पतिको थर, पत्नीको भर

हुँदा–हुँदा पतिको न्वारानसमेत पत्नीले गरिदिनुपर्ने दिन आयो ! श्रीमान् मन्त्रीका कारण मन्त्राणीलाई परेको सकस हो योचाहिँ ! कृषि राज्यमन्त्री राधिका तामाङले हालै मात्र त्यहाँ उनका छायामन्त्रीका रूपमा सक्रिय पति दिलबहादुरको न्वारन गरेकी छन् । अबको पाँच दिनपछाडि अर्थात् आगामी १७ गते ३० तारिखको दिन रोम सहरमा बायोडाइभरसिटीसम्बन्धी गोष्टीको आयोजना हुँदै छ । ३० देखि ३ तारिखसम्म रोम सहरमा चल्ने उक्त गोष्ठीमा भाग लिन मन्त्रीसहितको एक टोली रोमको सयर गर्दै छ । उक्त गोष्ठीमा राज्यमन्त्री तामाङ, योजना महाशाखाका सहसचिव योगेन्द्रकुमार कार्की, तोयनाथ जोशी त्यता जाने पक्कापक्की भयो । एकबारको जुनीमा मन्त्राणीको पछाडि लागेर छायामन्त्री दिलबहादुरले पनि रोम जाने रहर देखाए । श्रीमान्ले देखाएको रहर श्रीमतीले पूरा गरिदिने विचार पनि गरिन् ।

मन्त्रालयबाट भिसा अप्लाई गर्दा रोम जाने व्यक्तिको लिस्टमा मन्त्रीको पतिको रूपमा दिलबहादुरको पनि नाम पुग्यो, दूतावासमा । मन्त्रालयको कर्मचारीले नाम पठाउँदा मन्त्रीको पतिको नाम दिलबहादुर तामाङ लेखेर पठाएका थिए । त्यहीअनुसार दूतावासले दिलबहादुर तामाङकै नाममा भिसामा छाप लगाएर पठाइदियो । तर, आइलाग्यो अर्काे आपत । दिलबहादुरको नागरिकतामा तामाङ थर नभएर स्याङ्तान छ । जनयुद्धमा आफ्नो पहिलो पति बितेपछि सिन्धुली घर भएका दिलबहादुर स्याङ्तानसँग राधिकाले दोस्रो विवाह गरेकी थिइन् । पछि दूतावाससँग अनुनय–विनय गरी तामाङ थरलाई सच्याएर स्याङतान नै बनाई पठाइएकोे कृषि मन्त्रालय स्रोतले जनाएको छ ।

यता, पैसा कमाउने नयाँ–नयाँ धन्दामा मन्त्रीदेखि मन्त्रालयका कर्मचारी सक्रिय रहन थालेको तथ्य फेला परेको छ । आगामी ३० तारिखकै दिन कृषि मन्त्रालय मातहत राष्ट्रिय डिभिजन कम्पनीको सहसचिव ईश्वरप्रसाद रिजालहरूको नेतृत्वमा कृषिमन्त्री गौरीशंकर चौधरीसहितको अर्काे टोली अमेरिका सयर गर्ने पक्कापक्की भएको छ । बीउ प्रशोधन हेर्ने नाममा यो टोली अमेरिका जान लागेको हो । मन्त्री, सहसचिवका कर्मचारी अमेरिका सयर गर्न लाग्दा अन्य दुई जना व्यक्तिलाई पनि त्यता लैजाने तयारी भइरहेको भेटिएको छ । ती दुई व्यक्ति के र कुन प्रयोजनका लागि अमेरिका जान लागेको भन्ने खुलाइएको छैन । पछिल्लो समय मन्त्रीदेखि मन्त्रालयका कर्मचारीसम्म विदेश भ्रमणमा जाँदा आफन्त तथा पैसावालसँग पैसा असुलेर विदेशमै पु¥याई खुलेआम मानव तस्करी गर्दै आएका छन् । कतै यी दुई व्यक्तिलाई पनि यसैगरी तस्करी गर्न खोजिएको त होइन ? मन्त्रालयकै एक सहसचिवले प्रतिप्रश्न गरे ।

यस अगाडिका कृषिमन्त्री हरिबोल गजुरेलका पिए रहेका रमेश गुरागाइँले कार्यक्रमका नाममा दुई जनालाई विदेश लगेर छाडेका थिए । त्यस्तै, पूर्ववातावरणमन्त्री विश्वेन्द्र पासवानले पेरिस जाँदासमेत यसैगरी ५ नेपालीलाई त्यतै छाडेर आएको चर्चा छ । उता, पूर्वविज्ञानमन्त्री शिवलाल थापाले समेत यसैगरी विदेश भ्रमणमा जाँदा उतै नेपालीलाई छाडेर आएको चर्चा छ ।

टिप्पणीहरू