ठोरी,अयोध्या र ओलीको बोली

ठोरी,अयोध्या र ओलीको बोली

नेकपा एमालेको दुईपक्षीय विवाद समाधान नहुनुमा अध्यक्ष केपी शर्मा ओलीका सार्वजनिक अभिव्यक्तिलाई पनि कारण मानिन्छ । मौका मिल्दा इतर समूहलाई ‘ठेगान लगाउन’ कुनै कसर बाँकी नराख्ने उहाँको कार्यशैली नै हो । त्यसैले नेकपा हुँदै एमालेसम्मको विवादमा ओलीले गरेका निर्णयहरु जति निर्णायक थिए,उहाँका अभिव्यक्ति पनि कम जिम्मेवार थिएनन्,र छैनन् भनिन्छ ।

ओलीले हालैका दिनमा बालकोटको बार्दलीमा उभिएर वरिष्ठ नेता माधव नेपालमाथि गरेको भद्दा टिप्पणीले मिल्न लागेको एमाले विवाद उल्टिएको बताउनेहरु पनि छन् । विवाद समाधानका लागि कार्यदल स्तरमा छलफल भैरहेकै बेला ओलीले सार्वजनिक रुपमै अर्कोपक्षका मुख्य नेतामाथि प्रहार गरेर विवाद थप बल्झाउनुभएको कतिपयको धारणा छ । फलस्वरूप कार्यदलको १० बुँदे सहमति अलपत्र पर्यो भने नेपाल पक्ष प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयमा पुग्यो ।

संस्थापनतिरैका कतिपय नेताहरु बालकोटमा ओलीले नेता नेपालमाथि अभद्र टिप्पणी गरेर परिस्थिति बिगारेको बताउँछन् । ओलीले नेपाल समूहलाई चिढ्याउने गरी त्यस्ता अभिव्यक्ति दिँदा एकताको वातावरण बिग्रिएको उनीहरुको गुनासो छ ।

“नाम मिलेकै कारण अयोध्या भेटियो भन्नु अल्पज्ञान हो । त्यसो भए त माडीको सात किलोमिटर वर रामपुर छ । त्यहाँ रामलाई पुरेको रहेछ भन्दै उत्खनन् गरेर स्मृति प्रतिष्ठान किन नबनाउने ? त्यसको ३ किलोमिटर वर भरतपुर पर्छ। त्यहाँ भरतलाई पुरेको रैछ भनेर स्मृति प्रतिष्ठान किन नबनाउने ?”

त्यसो त,ओलीको ‘बार्दली भाषण’ नै नेपाल समूहलाई चिढ्याउने एकमात्र कारण भने होइन । यसअघि पनि ओलीका थुप्रै सार्वजनिक अभिव्यक्तिप्रति नेपाल समूहको गुनासो रहँदै आएको थियो । सिङ्गापुर जानुअघि स्वास्थ्य लाभको कामना गर्न जाँदा ओलीले उल्टै माधव नेपाललाई ‘तपाईंको शुभकामना आफैसङ्ग राख्नु,मलाई चाहिंदैन’ भनेर अन्य नेताका सामु बेइज्जत गरेको घटनाले नेपाल समूह चिढिएकै थियो ।त्यतिमात्र होइन,ओलीको अस्वभाविक धार्मिक गतिविधि र त्यससम्बन्धी सार्वजनिक अभिव्यक्तिलाई त नेपाल समूहले उहाँको नियतसँग जोडेर शंका गरेको छ । धर्मनिरपेक्ष मुलुकको प्रधानमन्त्री र कम्युनिष्ट पार्टीको नेताले असान्दर्भिक रुपमा आफूलाई धार्मिक कर्ममा संलग्न गराउनुले आशंका उब्जनु अस्वभाविक पनि होइन । भगवान रामको जन्म र अयोध्यासम्बन्धी ओलीको अभिव्यक्तिलाई नेपाल समूहका एक नेताले कम्युनिष्ट चरित्र विपरितको भ्रामक टिप्पणी भने ।

“कलंकीको एक किलोमिटर पर सीतापाइला छ । सीतालाई यहाँ राखेको रैछ भन्ने अर्थ लगाउन मिल्छ त ? “

भन्छन्,’उहाँ (ओली)ले हामीलाई गाली गर्नुलाई त सामान्य रुपमा पनि लिन सकिएला । तर,जसरी उहाँमा धर्मप्रतिको मोह बढेको देखिन्छ त्यसले चैं वैचारिक प्रश्नमा उहाँ कता उभिनुभएको छ भन्ने शंका हामीलाई छ ।’ रामको जन्म नेपालमा भएको अप्रमाणित हल्ला फैलाएर ओलीले धर्मको आडमा राजनीति गर्न खोजेकाले शंका उब्जाएको उनले बताए । यसले पार्टीको विवादमा वैचारिक-राजनीतिक अन्तरविरोधको प्रश्न छोड्नै नसक्ने गरी उठाएको उनको भनाइ छ ।

