मर्स्याङ्दीले पुल बगायो,बाढीले हाइड्रो,मनाङ अन्धकार

मर्स्याङ्दीले पुल बगायो,बाढीले हाइड्रो,मनाङ अन्धकार

गत असार १ गतेदेखिको बाढीले मनाङमा धेरै क्षति पुर्याएको छ । बाढी तथा पहिरोका कारण पुल,विद्यालय,हाइड्रोलगायतका भौतिक संरचनाहरुमा क्षति पुगेको छ । अविरल वर्षापछि आएको बाढीले हिजो चामे बजारको झोलुंगे पुल समेत बगाएको हो ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार गए रातिको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुङ्गे पुल बगाएको छ । बाढीले हालसम्म मानवीय क्षति नगरे पनि भौतिक रुपमा अत्यधिक प्रभाव पारेको जनआस्थासँगको कुराकानीमा उहाँले बताउनुभएको हो ।

लामिछानेले हिजोको बाढीले झोलुङ्गे पुल मात्र नभई अन्य क्षेत्रमा समेत अत्यधिक क्षति पुर्याएको जानकारी गराउँदै भन्नुभयो,”बाढीले नदीतटीय क्षेत्रमा रहेका अधिकांश भौतिक संरचना क्षतविक्षत पारेको छ,विद्यालयको केही भागसमेत बगाएको छ ।’

यो वर्ष मौसम विगतकोभन्दा सक्रिय रहने पूर्वजानकारी प्राप्त भएकाले मानवीय क्षति हुन नदिन आफूहरु सफल रहेको उहाँले उल्लेख गर्नुभयो । मनाङका तीन वटा गाउँपालिका नदी तटमा रहेको र त्यहाँका वासिन्दालाई अहिले सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको छ ।यस्तै चामेको कोतो बजारबाट नार्पाभूमितर्फ जाने अर्को झोलुङ्गे पुल पनि जोखिममा छ । अहिले उक्त पुलबाट आवतजावतमा रोक लगाइएको छ ।

बाढीले हाइड्रो तथा केन्द्रीय प्रशारण लाइनमा समेत क्षति पुर्याउँदा मनाङ एक महिनादेखि अन्धकारमय बनेको हो । नदीतटीय क्षेत्रका एक हजार बासिन्दालाई हालै निर्माण सम्पन्न भएको चामेको कारागार भवनमा सारिएको थियो । अहिले उक्त कारागारमा दुई सय जना रहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभयो ।

टिप्पणीहरू