ओली नआएपछि शपथको जिम्मा ईश्वरलाई

ओली नआएपछि शपथको जिम्मा ईश्वरलाई

नेकपा एमालेको भातृ संगठन युवासंघ अन्तर्गत युथफोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रममा अध्यक्ष केपी ओली अनुपस्थित हुनुभएको छ । ओली प्रमुख अतिथि हुने भनिएको कार्यक्रममा आयोजकले ओलीको ठुल्ठूला फोटा राखेर प्रचार गरेका थिए ।

ओली अनुपस्थित भएपछि महासचिव ईश्वर पोखरेललाई घोषणा कार्यक्रमको प्रमुख अतिथि बनाइएको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको कार्यक्रममा युवासंघका इञ्चार्जसमेत रहेका नेता महेश बस्नेत,संघका अध्यक्ष किरण पौडेल,पूर्वअध्यक्ष बच्चनबहादुर सिंह युथफोर्सका संयोजक क्षितिज थेबे लगायत सहभागी छन् ।

युथफोर्स ब्युँताउने महेश बस्नेत लगायतका युवाको निर्णयले ओली समूहभित्रै केही नेता असन्तुष्ट बनेको चर्चा चलिरहेका बेला कार्यक्रममा ओलीको अनुपस्थितिलाई चासोका साथ हेरिएको छ ।

नेकपा एमालेको दुईपक्षीय शक्ति संघर्षमा युवासंघ ‘फ्रन्ट लाइन’मा देखिएको छ । पार्टी बिबाद समाधानका लागि कार्यदलस्तरमा अनौपचारिक छलफल भैरहेकै बेला केही दिनअघि बस्नेत समूहले युथफोर्स ब्युँताएपछि नेपाल समूहले पनि अखिल फोर्स गठन गरेको थियो ।

अस्ति शक्ति प्रदर्शन गर्दै नेपाल पक्षीय युवासंघले झण्डै एक हजार जनाको उपस्थितिमा पिपुल्स भोलिन्टियर घोषणा गरेको थियो भने ओली पक्षका नेता प्रभु साहले ‘साइबर आर्मी’ नामक संगठन घोषणा गरेका थिए ।

दुई पक्षबीचको शक्ति प्रदर्शनले पार्टी एकता प्रक्रियामा नकारात्मक प्रभाव पर्ने हुँदा कार्यक्रममा सहभागी नहुन विघटित कार्यदलका सदस्यहरुले आग्रह गरेपछि ओली अनुपस्थित भएको एमालेका एक नेताले बताए ।

टिप्पणीहरू