ओलीले प्रधानमन्त्री छँदै बालुवाटारमा आयोजित एक कार्यक्रममा भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक तथ्यमाथि आक्रमण गरेको दाबी गर्नुभएको थियो । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिम ठोरीमा भएको तर्क गर्दै उहाँले भारतले नक्कली अयोध्या खडा गरेको पनि दाबी गर्नुभएको थियो ।

अप्रमाणित र तथ्यहीन तर्क गरेर ऐतिहासिक तथ्यलाई तोडमोड गरेको भन्दै त्यतिबेलै धेरैले विरोध गरेका थिए । चौतर्फी आलोचना भएपछि आफ्नो अभिव्यक्ति सच्याउँदै दुई महिनामै ओलीले रामको जन्म चितवनको माडीमा भएको अर्को दाबी गर्नुभयो ।

नेपाल समूहका एक नेताले राम र अयोध्यासम्बन्धी ओलीको अभिव्यक्तिलाई द्वन्द्वात्मक भौतिकवादको प्रश्नसँग जोडिने दाबी गरे । ‘पार्टी एकतामा यो एउटा महत्वपूर्ण सवाल बनेर आएको छ । उहाँका यस्ता अभिव्यक्ति र क्रियाकलापले उहाँ मार्क्सवादी रहनुभएन भन्ने हाम्रो बुझाइ हो । यदि उहाँले आफूलाई मार्क्सवादको बाटोमै छु भन्नुहुन्छ भने पुष्टि गर्नुपर्यो’,उनले भने । उनका अनुसार एमाले विवादमा अब सांगठानिक भन्दा वैचारिक, राजनीतिक प्रश्न प्रखर बनेर आएको छ ।

कतिपयले भने नाम मिलेकै आधारमा ऐतिहासिक तथ्यलाई तोडमोड गरिएको आरोप लगाएका छन् । हुन पनि हो,ठोरी या माडीमा अयोध्या हुने कुरा प्रमाणित तथ्य होइन । न त्यससम्बन्धी गहिरो अनुसन्धान नै भएको देखिन्छ । बरु इतिहास तथा संस्कृतिविदहरुले नै त्यस्तो दाबीलाई चुनौती दिइरहेका छन् ।

नाम मिलेकै कारण अयोध्या भेटियो भन्नु अल्पज्ञान हो । त्यसो भए त माडीको सात किलोमिटर वर रामपुर छ । त्यहाँ रामलाई पुरेको रहेछ भन्दै उत्खनन् गरेर स्मृति प्रतिष्ठान किन नबनाउने ? त्यसको ३ किलोमिटर वर भरतपुर पर्छ। त्यहाँ भरतलाई पुरेको रैछ भनेर स्मृति प्रतिष्ठान किन नबनाउने ? नारायणीको तीरमा रहेको रामनगरलाई रामको शहर भनेर प्रचार गर्न सकिएला । कलंकीको एक किलोमिटर पर सीतापाइला छ । सीतालाई यहाँ राखेको रैछ भन्ने अर्थ लगाउन मिल्छ त ?

देशको प्रधानमन्त्री जस्तो जिम्मेवारीमा रहेर इतिहासलाई तोडमोड गर्नु गम्भीर गल्ती हो । अयोध्या या रामको जन्मस्थानबारे आशंका छ भने अनुसन्धान र खोजविन गरेर तथ्य संकलन गर्न सकिन्छ । तर,अनुसन्धान नगर्ने, छानविन नगर्ने,तथ्यको आधारमा सत्य पत्ता नलगाउने अनि त्यसै हल्ला गरेर न इतिहास भेटिन्छ न मेटिन्छ ।

जानकारहरुका अनुसार माडी २०२८ सालअघि तत्कालीन राजा महेन्द्रले जंगल फाँडेर बस्ति बसालेको ठाउँ हो । त्यतिबेला पूर्वी चितवनमा चेपाङ्ग बस्ती बसाल्न महेन्द्रले नै नेपाली सेनालाई पठाएको पाइन्छ । सिमसार क्षेत्रलाई थारु भाषामा माड भनिने र त्यसको अपभ्रंशका रुपमा माडी नाम रहन गएको हो ।

यौटा सालको रुख बडेमानको हुन ३ हजार बर्ष लाग्छ,ठोरी या माडी क्षेत्र २०२८ सालसम्म पनि जङ्गल थियो । त्यहाँ अढाइ हजार बर्षअगाडि रामको जन्मभूमि थियो र त्यहीँबाट सीता लिन जनकपुर जन्त गएको भान पार्दै मोदीसङ्ग उस्तै लुगा लगाएर रमाउनु सस्तो लोकप्रिय कमाउन खोज्नु मात्रै हो भन्नेहरु पनि छन् ।

टिप्पणीहरू