गोकुललाई मात्रै सबैले किन गाली गर्नु !

गोकुललाई मात्रै सबैले किन गाली गर्नु !

अहिले न केपी ओली प्रधानमन्त्री हुनुहुन्छ, न गोकुल बाँस्कोटालाई नै त्यति गाली गरिन्छ । बाहिरबाट हेर्दा गोकुल के–के हुन् भन्ने लाग्छ । तर, भित्रबाट बुझ्नेले भन्छन्, छुच्चा गोकुलका लाखौं पीडा ।

सेक्युरिटी प्रेस खरिदमा कमिशनबारे कुराकानी गरेको अडियो बाहिर आएपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका गोकुल बालुवाटारका भित्रियाहरुबाट कति सताइएका थिए भन्ने कुराको अहिले नेपाल टेलिभिजनतिर व्यापक चर्चा हुने गर्छ । जब, गोकुल अडियो प्रकरणमा राजीनामा दिन बाध्य भए, तब बालुवाटारका विष्णु रिमाल, डा.राजन भट्टराईहरु खुशीले गद्गद थिए ।

कारण हो, विष्णु र राजनहरुले प्रधानमन्त्रीलाई हुने, नहुने कुरा लगाएर काम लिने । गोकुलचाहिँ नचाहिने काम हुन थालेपछि मध्यराति बालुवाटार पुगेरै प्रधानमन्त्रीसँग ठाड्ठाडै बाझ्ने । यसो हुँदा विष्णुहरुका थुप्रै मामिला बिग्रिँदै गएका थिए । त्यसैले मन्त्रीबाट गोकुलको बहिर्गमन उनीहरुका लागि खुशीको विषय बनेको थियो ।

विष्णु रिमालका भाञ्जा मनोज पाण्डे नेपाल टेलिभिजनको आडमा ‘लुटतन्त्र’ मच्चाइरहेका थिए । अरुले प्रधानमन्त्रीको जन्मदिनमा फूल दिएर शुभकामना भन्थे, उनीचाहिँ अढाई फिटको बुद्ध मूर्ति लिएर पुग्थे । अनि मूर्ति ओल्टाइपल्टाइ हेरेर ‘बा’ द¨ ! फलतः पाण्डे आर्थिक लाभका लागि प्रधानमन्त्रीका नाममा मानिसहरुलाई यसरी दपेट्थे कि, पीडितहरु अहिले पनि दुःख पोख्न तयार छन् ।

नेपाल टेलिभिजनमा ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाएका उनले सामाजिक सुरक्षा कोष कार्यक्रमको घोषणापछि राजधानीका पोलपोलमा प्रधानमन्त्रीको फ्लेक्स बोर्ड टाँस्ने ठेक्का पाए । त्यो ठेक्का दिलाउन प्रमका राजनीतिक सल्लाहकार विष्णु रिमाल आफैँ श्रम तथा रोजगार मन्त्रालय पुगेका थिए । किनभने, ठेक्का लिने मनोज उनका भाञ्जा हुन् ।

अहिले पनि तत्कालिन मन्त्री गोकर्ण विष्ट निकटस्थहरुसँग भन्छन्, कहिल्यै नदेखिएको रुप विष्णुले त्यसबेला देखाए । जसरी पनि भाञ्जालाई काम दिनुपर्ने, लाग्नेभन्दा बढी पैसा दिनै पर्ने † दक्षिण एसियाली खेलकुद (साफ) को प्रचारसम्बन्धी काम उनलाई दिलाउन विष्णु रिमाल त्यसरी नै लागे, जसरी गोकर्णलाई मन्त्रालयमा हैरान पारिएको थियो । नेपाल टेलिभिजनमा त्यस्तै अत्याचार थियो । उनको कार्यक्रममा बज्ने विज्ञापन उनले आफूखुशी बजाउन पाउने, जोसँग जति पैसा लिए पनि, जस्तो बिल दिए पनि टेलिभिजनले केही भन्न नपाउने ।

टेलिभिजन सञ्चालक समितिका अध्यक्ष महेन्द्र विष्ट अख्तियार लाग्ला भनेर डरले थुरथुर, तर प्रधानमन्त्रीको अगाडि गएर केही भन्न नसक्ने । ‘सीधा कुरा…’ का लागि पहिल्यै प्रश्न बनाएर प्रधानमन्त्रीलाई देखाउनुपर्ने । अनि, प्रधानमन्त्री पनि त्यही कामका लागि दिनभरि कोहीसँग नभेटेर व्यस्त भइदिने । यसरी ‘अति’ नै भएपछि गोकुलले सीधै प्रधानमन्त्रीसँग भने, ‘त्यसलाई ठेगान लगाउनुहुन्छ कि मैले छाड्नुपर्ने हो ?’ यसपछि मनोज पाण्डेका धन्दा साफ भए । भाञ्जामार्फत काम लिएर कमाउने धन्दामा लागेकाहरु उनै भाञ्जा प्रधानमन्त्रीको निर्देशनमा गलहत्याइएपछि प्रधानमन्त्रीसँग हैन, त्यो भूमिका खेल्ने गोकुलसँग रुष्ट हुनु स्वाभाविक थियो ।

कतिसम्म गरेका थिए भने, महेन्द्र श्रेष्ठमार्फत अनेकन किताब छापेर कमाइ धन्दा चलाउने । कहिले ‘कोभिड १९ र सरकारको काम’ भनेर, कहिले प्रधानमन्त्रीको अन्तर्वार्ता संग्रह र कफी टेबल म्यागेजिन भनेर सरकारी छापाखानामा क्वालिटी नआउने भन्दै खसीबजारस्थित जिफन्ट भवनमुनिको छापाखानामा काम लैजाने ।

टिप्पणीहरू