भाडा बढाउन नपाएको झोँकमा धादिङमा यातायात बन्द

भाडा बढाउन नपाएको झोँकमा धादिङमा यातायात बन्द

-शंकर श्रेष्ठ
धादिङका यातायात व्यवसायीले आज यातायात बन्द गरेका छन् । संघीय सरकारले बढाएको भाडादर अनुसार भाडा उठाउन नपाएको झोकमा व्यवसायीहरुले यात्रुवाहक सवारी बन्द गराएका हुन् ।

संघीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको मात्रै भाडा समायोजन गरेपनि एउटै प्रदेशभित्र र स्थानीय तहमा चल्ने सवारीको भाडा समायोजन गरेको छैन । तर, धादिङका व्यवसायीहरुले धादिङबेसीबाट छुट्ने र काठमाण्डौबाट छुट्ने सबै रुटको भाडा आफूखुशी २८ प्रतिशतले बढाएका थिए । त्यहि भाडा कार्यान्वयन गर्दा प्रशासनले जरिवाना तिराएको भन्दै सार्वजनिक यातायात बन्द गराएका हुन् ।
यसअघि १ सय ८७ रुपैयाँमा धादिङ- काठमाडौ गरिरहेका यात्रुले अहिले बढाएको भाडाअनुसार लोकल बसमा २ सय ३७ र ननस्टप तथा डिलक्स बसमा २ सय ९० तिर्नुपर्छ ।

साविकभन्दा बढी भाडा उठाएपछि यात्रुहरुले नै प्रहरीमा गुनासो गर्दा नागढुंगा प्रहरीले (नयाँ भाडादर अनुसार) बढी भाडा उठाउने बस तथा माइक्रोबसलाई जरिवाना तिराएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले बताए ।

यातायात व्यवसायीले भने २०७१ सालदेखिको एउटै भाडामा यात्रु बोक्न नसकिएकोले बाध्य भएर भाडा समायोजन गरेको बताएका छन् । वैज्ञानिक ढंगबाट भाडा समायोजन नभएसम्म गाडी नचलाउने व्यवसायीहरुले धम्की दिएका छन् ।

ग्रामीण यातायात सहकारी संस्था लि.का महासचिव बद्री सुवेदी भन्छन्,‘२०७१ सालमा पनि त्यहि भाडामा यात्रु बोकियो,त्यतिबेला भन्दा अहिले तेलको मूल्य ४२ रुपैँयाले बढी छ,गाडीको कर, चालक सहचालकको तलब भत्ता पनि उत्तिकै बढेको छ,त्यसैले भाडा समायोजन नभएसम्म गाडी चलाउन सकिँदैन ।’

यातायात व्यवसायी र बसका चालक, सहचालकहरुले लोकल चल्ने साना गाडीहरुलाई समेत ठाउँ ठाउँमा रोकेर अवरोध गरेका छन् ।

टिप्पणीहरू