लीला प्यालेसमा लोकमानको लीला

यो न्याय मरेको देश भन्दै लोकमान हालको निम्ति डेढ महिने योजनासहित आइतबार दिल्लीतर्फ लागेका छन् । छोरा अभ्युदय र ज्वाइँ सुभाशिषलाई जुवाको खानी भनेर चिनिने अमेरिकाको लास भेगास पठाएर लोकमान दम्पतीले यतिबेला लीला प्यालेस होटलमा डेराडण्डा जमाएको बताइन्छ । त्यहीँबाट आजभोलि नै अमृतसर, हरिद्वारलगायत धार्मिक तीर्थस्थल जाने योजना छ ।

अख्तियार परिसर छाडेर भाइको घर सरेपछि उनले आफन्तमाझ भनेका थिए– दरबारका सबै कर्मचारीलाई ०६२/६३ को आन्दोलनपछि निजामती सेवामा समायोजन गर्दा नारायणहिटी राजदरबारभित्र कार्यरत रहँदाको सेवा अवधिसमेत जोड्ने काम भएको थियो तर मेरै हकमा चाहिँ त्यो कुरा मान्य भएन र यसै आधारमा अयोग्यताको बिल्ला लगाएर अदालतलाई प्रयोग गरी घोक्य्राएर निकाल्ने काम भयो । दरबारको सेवा अवधि नजोड्ने हो भने त्यहाँबाट निस्किएका ५ सय जना कर्मचारीमध्ये चार सय अहिले पनि कुन हैसियतले नेपाल सरकारका विभिन्न विभागमा कार्यरत छन् ? तीमध्ये कतिपयले के आधारमा पेन्सन र निवृत्तिभरण खाइरहेका छन् ?

स्वैच्छिक अवकाश लिने र राजीनामा दिनेलाई कुन हिसाबले सुविधा प्रदान गरियो ? उनको प्रश्न थियो । राजप्रासाद सेवाबाट निस्किएकामध्ये अझै पनि १५० जना दरबार संग्रहालयमा कार्यरत छन् । आफूलाई नियुक्ति दिलाउन ज्यान फालेर लाग्ने प्रचण्डप्रति पनि तीव्र आक्रोश रहेछ । उनका अनुसार, पछि आफूलाई जानकारी नभएको भनेर जतिसुकै टक्टकिए पनि महाअभियोगका निम्ति केपी ओलीलाई उचाल्ने प्रचण्ड नै हुन् । उनले ओलीलाई भनेका रहेछन्– लौ न यसलाई हाजिर हुन नदिऊँ । कार्यालय पुग्नासाथ यसले सबैलाई सिध्याउँछ । त्यसैले क्यानाडाबाट फर्किएर नेपाल टेक्नुअघि लोकमान आकाशमै भएका बेला रातारात महाअभियोग संसद्मा दर्ता भएको थियो ।

टिप्पणीहरू