हिजो माधवको,आज ओलीको पुत्ला दहन

हिजो माधवको,आज ओलीको पुत्ला दहन

एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले एमाले वरिष्ठ नेता तथा निर्वाचित सांसदहरूविरुद्ध गरेको विरोध प्रदर्शन र पुत्ला दहनको अखिल फोर्सले काउण्टर दिने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल निकट फोर्सले एमाले अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गर्न लागेको छ ।

आज दिउँसो गरिने भनिएको उक्त कार्यक्रमको स्थान र समय हालसम्म सार्वजनिक गरिएको छैन । त्यसैगरी युवा संघ र अनेरास्ववियुले केही दिनदेखि गर्दै आएको बिरोध कार्यक्रमलाई आज पनि निरन्तरता दिने भनिएको छ । उसले समेत समय र स्थानबारे केही बताएको छैन ।

आजै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विरोध कार्यक्रम हुने भएको छ । कतिपय कार्यक्रम बिहानै सकिएको छ । सोहीक्रममा ललितपुरको सानेपास्थित नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा भइरहेको धर्ना कार्यक्रम आजको लागि बिहान सकिएको हो ।

नेपाली काँग्रेस बारा र धनुषामा क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुध्द भएको धर्ना कार्यक्रम बिहान ९ बजे सम्पन्न भएको हो ।

उता,सुन्धारास्थित नेपाल वायुसेवा निगमको कार्यालय परिसरमा निगम युनियन,नेपाल राष्ट्रिय कर्मचारी संगठन र कर्मचारी संघले नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको बिरोधमा बिहान साढे १० बजेबाट मध्यान्ह साढे १२ सम्म धर्ना दिएको छ ।

उता नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्समा आज दिउँसो १ बजे राष्ट्रिय युवा संघ नेपालले अन्तरजिल्ला विशेष प्रदेशको बिस्तारित भेला बोलाएको छ ।

दिउँसो २ बजे गोरक्षनाथ मन्दिर मृगस्थलीमा विश्व हिन्दु युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्राचीन कालदेखि निरन्तर रहेको गोरक्षपात्र देवताको ऐतिहासिक यात्रा शुभारम्भ गर्ने जनाएको छ ।

यता,ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आज दिउँसो ३ बजे नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

मुलुकका विभिन्न क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत विध्यार्थीहरूले पूर्णरूपले निषेधाज्ञा नखुलेको अवस्थामा भौतिकरुपमा उपस्थित भई परीक्षा दिन असम्भव रहेको भन्दै वैकल्पिक विधिबाट परीक्षा दिन पाउनुपर्ने माग राख्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको कार्यकक्षमा हिजो दिउँसो ३ बजेबाट लगाएको तालाबन्दीलाई जारी राखेको छ ।

यस्तै नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पस कमिटीले आफ्ना मागलाई बेवास्ता गरेको भन्दै डिनको कार्यकक्षमा गत चैत ३१ गतेदेखि गरेको तालाबन्दी र अनेरास्ववियू,अखिल (क्रान्तिकारी) र नेविसंघ पाटन संयुक्त क्याम्पस कमिटीहरू (संयुक्त विद्यार्थी संगठन) ले विभिन्न माग राखी क्याम्पस प्रशासनमा गत असार १४ गतेदेखि गरेको तालाबन्दी समेत जारी छ ।

टिप्पणीहरू