मन भए पुग्छ, अरु त उस्तै हो « Jana Aastha News Online
Logo
१५ मंसिर २०७८, बुधबार
|  Wed Dec 1 2021

मन भए पुग्छ, अरु त उस्तै हो

प्रकाशित मिति :  २९ पुष २०७३, शुक्रबार ०८:१२


  • डा. नम्रता पाण्डे

कबिर झैँ ‘साइ हमें इतना दिजिए जहाँ में कुटुम्ब समाऊ– साधु ना भुखा जाय ,में भी भुखा ना रहूँ’ को भावना आउने पुण्यात्माहरू पनि सृष्टिमा छन् । आवश्यकता पूरा गर्नमा तल्लीन रहँदासम्म मानिसले आफ्नो जीवन र परिस्थितिलाई पूर्णरूपमा बुझेको मान्नुपर्छ तर त्यत्तिमै सन्तुष्ट कोही देखिँदैन । स्वभाव हो, विकासको गतिसँगै उसका चाहना फैलिँदै जान्छन् । हिजो थोडा खाना बना हि रहनाको अवस्थाबाट मानिसको मन ‘मै खाऊँ मै लाऊँ, सुख सयल वा मोज म गरूँ’ मा पुगेको हो । भौतिक सफलतालाई नै सबथोक ठान्ने व्यक्ति खुबै सम्हालिन सकेको छ भने आफ्ना सोच, प्रणाली र मान्यतालाई अनेक बहानाबाट जोगाउने प्रयास गर्छ र भित्रभित्रै आफूलाई अशान्ति र अराजकताको भुमरीमा धकेलिरहेको हुन्छ । यस्तै परिपाटी विकसित हुँदै गएर नै व्यक्ति स्वयं, समाजमा र समग्र देशमै भ्रष्टाचार, अनियमितता, अनैतिकता र शोषण बढ्न थाल्छ, बढिरहेको पनि छ ।

बाग्मती नदी नेपाल राष्ट्रको राजधानी रहेको काठमाडौं उपत्यकाको महत्वपूर्ण जलाधार हो । भगवान् शिवको तपोभूमि मानिएको उपत्यकाको प्राण हो । जन्मदेखि अन्त्येष्टिसम्म धार्मिक, सामाजिक र भावनात्मक सम्बन्ध छ, बाग्मती नदी र यसको सभ्यताबीच । तर, यी सब कुरा बिर्सेर हामीले बाग्मती नदीलाई प्रदूषित गरायौं । नदीको छेउछाउ घर, बस्ती बसाएर उसको बग्न पाउने अधिकार खोसिदियौं । आफ्नो घरको फोहोर व्यवस्थापन गर्न नसकेर नदीमा फोहोर फाल्यौं । अझ भनौं ठूला महल र बंगला बनाएर आधुनिक, प्रतिष्ठित र सभ्य भनाउने हामीले घरको ढलसमेत बाग्मती नदीमै मिसाइदियौं । बाग्मती नदी प्रदूषित हँुदा सभ्यताको परिचय के दिने होला ? यो नदीको निकास थुनिन पुग्यो भने उपत्यका पोखरी या तालमा परिणत हुने निश्चित छ ।

जसले जीवन र जगत्लाई साक्षीपूर्वक हेर्ने कला सिकेको र जानेको छ उसले संसारको सफलता र अध्यात्मको शान्तिलाई सँगै लिएर जान्छ र जीवनमा पूर्णताको अनुभूति गर्छ । यसैको परिणाम हो बाग्मती सफाइ अभियानका अभियन्ता र बाग्मती सफाइ अभियान । हाम्रो जीवनरक्षक, अति पवित्र धार्मिक नदीको यो दुर्गति बनाउनमा दोषी को हो ? यही प्रश्नले सताएर हुनुपर्छ सरकारको भर नपरी आफैं जागे नागरिक । तिनै संवेदनशील पुण्यात्माहरूको विनाविद्रोहको साहसिक अभियान हो, बाग्मती सफाइ महाअभियान ।

३० वर्षदेखि संवेदनहीन बनेका जनता, योजनाविहीन नेतृत्व र गैरजिम्मेवार कर्मचारीतन्त्रको परिणामस्वरूप प्रदूषित हुन पुगेको तर अब नयाँ जीवन पाउने एउटा आशा पनि हो बाग्मती सफाइ अभियान । यसबाट प्रेरित भएर रुद्रमती सफाइ अभियानले १५०औँ सप्ताह पूरा गरेको छ । त्यसैगरी, विष्णुमती सफाइ अभियान पनि थालिएको छ जसले आफ्नो १२४ औं सप्ताह भव्यता र उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ ।
हुन त धेरै अघिदेखि बाग्मती सफाइ, बाग्मती बचाऊ अभियान आदि नामले सरकारी स्तरबाट थालनी नभएको होइन तर यसले मूर्तरूप लिन सकेन । नेपाल सरकार अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति र भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत अधिकारसम्पन्न बाग्मती क्षेत्र ढल निर्माण र सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिको पनि वरिपरिको जग्गा अधिग्रहण गरी नदी जोगाउने, नदी किटान एवं तटबन्ध निर्माण, नदी किनारमा आवश्यकताअनुसार सडक निर्माण, वृक्षारोपण, ढल निर्माण गर्दै सफाइ अभियानमा महत्वपूर्ण जिम्मेवारी छ ।

१९१ हप्तासम्म २ सयभन्दा बढी संघसंस्था र तीन लाख बढी स्वयंसेवी सम्मिलित अभियानले बाग्मती नदी र किनारबाट करिब १५ हजार मेट्रिक टन फोहोर निकालिसकेको छ । यो कसले शुरु गरेको र कसको अभियान भन्ने नाम कहीँ नजोडिएको र शुद्ध सेवाभावले होमिएका जनसमुदायको अभियान हो । नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेलले नेतृत्वदायी भूमिका निभाइदिनाले सरकारी निकायको संलग्नता अरू बढेको छ । सेना, प्रहरी र नागरिक समाजलाई बाग्मती बचाऔँ भन्ने भावनाले ओतप्रोत बनाएको छ, त्यसैले त बाग्मतीले मुहार फेर्दै छ । अब बाग्मतीमा फोहोर फ्याँक्ने व्यक्ति या संस्थालाई कारबाही र जरिवानाको अभियानसमेत चलेको छ र घरदैलो सफाइसम्बन्धी चेतना जागरण अभियान पनि जारी छ ।

बाग्मती सफाइ अभियानले धेरै कुरा दिन नसकेको होला तर जनचेतना जगाउने, काम गर्ने हात र मन तयार भए कुनै योजना नचाहिने अनि ग¥यो भने सकिने सकारात्मक सन्देश दिन सफल भएको छ । निःस्वार्थ सेवाभावको सबैले अनुकरण गर्न सके बाग्मती र काठमाडौं मात्र होइन, व्यक्ति–व्यक्ति, समाज र राष्ट्रले नै मुहार फेर्ने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस !