाका सांसदहरुलाई एमाले नेता महेश बस्नेतको तारतम्यमा भक्तपुरको एउटा रिसोर्टमा दिनभर थुनेर राखिएको थियो । अहिले उपेन्द्र पक्षले पनि त्यही शैलीलाई पच्छ्याउँदै नेताहरुलाई रिसोर्टमा पुर्याएको बताइन्छ ।

सत्ता समीकरणलाई लिएर अध्यक्षद्वय ठाकुर र यादव समूहबीच उत्पन्न मतभेदबाट शुरु भएको जसपाको विवाद अहिले विभाजनउन्मुख छ । विवादबीच महन्थ खेमा केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपा विवाद निर्वाचन आयोगमा पुगेको हो ।

टिप्पणीहरू